कोभिड-१९ अर्थात कोरोना भाइरसको केन्द्रबिन्दु भनिएको वुहान सहर लगायत सम्पूर्ण हुबे प्रान्तमा बसोबास गर्ने नेपालीहरूलाई नेपाल सरकारले शनिवार नेपाल फर्काउने योजना अनुरूप उडान सुरु गरिसकेको छ।
र यही समयमा सो भाइरस प्रभावित क्षेत्रमा रहेकाहरूलाई नेपाल फर्काउँदा नेपालमा पनि रोग फैलन सक्ने चिन्ता नेपालीहरूद्वारा व्यक्त गरिएको समाचारहरू आएका थिए।
हामीसँग नतर्सिदिनु, हामी पनि नेपाली नै हो, हामी पनि बुझ्छौँ, हामी आएर नेपालमा यो कोरोना भाइरस फैलाउन चाहँदैनौँ। तर यहाँ त्रसित वातावरण- बाँच्न गाह्रो भएको कारणले गर्दा हामी फर्किन खोजेको हो।

हुबेका नेपाली फर्किदा नेपालमा त्रास :
नेपाल वायु सेवा निगमले चीनको सम्बन्धित निकायबाट हुबे प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न अनुमति पाए सँगै धेरैले त्यसरी ल्याइएका नेपालीहरूले सङ्क्रमण भित्र्याउने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका समाचारहरू आएका छन्।
वुहान सहरमा नै थोङ्ग्चि मेडिकल कलेजमा विद्यावारिधि गरिरहेका चिकित्सा शास्त्रका विद्यार्थी गौरव पोख्रेलले भने एसबीएस नेपालीसँग कुरा गर्दै आफूहरू सङ्क्रमित नभएको भन्दै नडराउन आग्रह गरेका छन्।

हुबे प्रान्तमा रहेका १८४ जना नेपालीहरू मध्ये कसैलाई पनि अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिएको बताउँदै उनले वुहानमा 'बाँच्न गाह्रो' भएकाले मात्र नेपाल फर्किन लागेको बताएका हुन्।
"हामी स्वस्थ नेपाली हौँ। हामीमा कसैमा लक्षण देखिएको छैन, ज्वरो आ'को छैन। ज्वरो आउँदो हो भने चैँ यतै राख्नु हुन्छ। हामी (नेपाल) गएर दुई हप्ता क्वारेन्टिनमा बस्न पनि तयार छौँ ।"
पोख्रेलका अनुसार चीनको सम्बन्धित निकायले नेपालका लागी उडान भर्नु भन्दा ५ घण्टा अगाडी नै एयरपोर्टमा आइपुग्न आग्रह गरेको छ।
सम्पूर्ण नेपालीहरूको स्वास्थ्य जाँच गरेर मात्र पठाइने भएकाले सङ्क्रमितहरूले नेपाल प्रवेश गर्ने सम्भावना अत्यन्त न्यून भएकोमा उनले जोड दिए।
साथै उनले क्वारेन्टिनका लागी छुट्ट्याइएको स्थान र समग्रमा उनीहरूलाई नेपाल ल्याउने बारे सञ्चार माध्यमहरूमा स्थानीय बासिन्दाहरूको चिन्ताका बारेमा लेखिएको तर्फ लक्षित गर्दै आफूहरू सँग नतर्सिन आग्रह गरेका छन्।

"हामीसँग नतर्सिदिनु, हामी पनि नेपाली नै हो, हामी पनि बुझ्छौँ, हामी आएर नेपालमा यो कोरोना भाइरस फैलाउन चाहँदैनौँ। तर यहाँ त्रसित वातावरण- बाँच्न गाह्रो भएको कारणले गर्दा हामी फर्किन खोजेको हो।"
उनले शनिवार नेपाल फर्कने तयारीमा रहेकाहरूमा नेपालको स्वास्थ्य व्यवस्थालाई लिएर कुनै पनि आशङ्का नराख्न पनि आग्रह गरेका छन्।
"नेपालमा राम्रो हुँदैन चीनमा हुन्छ भन्ने कृपया यो भ्रम नपालौँ।"
गौरव पोख्रेलसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
शनिवार हुबे प्रान्तका विभिन्न स्थानमा रहने विद्यार्थीहरूको उद्धार गर्ने कार्य स्थानीय समय अनुसार बिहान पाँच बजे देखि नै सुरु भएको र आफू लगायत वुहानमा रहेका अन्य नेपालीहरूलाई राती ११ बजेको समय दिइएको पनि गौरव पोख्रेलले बताएका छन्।
आइतबार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने योजना बनाइएको उक्त उद्दार योजना अनुरुप विमानमा चिकित्सक र चालक दलका सदस्यहरू सहित ११ जना रहने जनाइएको छ।

वुहानको वर्तमान अवस्था :
चिकित्सा क्षेत्रमा नै आबद्ध र सर्जरीमा विद्यावारिधि गरिरहेका गौरव पोख्रेलले वुहानमा कोरोना भाइरसको सङ्क्रमण फैलन सुरु गरेको समयमा धेरै नआत्तिन भन्दै नेपालीहरूलाई सुझाएका थिए।
सुरुवातमा यसले यति ठुलो रूप लिने सम्भावना नदेखिएको तर सङ्क्रमित र यसबाट मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै जाँदा सबैमा त्रास बढ्नु स्वाभाविक रहेको उनले बताए।
यो पनि पढ्नुहोस्

