मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा हाई स्कुल प्रमाणपत्र सम्बन्धी परीक्षा ९ नोभेम्बरसम्मका लागि धकेलियो,
- प्रत्येक १० भिक्टोरियाली सङ्क्रमितमा एक शेपर्टनका बासिन्दा,
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा लकडाउनका बेला व्यापार-व्यवसायहरूका लागि नयाँ नियम लागू हुँदै र
- अटागी भनिने अस्ट्रेलियामा खोपहरु बारे सल्लाह दिने समितिद्वारा १२-१५ वर्षका बालबालिका माथि फाइजर खोपको प्रयोगलाई अनुमति।
न्यु साउथ वेल्स
जनसङ्ख्याको आधारमा अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य रहेको न्यु साउथ वेल्सले शुक्रवार कोरोनाभाइरसका थप ८८२ सामुदायिक सङ्क्रमणहरु दर्ता गरेको छ।
प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार बिहीबार राती आठ बजेसम्मको गणना अवधिभर ११८,१२० जनाको कोभिड-१९ सङ्क्रमणका लागि परीक्षण गर्दा ती ८८२ जना सङ्क्रमित रहेको पाइएको हो।
यसका साथै राज्यमा थप दुई जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको पनि उनको भनाई छ।
उनका अनुसार ती दुवैको मृत्यु भिन्न-भिन्नै अस्पतालहरूमा भएको हो र उनीहरू त्यहाँ रहँदा नै सङ्क्रमित भएका थिए।
हालसम्म न्यु साउथ वेल्सभरका अस्पतालहरूमा कोभिड-१९ का कारण ७६७ बिरामीहरु भर्ती छन् भने ११७ जनाको सघन उपचार जारी छ र ती मध्ये ४७ जनालाई भेन्टिलेटरको आवश्यकता परेको बताइएको छ।
अधिकांश बिरामीहरु दक्षिण तथा दक्षिण-पश्चिम सिड्नीका बासिन्दाहरू रहेको पनि अधिकारीहरूको भनाई छ।
पछिल्लो केही समय यता सङ्क्रमण सङ्ख्या बढ्दै गएका क्यामडेन र पेनरिथलाई 'हटस्पट' घोषणा गर्न सकिने पनि ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।
यो भन्दा अघि अति कोरोना प्रभावित १२ काउन्सिल क्षेत्रहरूलाई पनि "चिन्ताका स्थान" भनेर उनले वर्गीकृत गरिसकेकी छिन्।
साथै, आज सिड्नीमा बोल्दै न्यु साउथ वेल्स प्रिमियरले राज्यका स्कूलहरू पुनः सञ्चालन गर्ने बारे आफ्ना योजनाका रूपरेखाहरू सार्वजनिक गरेकी छिन्।
जस अनुसार एचएससी वा हाई स्कुल सर्टिफिकेट परीक्षाहरू नोभेम्बर ९ तारिखदेखि सुरु हुने गरी पर धकेलिएको छ।
यसै गरी, क्रमिक रूपले प्रत्यक्ष पठन-पाठन अक्टोबर २५ तारिखदेखि सुरु गरिने बेरिजिक्लियनको भनाई छ।

उनी भन्छिन् कि पहिले सानो उमेरका विद्यार्थीहरू अध्ययनरत कक्षामा फर्किने छन् र क्रमिक रूपले बाँकि सबै विद्यार्थीहरूको स्कुलमा पठन-पाठन पुन: सञ्चालन हुनेछ।
तर हाल जारी लकडाउन हट्न सक्ने स्थानहरूमा मात्र विद्यालयहरू सञ्चालनमा आउने सङ्केत राज्यकी शिक्षा मन्त्री सेरा मिचेलले गरेकी छिन्।
उनका अनुसार यसरी कक्षाहरू सञ्चालनमा आउँदा तेस्रो तहको प्रतिबन्धहरू लागू हुनेछन् जसमा ठुलो मात्रामा भेला हुन नपाइने र आवश्यक नभएका वयस्कहरू विद्यालय हातामा उपस्थित हुन पाउने छैनन्।

मिचेल भन्छिन् कि यस्तो निर्णय हल्का रूपमा लिइएको होइन।
"यो सन्तुलन मिलाउँदै अगाडि बढ्ने कुरामा आधारित छ," उनले भनिन्।
"पठन-पाठनको सबैभन्दा राम्रो अभ्यास कक्षाकोठामा हुन्छन् तर स्वास्थ्य सल्लाहसँग त्यसलाई मिलाएर अगाडि बढ्नु पर्ने अवस्था छ।"
प्रिमियरले भने स्कूले शिक्षक-शिक्षिका तथा अन्य कर्मचारीहरूद्वारा नोभेम्बर ८ तारिखसम्ममा कोरोनाभाइरस विरुद्ध उपलब्ध खोपको कम्तीमा पनि पहिलो मात्रा लिइसकेको हुनुपर्ने पनि बताएकी छिन्।
उता, प्राथमिक विद्यार्थीहरू स्कुल फर्कँदा उनीहरूलाई मास्क लगाएर आउन पनि प्रोत्साहित गरिने शिक्षा मन्त्रीको भनाई छ भने हाई स्कुल तहका छात्रछात्राहरूले भने कक्षाकोठामा हुँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ।
भिक्टोरिया

