मुख्य बुँदाहरू:
- रिजनल न्यु साउथ वेल्समा लकडाउन लम्बियो,
- भिक्टोरियालाई थप २५,००० फाइजर निर्मित खोप,
- एसीटीका व्यापार-व्यवसायहरूको सहयोगार्थ सरकारी अनुदान सुरु र
- क्वीन्सल्यान्डले टूवूम्बा नजिकै आफैँले क्वारेन्टिन केन्द्र बनाउने।
न्यु साउथ वेल्स
बुधवार राती आठ बजेसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरसका थप १,०२९ सामुदायिक सङ्क्रमणका मामिलाहरू पुष्टि भएका छन्।
सोही अवधिमा थप तीन जनाको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको पनि राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज बिहान सिड्नीमा आयोजित आफ्नो दैनिक कोरोनाभाइरस अपडेटका क्रममा बताएकी छिन्।
यस्तो सुविधा ती चासोका काउन्सिल क्षेत्रमा बस्ने र अन्य काउन्सिल अन्तर्गतका सबर्बहरूमा घर भएका लागि भने फरक-फरक हुने पनि प्रिमियरको भनाई छ।
उनी भन्छिन् कि अति कोरोना प्रभावित काउन्सिल क्षेत्रमा बसोबास गर्ने वयस्क मानिसहरूका हकमा उनीहरूले कोभिड-१९ विरुद्ध खोपका दुवै डोज लगाइसकेपछि घर वा भवन बाहिर पिकनिक सहितको मनोरञ्जन लगायतका क्रियाकलाप गर्न छुट पाउने छन्।
यद्यपि हाल लागू कर्फ्यु तथा घर बाहिर एक घण्टा मात्रै बिताउन पाउने नियम ती मानिसहरूले मनन गर्नुपर्ने छ र उनीहरुले आफ्नो घरमा बस्ने मानिसहरू बाहेक अरूसँग भेट्न हुँदैन।
अन्य काउन्सिल क्षेत्रमा बस्ने राज्यवासीका हकमा भने, बालबालिका सहित पाँच जनासम्म मानिसहरु जम्मा भएर घरको पाँच किलोमिटर भित्रको कुनै ठाउँमा भेला हुन पाउने छन्।
आफ्नै काउन्सिल क्षेत्र भित्र भने उक्त पाँच किलोमिटरको नियम लागू नहुने पनि बताइएको छ।
उता, रिजनल न्यु साउथ वेल्समा बसोबास गर्ने मानिसहरूले भने थप दुई हप्ता लकडाउनमा बिताउनु पर्ने भएको छ।
प्रिमियर बेरिजिक्लियनले राज्यका क्षेत्रीय तथा ग्रामीण भेकमा सङ्क्रमण नघटेको भन्दै लकडाउनको समय सीमा बढाइएको बताएकी हुन्।
पूर्व निर्धारित कार्यक्रम अनुसार २९ अगस्टमा सकिनुपर्ने लकडाउन अब रिजनल न्यु साउथ वेल्समा सेप्टेम्बर १० तारिखसम्म लागू हुने छ।
उनले हाल राज्यमा देखिएको सङ्क्रमण सङ्ख्या न्यूनीकरण गर्न र मानिसहरूलाई थप स्वतन्त्रता प्रदान गर्न कोरोनाभाइरस विरुद्धका खोपहरु नै एक मात्र विकल्प भएकोमा पुनः एक पटक जोड दिएकी छिन्।
न्यु साउथ वेल्स प्रिमियर भन्छिन् कि राज्य आफ्नो खोप कार्यक्रममा निकै अगाडी पुगेको छ र खोप दर यस्तै रहेको खण्डमा अक्टोबर महिनाको मध्य तिर ७० प्रतिशत राज्यवासीहरूले कोभिड-१९ खोपको दोस्रो मात्रा पाइसक्ने छन्।
“यो कोसे ढुङ्गा हामी सबैको लागि महत्त्वपूर्ण छ,” उनले भनिन्।
“म सबैलाई खोप लगाउन आग्रह गर्छु।”

कोभिड-१९ सङ्क्रमणका कारण हिजो बेलुका आठ बजेसम्म मृत्यु भएका सबै जना पुरुष रहेका र उनीहरूले निजी निवासमै ज्यान गुमाएको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले बताएकी छिन्।
उनी भन्छिन् कि ती सबै मृत्युहरूका बारेमा छानबिन जारी छ।
यसरी ज्यान गुमाउनेहरू मध्ये एक जना ३० वर्ष माथिका रहेको बताइएको छ भने अन्य दुई ६० र ८० वर्ष माथिका वृद्धहरू हुन्।

