कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सद्वारा खोप लगाउनेलाई थप स्वतन्त्रताको बाचा, भिक्टोरियामा खोपको योग्यतामा विस्तार

यो मङ्गलवार, २४ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

drive-through testing site at Shepparton Sports Precinct in Shepparton, Victoria, Tuesday, August 24, 2021.

صف رانندگان در پشت یک کلینیک سواره آزمایش کرونا در شهر شیپرتون Source: AAP Image/Daniel Pockett

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा हालसम्म कोरोनाभाइरस खोपका ६० लाख मात्रा मानिसहरूलाई लगाइसकिएको घोषणा,
  • भिक्टोरियामा खोपको योग्यतामा विस्तार,
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीमा हालसम्मकै सर्वाधिक सामुदायिक सङ्क्रमण र
  • क्वीन्सल्यान्डमा थप दुई सङ्क्रमित।

न्यु साउथ वेल्स

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले न्यु साउथ वेल्समा कोभिड-१९ खोपको ६० लाख डोज राज्यवासीहरूलाई लगाइदिने लक्ष्य समय भन्दा अगाडि नै पुरा भएको बताएकी छिन्।

राज्य सरकारले अगस्ट मसान्तसम्ममा उक्त कोशे ढुङ्गा पुग्ने लक्ष्य राखेको थियो।

जुन महिना यता सिड्नीमा सुरू भएको डेल्टा प्रकोपका कारण मानिसहरूलाई यथाशीघ्र कोरोनाभाइरस विरुद्ध खोप लगाउन न्यु साउथ वेल्स अधिकारीहरूले अपिल गर्दै आइरहेका छन्।

यसै अनुरूप उल्लेखनीय सङ्ख्यामा राज्यवासीहरू खोप लगाउन अगाडी आएका कारण न्यु साउथ वेल्सले सो कोशे ढुँङ्गा आज प्राप्त गरेको हो।

योसँगै, राज्यमा खोप लगाउन योग्य मानिसहरूको कुल सङ्ख्याको ३२ प्रतिशतले कोरोनाभाइरस खोपका दुवै मात्रा पाइसकेको पनि प्रिमियरको भनाई छ।

उनी भन्छिन् कि आउँदो बिहीबार वा शुक्रवार पूर्ण रूपमा खोप लगाइसकेका मानिसहरूका लागि के-कस्तो स्वतन्त्रताहरू उपलब्ध हुन्छन् भनेर घोषणा गर्ने तयारी आफ्नो सरकारको रहेको छ।

यद्यपि प्रिमियर बेरिजिक्लियनले हाल जारी प्रतिबन्धहरू फुकुवा गर्ने बारे भने आफ्नो सरकारले हतारमा कुनै निर्णय नलिने पनि बताएकी छिन्।

"सम्भव भएसम्म हामी भाइरसलाई नियन्त्रण गर्न सक्ने गरी आगामी कदमहरू चाल्ने छौँ," उनले भनिन्।

उता, हिजो राती आठ बजेसम्म प्राप्त १३८,४७२ कोभिड-१९ परीक्षणका नतिजाहरूका अनुसार, राज्यभर ७५३ जनामा सामुदायिक सङ्क्रमण भेटिएको पुष्टि राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले आज बिहान सिड्नीमा आयोजित दैनिक कोरोनाभाइरस अपडेटका क्रममा गरेकी छिन्।

उनी भन्छिन् कि सोही गणना अवधिमा राज्यभर कोभिड-१९ सङ्क्रमणका कारण कुनै मृत्यु दर्ता भएको छैन।

यस्तै, राज्यभरका अस्पतालहरूमा कोभिड-१९ पीडित ६०८ बिरामीहरु भर्ती रहेको बताउँदै डा चान्टले ती मध्ये १०७ जनको सघन उपचार भइरहेको पनि उल्लेख गरेकी छिन्।

ती मध्ये अधिकांशले कोभिड-१९ विरुद्धको खोप नलगाएको पनि चान्टको भनाई छ।

न्यु साउथ वेल्स डेपुटी प्रिमियर जोन बारिलारोका अनुसार भने रिजनल क्षेत्रमा बसोबास गर्ने राज्यवासीहरूको खोप दर, शहरी भेकका मानिसहरूको जस्तो उच्च छैन र यो चिन्ताको विषय हो।

"हामी चाहन्छौँ कि खोप दर उच्च रहोस्," उनले भने।

यसका साथै उनले कोभिड-१९ सङ्क्रमण विल्कानिया जस्तो अति सुदूर स्थानदेखि तटीय समुदायहरूसम्म फैलिएको बताएका छन्।

A sign on the Barrier Highway between Cobar and Wilcannia.
A sign on the Barrier Highway between Cobar and Wilcannia. Source: AAP

प्रिमियर बेरिजिक्लियनले भने अन्य मुलुकहरूले डेल्टा प्रकोपलाई नियन्त्रण गर्न निकै कसरत गरिरहनुपरेको भन्दै यसबारेमा यथार्थपरक निर्णयहरू आफ्नो सरकारले गर्ने बताएकी छिन्।