भिक्टोरियाली अधिकारीहरूले बितेका २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ७९ मामिलाहरू राज्यमा भेटिएको पुष्टि गरेका छन्।
भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार ती मध्ये ५३ जना पहिले सङ्क्रमित भइसकेका मानिसहरूसँग सम्बन्धित छन् भने बाँकीका २६ जना कसरी सङ्क्रमित भए भन्ने बारे छानबिन जारी छ।
उता, राज्यको उत्तरमा पर्ने शेपर्टनमा १६,००० जतिको सङ्ख्यामा मानिसहरू आइसोलेसनमा रहेको बताइएको छ जसबाट खाद्यान्न वितरण, सुपरमार्केट र औषधी पसलहरू जस्ता अत्यावश्यक सेवामा कर्मचारीहरूको अभाव भए पछि ती बन्द हुन बाध्य भएका थिए।
यसो हुँदा करिब ६५,००० बासिन्दाहरू भएको शेपर्टन क्षेत्रमा ठुलो अस्तव्यस्तता देखिए पछि हिजोदेखि अस्ट्रेलियाली रक्षा बलका सदस्यहरूले आवश्यक सहायता प्रदान गरिरहेका छन्।

फोलीले भिक्टोरिया फर्कने अन्तर्राष्ट्रिय यात्रुहरूले उनीहरू फर्केको १७ औँ दिनमा कोभिड-१९ परीक्षण गर्नुपर्ने बताएका छन्।
उनका अनुसार यसका साथै ती मानिसहरू फर्केको २१ औँ दिनमा पनि परीक्षण गर्न कडा सिफारिस गरिएको छ।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
फोली भन्छन् कि यो व्यवस्था अन्य राज्य तथा प्रदेशहरूबाट भिक्टोरिया प्रवेश गरेर होटेल क्वारेन्टिनमा बस्नुपर्ने मानिसहरूका लागि पनि लागू हुनेछ।
अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटी वा अस्ट्रेलियाली स्वास्थ्य सुरक्षा मुख्य समिति र राष्ट्रिय मन्त्रिपरिषद् बिच भएको छलफलका आधारमा नयाँ व्यवस्था लागू गरिएको पनि उनको भनाई छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
गएका २४ घण्टामा क्यानबेराले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २१ मामिलाहरू दर्ता गरेको छ।
एसीटीका मुख्यमन्त्री एन्ड्रू बार्रले यसबारे केही बेर अघि अद्यावधिक जानकारी दिने क्रममा ती केसहरू बारे पुष्टि गरेका हुन्।

उनका अनुसार प्रदेशका अस्पतालमा ११ जना कोभिड-१९ सम्बन्धी जटिलताका कारण भर्ती छन् भने एक जनाको स्थिति नाजुक रहेको छ।
आज पुष्टि गरिएका २१ सङ्क्रमित मध्ये १५ जनाको सङ्क्रमण स्रोत पत्ता लागिसकेको छ र बाँकी ६ जना बारे छानबिन चलिरहेको पनि बार्रको भनाई छ।
मुख्यमन्त्रीका अनुसार आज मध्यरातदेखि क्यानबेराका साना खुद्रा पसलहरू भित्र एकसाथ बढीमा दुई जनासम्म आउन पाउने छन्।
यसै गरी हार्डवेयर, पाल्तु जनावर सम्बन्धी सेवा दिने र कार्यालयका लागि भनेर सामानहरू बेचबिखन गर्ने जस्ता केही अत्यावश्यक ठुला व्यवसायहरू जसलाई लकडाउनका बेला सञ्चालनको अनुमति प्रदान गरिएको छ, उनीहरू पनि सम्पर्कविहीन वा क्लिक एन्ड कलेक्ट प्रणालीमा जानुपर्नेछ।
एन्ड्रू बार्र भन्छन् कि नयाँ व्यवस्था कम्तीमा पनि सेप्टेम्बर २ तारिखसम्म लागू हुनेछन्।
- क्यानबेराका सङ्क्रमित स्थानहरूको सूचि र खोपका बारेमा थप जानकारी।
क्वीन्सल्यान्ड

गएका २४ घण्टामा क्वीन्सल्यान्डमा कोभिड-१९ सामुदायिक सङ्क्रमणका कुनै पनि घटनाहरू दर्ता नभएको स्थानीय अधिकारीहरूको भनाई छ।
तर, होटेल क्वारेन्टिनमा भने थप एक मामिला भेटिएको प्रिमियर अनास्टेसिया पलाशेले बताएकी छिन्।
उनका अनुसार दक्षिण-पूर्वी क्वीन्सल्यान्डमा आज दिउँसो ४ बजेदेखि लागू हुने गरी प्रतिबन्धहरू थप खुकुलो बनाइने छ जस अनुसार पब तथा क्लबहरूमा नाचगान गर्न छुट हुनेछ।
यसै गरी घरहरूमा १०० जनासम्म भेला हुन पाउनेछन् भने विवाह तथा मृत्यु संस्कारहरूमा २०० व्यक्तिसम्मले भाग लिन मिल्नेछ।
फुटबल लगायतका खेलकुद हेर्न पाउने मानिसहरूको सङ्ख्यामा तोकिएको सीमा पनि हट्ने पनि उनको भनाई छ।
पलाशे भन्छिन् कि रेस्टुरेन्ट र क्याफेहरूमा हाल लागू प्रति ४ वर्ग मिटर एक व्यक्ति सम्बन्धी नियम पनि खुकुलो हुँदै प्रति २ वर्ग मिटरमा एक व्यक्ति कायम हुनेछ।
तर मास्कको प्रयोग भने भवन भित्र रहँदा अनिवार्य नै रहने छ।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङका अनुसार मास्क सम्बन्धी नियमको पुनरावलोकन दुई सातामा गरिनेछ।

अन्य खबर
आजको कोभिड-१९ सम्बन्धी अन्य खबरमा भने अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन वा अस्ट्रेलियामा खोप सम्बन्धी प्राविधिक सल्लाह दिने समूहले १२ देखि १५ वर्ष बिचका बालबालिकाहरूले फाइजरद्वारा निर्मित कोमिनार्टी खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
