यसरी चिनिया समुदाय प्रति देखिएको विभेदलाई लिएर स्वास्थ्य मन्त्री र प्रमुख मेडिकल अधिकृतले अस्ट्रेलियालीहरूलाई सो समुदायप्रति सद्भाव राख्दै रङ्ग तथा जति भेदको विरुद्ध उभिन आह्वान गरेका छन्।
सिड्नीको उत्तरी भेगमा रहेको च्याट्सवूड सामुदायिक र सांस्कृतिक विविधता बोकेको स्थान हो। तर केही स्थानीयहरूले त्यस्तो चहलपहल हुने सो स्थान कोरोना भाइरस सङ्क्रमणको घटना पश्चात् धेरै शान्त भएको स्पष्ट देखिने बताउँछन् ।
एक सर्वसाधारणले भने, "म यहाँ बिहीबार आएको थिए र यो ठाउँ साच्चिकै मृत सहर जस्तै भएको थियो, कार पार्क गर्ने ठाउँ खाली थियो, मैले यति खाली त कैले पनि देखेको थिइन, मलाई जहिले पनि कार पार्क गर्ने ठाउँ पाउन सङ्घर्ष गर्नु पर्थ्यो।"
सङ्क्रमण फैलनबाट रोक्न सङ्क्रमितहरूलाई अलग्याइने क्रम बढे सँगै सर्वसाधारणमा पनि केही निश्चित क्षेत्रलाई लिएर सुरक्षा चिन्ता बढेको छ।
विशेष गरी चिनिया अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरू बसोबास गर्ने स्थानलाई लिएर मानिसहरूमा चिन्ता रहेको पाइएको छ।

आफूलाई सुरक्षित राख्न भन्दै मास्क लगाएर हिँडेका ताइवानबाट आएका एक अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलियामा पनि सङ्क्रमण फैलिए पछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने मध्येका एक हुन्।
उनी भन्छन् सिड्नीमा धेरै ठुलो सङ्ख्यामा चिनिया नागरिकहरू बस्ने गर्दछन् त्यसैले उनलाई कोरोन भाइरस आफूलाई पनि सर्ने हो कि भन्ने डर लागेको छ।
अहिले अधिकारीहरूले यसरी चिनिया समुदाय प्रति लक्षित विभेदको कडा रूपमा आलोचना गरेका छन्। स्वास्थ्य मन्त्री ग्रेग हन्टले सो समुदायको समर्थनमा एक भएर अगाडी आउन आह्वान गरेका छन्।
"केही विभेदका घटनाहरू भएको जानकारी आएको छ, म त्यसलाई पूर्णतया अस्वीकृत गर्दै आलोचना गर्छु र अस्ट्रेलियाली चिनिया समुदायलाई भन्न चाहन्छु- हामी तपाईँहरूलाई धन्यवाद दिन्छौँ र हामी तपाईँहरूलाई सम्मान गर्छौँ।"

उनको जस्तै भाव बोकेर विपक्षी नेता एन्थनी अल्बनिजीले पनि हन्टको भनाइलाई समर्थन गरेका छन्।
"चिनिया अस्ट्रेलियालीहरूले यो देश निर्माणमा धेरै सहयोग पुर्याएका छन्। उनीहरू हाम्रो शिक्षक र नर्सहरू हुन्, हाम्रो छिमेकी, हाम्रो व्यवसायीहरू उनीहरू अस्ट्रेलियाली भएकोमा गर्व गर्छन्।"
अस्ट्रेलियाका प्रमुख मेडिकल अधिकृत डा. ब्रेन्डन मर्फी भन्छन् कुनै एक समुदायका कारण अस्ट्रेलियामा यो सङ्क्रमण एक बाट अर्को व्यक्तिमा सरेको भन्ने कुनै ठोस प्रमाण छैन।
"हाम्रो जोखिममा रहेको जनसङ्ख्यामा फेब्रुअरीको सुरुवातमा चीनबाट अस्ट्रेलिया आएकाहरू हुन् न कि सम्पूर्ण चिनिया पृष्ठभूमिकाहरू। मास्क लगाउनु पर्ने कुनै कारण नै छैन, कोही मान्छेबाट टाढा हुनु विशेष गरी पृष्ठभूमि र शारीरिक बनावट कै कारणले त्यसको कुनै औचित्य छैन।"