डा चान्टका अनुसार आगामी दिनहरूमा सङ्क्रमण सङ्ख्या थप बढ्ने सम्भावना छ।
“म तपाईँलाई के सङ्केत गर्न चाहन्छु भने यी सङ्ख्या दिनकै हजारभन्दा निकै माथि पुग्न सक्नेछन्,” उनले भनिन्।
“यस कारण पनि खोप लगाउनु र स्वास्थ्य प्रतिबन्धहरूको पालना गर्नु एकदमै जरुरी छ।”
भिक्टोरिया
बितेका २४ घण्टामा भिक्टोरियामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ८० मामिला अगाडि आएका छन्।
राज्यको स्वास्थ्य विभागले आज बिहान ट्विट मार्फत यसको पुष्टि गरेको हो।
यी मध्ये ६७ मामिलाहरूको स्रोत पत्ता लागेको छ भने १३ सङ्क्रमित बारे छानबिन जारी रहेको बताइएको छ।
साथै ती ८० सङ्क्रमित मध्ये ४१ जना समुदायमा सक्रिय रहेको र बाँकी ३९ जना भने पहिले देखी नै आइसोलेसनमा बसेका मानिसहरू रहको पनि स्वास्थ्य विभागले जनाएको छ।
योसँगै भिक्टोरियामा हाल ६०० सक्रिय मामिलाहरू रहेका छन् जसमध्ये ५९६ केसको स्रोत सामुदायिक सङ्क्रमण रहेको पुष्टि भइसकेको छ।
आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा बोल्दै, भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रूजले खोप लगाउनुको महत्त्व माथि जोड दिँएका छन्।
उनी भन्छन् कि जनसङ्ख्याको ८० प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै मात्रा खोप लगाउनु सबैको लागि निकै जरुरी रहेको छ।
“पाखुरामा घोचिने हरेक सुईले हामीलाई त्यो कोसे ढुङ्गासम्म पुग्न मद्दत गर्छ,” उनले भने।

उता, राज्यको उत्तरमा पर्ने शेपर्टनमा जारी प्रकोपबाट ६७ जना सङ्क्रमित भइसकेका छन्।
भिक्टोरियाका कोभिड-१९ परीक्षण कमान्डर जेरोइन वाइमरले यस बारेमा बोल्दै भने कि ती सबै मामिलाहरू पहिले पुष्टि भइसकेका सङ्क्रमितहरूसँग नै जोडिएका छन् र सङ्क्रमण दर द्रुत रूपमा बढिरहेको छ।
यसैगरी, वाइमरका अनुसार ४० वर्ष मुनिका भिक्टोरियालीहरू जसले एस्ट्राजेनेका खोपका लागि समय लिई सकेका थिए, उनीहरूले स्वतः फाइजर खोप पाउनेछन्।

सङ्घीय सरकारले दिएको थप २५,००० फाइजर निर्मित खोप भिक्टोरिया पुगेसँगै उनको उक्त भनाई आएको हो।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीमा पछिल्लो २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १४ केसहरू दर्ता भएका छन्।
ती मध्ये एक सङ्क्रमित बाहेक सबै जना सङ्क्रमण पुष्टि हुनु अगाडीदेखि नै क्वारेन्टिनमा रहेको पनि राज्य अधिकारीहरूको भनाई छ।
क्यानबेराका मुख्यमन्त्री एन्ड्रू बार्र भन्छन् कि एसीटीभर १२ वर्षभन्दा माथिका ३७ प्रतिशत प्रदेशवासीले कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाई सकेका छन्।
हाल क्यानबेराका अस्पतालमा कोरोनाभाइरस सङ्क्रमणका कारण नौ जना भर्ती छन् भने ती मध्ये एकको अवस्था नाजुक रहेको बताइएको छ।
एसीटीकी उप-प्रमुख स्वास्थ्य अधिकारी भनेसा जन्सटनका अनुसार प्रदेशको सङ्क्रमण सही दिशा तर्फ उन्मुख छ।
उनी भन्छिन् कि क्यानबेरामा हाल जारी लकडाउनले सोचे जस्तै परिणामहरू दिइरहेको छ।
“म क्यानबेरावासीहरूलाई धन्यवाद दिन चाहन्छु,” उनले भनिन्।
“क्यानबेरा अहिले मसानघाट जस्तो चकमन्न छ।”

कोरोनाभाइरस प्रतिबन्धहरूका कारण प्रभावित क्यानबेरा स्थित व्यापार-व्यवसायहरूले १०,००० डलरसम्मको आर्थिक अनुदानका लागि दर्खास्त हाल्न पाउने भएकाछन्।
कर्मचारीहरू रहेका कम्पनीहरूको हकमा उक्त १०,००० डलरसम्मको भुक्तानीका लागि उपलब्ध हुनेछ भने कर्मचारीहरू नरहेका एकल व्यवसायीहरूले ४,००० डलरसम्म पाउने बताइएको छ।
- क्यानबेराका सङ्क्रमित स्थानहरूको सूचि र खोपका बारेमा थप जानकारी।
पछिल्लो २४ घण्टा अस्ट्रेलिया वरिपरि
क्वीन्सल्यान्ड राज्यसरकारले टूवुम्बा नजिकै रहेको वेलक्याम्प हवाईअड्डामा क्षेत्रिय क्वारेन्टिन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार उक्त क्वारेन्टिन केन्द्रको निर्माण क्वीन्सल्यान्ड सरकारले आफ्नै खर्चमा गर्नेछ।
उता, क्वीन्सल्यान्डको पश्चिमी छिमेकी प्रदेश - नर्दर्न टेरिटरीमा रहेका १२ वर्ष माथिका सबै बालबालिकाहरु अब फाइजर खोपका लागि योग्य घोषित गरिएको छ।
प्रदेशको स्वास्थ्य विभागले स्कूलहरूसँग यसबारेमा सहकार्य गर्न छलफल भइरहेको बताएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