कोरोनाभाइरस: “जनताको दुस्मन नम्बर एक!”
त्यति मात्र नभएर त्यहाँको प्रशासनबाट घर बाहिर अत्यावश्यक काममा बाहेक ननिस्कन आग्रह गर्दै माइकिङ गर्ने गरिएको गौरव बताउँछन्।
आफूहरूले पनि अवस्था मध्यनजर गर्दै घर भित्रै बसेको तर पानी लगायत दैनिक उपभोग्य सामाग्रीहरू पनि सकिन थाले पछि जीवन यापन झन् भन्दा झन् कठिन बनेको थियो।
लगभग शून्य प्राय बनेको वुहानमा कुनै- कुनै पसल मात्र खुलेको भेटिन्छ।
र हप्तामा एक पटक परिवारको एक सदस्यले अनुमति लिएर पसल खुलेको स्थानमा गएर सामान किन्न सक्दछन्।
बाहिर निस्कनु पूर्व र घर फर्कनु पूर्व उनीहरूको तापक्रम मापन गरिन्छ। र यस बाहेक अनलाइनमा सामान किन्न सकिने व्यवस्था पनि गरिएको छ।

"हप्तामा एक चोटि वा दुई चोटि सामान किन्न पाइन्छ, तपाइले अनलाइन किनेको सामान तरकारी, दूध, चामल जस्ता अति आवश्यक कुराहरू चाहिँ घरमा पुर्याउने व्यवस्था गर्न खोज्नु भएको छ।"
आफू जस्तै धेरै नेपालीहरू चीनमा पढ्न जाने भएकाले कोरोना भाइरसका कारण कलेजमा नै गएर पढ्ने प्रक्रिया बन्द गरिएको छ।
तर चीन सरकारको व्यवस्थापनको प्रशंसा गर्दै पोख्रेलले यो परिस्थितिलाई मध्ये नजर गर्दै सरकारले अनलाइन पढ्ने व्यवस्था गरिदिएको बताएका छन्।
"उहाँहरूले अनलाइन कोर्स खोल्नु भएको छ। जस्तै मेरो आगामी सेमेस्टरमा पढ्नु पर्ने कोर्सहरू जुन म क्लासमा बसेर पढ्ने गर्थे अब सबै अनलाइन गर्ने भन्नु भएको छ।"
त्यस्तै समूहमा कुराकानी गर्ने व्यवस्था गरिएको वि च्याट मार्फत आफूहरूलाई आवश्यक हरेक जानकारीहरू दिने गरिएको उनको भनाइ छ।
कोभिड-१९ बुझाइ र बच्ने उपाय :
कोरोना भाइरस नयाँ किसिमको सङ्क्रमण भएको कारण ठ्याक्कै के कारणले यो एक बाट अर्को व्यक्तिमा सर्छ भन्ने यकिन हुन सकेको छैन।
त्यस्तै यसको उपचार गर्ने बारे पनि केही पत्ता नलाग्दा यसको बारेमा डर आउनु स्वाभाविक भएको गौरव पोख्रेल बताउँछन्।
अहिले सम्मको परिस्थितिलाई हेर्दा रोग प्रतिरोधात्मक शक्ति केही कमजोर भएका व्यक्तिहरूलाई यसले बढी गाँजेको बताउँदै उनले सङ्क्रमण हुने बित्तिकै मृत्यु नै हुन्छ भन्ने नदेखिएको बुझ्नु पर्ने बताएका छन्।
क्वारेन्टिन र आइसोलेसन बिचको भिन्नता नबुझ्दा धेरैमा कोरोना भाइरस र सङ्क्रमितहरूलाई लिएर गलत बुझाइ देखिएको उनले बताए।

"हामीमा कुनै पनि लक्षण देखिएको छैन तर आफू जोगिन हामी चाहिँ कोठामा बसेको अवस्थालाई क्वारेन्टिन भनिन्छ, तर आइसोलेसन भनेको बिरामी छ- जसलाई चाहिँ रोग देखि सकेको छ त्यस्ता मान्छेलाई अस्पताल वा निश्चित ठाउँमा राख्नुलाई आइसोलेसन भनिन्छ।"
कोरोना भाइरस मान्छे बाट मान्छेमा सर्छ भन्ने मात्र थाहा पाइएको अवस्थामा चीन सरकारले यात्रुहरूलाई तापक्रम जाँच गर्ने गरेको र ३७.३ डिग्री भन्दा माथि तापक्रम हुनेहरूलाई जहाजमा चढ्न नदिने गरेको पोख्रेलले जानकारी दिए।
उनले यही अभ्यासलाई नेपालमा पनि लागू गरिनु पर्ने र चीनबाट नेपाल जाने यात्रुहरूको कम्तीमा पनि तापक्रम लिने व्यवस्था गरिनु पर्ने बताउँछन्।

साथै व्यक्तिगत स्तरमा भने सङ्क्रमण जोखिम कम गर्न बाहिर निस्कँदा मास्क लगाउने, घर फर्किए पछि साबुन पानीले हात धुने गर्नु पर्ने उनको सुझाव छ।