उनी भन्छिन् कि मानिसहरूको जीवन बचाउनु राज्य सरकारको पहिलो प्राथमिकता हो।

न्यु साउथ वेल्सका १२ अति कोरोना प्रभावित काउन्सिल क्षेत्रहरूमा बसोबास गर्ने १६ देखि ३९ वर्षका मानिसहरू र अशक्त एवं बाल स्याहारमा कार्यरतहरूलाई खोपका लागि प्राथमिकता राखिएको छ।

भिक्टोरिया

प्रिमियर ड्यानिएल एन्ड्रूजले भिक्टोरियामा भोलि बिहान ७ बजेदेखि कोरोनाभाइरसका थप ८३०,००० मात्रा खोपहरु लिने समयको लागि बुकिङ खुल्ला हुने बताएका छन्।

उनी भन्छन् कि कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा नलिएका योग्य मानिसहरूले आगामी चार हप्ता भित्र खोप लगाउन मिल्ने गरी समय लिन सक्नेछन्।

"यसको अर्थ के हो भने आगामी पाँच हप्ता भित्रै हामीले १० लाख डोज खोपको लक्ष्य प्राप्त गर्नेछौँ," प्रिमियर एन्ड्रूजले मेलबर्नमा आयोजित आफ्नो दैनिक कोरोनाभाइरस अपडेटका क्रममा भने।

“यो भन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, भोलिदेखि हाम्रो राज्यमा रहेका सबै १६-३९ वर्ष उमेर समूहका युवाहरू फाइजर खोपका लागि योग्य हुनेछन्।”

ड्यानिएल एन्ड्रूजले पोल्यान्डबाट अस्ट्रेलिया ल्याइएका १० लाखभन्दा पनि बढी खोपका केही भाग राज्य सरकारले पाउनेमा अब आफूहरू विश्वस्त रहेको भन्दै ती बुकिङ खुल्ला गरिइएको बताएका हुन्।

सङ्घीय सरकारले पोल्यान्ड सरकारसँग त्यहाँ अतिरिक्त भनेर पहिचान गरिएका फाइजरद्वारा निर्मित खोपहरु किनेर आपूर्ति गरेको थियो।

यसैगरी, भिक्टोरियाले गएका २४ घण्टामा कोभिड-१९ सङ्क्रमणका थप ५१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

ती मध्ये ५० सामुदायिक सङ्क्रमणका घटनाहरू हुन् भने बाँकीको १ केस विदेशबाट आएका मानिस रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

योसँगै भिक्टोरियामा हाल कोरोनाभाइरसका ५२२ सक्रिय मामिलाहरु छन् र ती मध्ये ३४ जनाको अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा भर्ती गरिएका कोभिड-१९ बिरामीहरूमा चाहिँ ९ जना आइसियुमा छन् जसमध्ये पनि ७ जनालाई भेन्टिलेटरको आवश्यकता परेको बताइएको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा क्यानबेराले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ३० मामिलाहरू दर्ता गरेको छ।

यो एसीटीमा हाल जारी डेल्टा प्रकोपको सबैभन्दा ठुलो दैनिक सामुदायिक सङ्क्रमण आँकडा हो।

प्रदेशका मुख्यमन्त्री एन्ड्रू बार्र भन्छन् कि ती ३० सङ्क्रमित मध्ये १३ जना क्वारेन्टिनमा बसिरहेका मानिसहरू हुन् भने कम्तीमा पनि ११ जना समुदायमा सक्रिय रहेका थिए।

उनका अनुसार छ जना सङ्क्रमितहरूको बारे छानबिन जारी छ।

हालसम्म एसीटीमा चार जना अस्पतालमा कोभिड-१९ सम्बन्धी जटिलताका कारण भर्ती भइसकेका छन् जसमध्ये एक जनाको उपचार सघन कक्ष आइसियुमा भइरहेको छ।

बार्रले पछिल्लो अवस्थाका कारण प्रदेशमा जारी लकडाउन कहिले अन्त्य हुन्छ भनेर अहिल्यै भन्न नसकिने पनि दोहोर्‍याएका छन्।

क्वीन्सल्यान्ड

पछिल्लो गणना अवधिको अन्त्यसम्ममा क्वीन्सल्यान्डले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप दुई नयाँ मामिलाहरू दर्ता गरेको छ।

यी दुवै मामिलाहरु बारे थप अनुसन्धान जारी रहेको स्थानीय अधिकारीहरूको भनाई छ।

यसै गरी विदेशबाट आएका मानिसहरूको परीक्षण गर्दा भने थप ४ जना सङ्क्रमित रहेको पाइएको पनि बताइएको छ।

प्रिमियर अनास्टेसिया पलाशे भन्छिन् कि ती मध्ये एक जना होटेल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने तीन जना सामुद्रिक जहाजका कामदार हुन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 


Share

6 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now