Analysis

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सद्वारा कोरोनाभाइरस सङ्क्रमणमा अर्को कीर्तिमान

यो बुधवार, २५ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

 Bondi Beach in Sydney, Wednesday, August 25, 2021.

Members of the public exercise at Bondi Beach in Sydney, Wednesday, August 25, 2021. Source: AAP Image/Bianca De March

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा सङ्क्रमित सङ्ख्या पुनः उकालो चढ्यो,
  • भिक्टोरियामा कोभिड-१९ बाट प्रभावित हुनेमा युवा र बालबालिकाहरूको सङ्ख्या धेरै,
  • एसीटीद्वारा कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा काम गर्ने कर्मचारीहरूको सङ्ख्यामा वृद्धि र
  • क्वीन्सल्यान्डमा होटेल क्वारेन्टिन कार्यक्रम दुई हप्ताका लागि स्थगित।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्समा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ९१९ नयाँ मामिलाहरू पुष्टि भएका छन्।

आज बिहान सिड्नीमा आयोजित आफ्नो दैनिक कोरोनाभाइरस अपडेटका क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन्।

उनका अनुसार न्यु साउथ वेल्समा सोही अवधिभर थप दुई जनाले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएका छन्।
यसरी कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेमा ३० वर्ष कटेकी एक महिला र ८० वर्ष माथिका एक वृद्ध रहेको पनि बेरिजिक्लियनको भनाई छ।

पश्चिमी सिड्नीमा सङ्क्रमित मानिसहरूको सङ्ख्या उच्च रहिरहँदा उनले विशेष गरी १६ देखि ३९ वर्षका राज्यवासीहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।

प्रिमियर बेरिजिक्लियन भन्छिन् कि खोपले तपाईँ तथा तपाईँका परिवारजनलाई सुरक्षा प्रदान गर्छ।

तर, खोपका दुवै मात्रा लगाइसकेकाहरूलाई पनि उनले सतर्क रहिरहन भनेकी छिन्।

“तपाईँ घर बाहिर जाँदा, तपाईँको सम्पर्कमा आउने सबै जना सङ्क्रमित हुन सक्छन् भनेर सोच्ने गर्नुहोस्,” ग्लाडिस बेरिजिक्लियनले भनिन्।

गीलफर्ड, अबर्न, मेरील्यान्ड्स, ग्रेस्ट्यानेस, ग्रानभील, पन्चबाओल, यगूना र ब्ल्याकटाउन अझै पनि चासोका सबर्बहरु रहेको पनि उनको भनाई छ।
उता, डेपुटी प्रिमियर जोन बारिलारोले ढलको परीक्षणबाट मेरिम्बुलामा पनि भाइरसका जीवाणुहरू भेटिएको बताएका छन्।

क्यानबेरा नजिकै पर्ने भएकाले यो थप चिन्ताको विषय रहेको पनि बारिलारोको भनाई छ।

उनी भन्छन् कि क्यानबेरामा प्रकोप सुरु हुँदै गर्दा थुप्रै मानिसहरू साउथ कोस्ट तर्फ लागेका थिए।

“सामान्य लक्षणहरू देखा पर्नासाथ म मानिसहरूलाई परीक्षणका लागि अगाडी आउन आग्रह गर्छु,” डेपुटी प्रिमियरले भने।

मेरिम्बुलाका अलावा बाटो बे र टूक्लीका ढलमा पनि कोरोनाभाइरसका जीवाणुहरू फेला परेको बताइएको छ।
 NSW has recorded 919 new locally acquired cases of COVID-19 and two deaths.
Lung Specialist, Doctor Lucy Morgan speaks during a press conference in Sydney, Wednesday, August 25, 2021. Source: Getty Images
आजको पत्रकार सम्मेलनमा सरिक श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ डा लुसी मोर्गनले पनि मानिसहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।

उनी भन्छिन् कि प्राय कोभिड-१९ सङ्क्रमित मानिसहरूलाई रुघाखोकी जस्तै लक्षणहरू देखा पर्छन् जुन बिस्तारै सास फेर्न अफ्ठेरो महसुस हुँदै रिँगटा लाग्ने अवस्थासम्म पुग्न सक्छ।

डा मोर्गनका अनुसार सास फेर्न गाह्रो भयो वा रिँगटा लाग्न थाल्यो भने एम्बुलेन्सलाई बोलाई हाल्नु पर्छ।

“गम्भीर बिरामी हुनबाट रोक्न हामीले सक्दो काम गर्नुपर्छ र यो एकदमै महत्त्वपूर्ण कुरा हो,” उनले भनिन्
“र, खोप लगाउनु गम्भीर रोगको सम्भावनालाई कम गर्ने त्यस्तै एक कदम सावित हुनसक्छ।”
उनले आफूद्वारा उपचारित कुनै पनि गम्भीर बिरामीले कोरोनाभाइरस विरूद्ध खोपका पूर्ण मात्रा नपाइसकेको पनि खुलासा गरिन्।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्ट भन्छिन् कि हाल न्यु साउथ वेल्स भर ११३ जनाको सघन उपचार भइरहेको छ र ती मध्ये ९८ जनाले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्।

भिक्टोरिया

राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीले भिक्टोरियामा जारी पछिल्लो डेल्टा प्रकोपबाट सङ्क्रमित हुनेमा ३० वर्षभन्दा मुनिका राज्यवासीहरूको सङ्ख्या आधा भन्दा बढी रहेको बताएका छन्।

दैनिक कोभिड-१९ अपडेटका क्रममा उनले हाल भिक्टोरियामा सङ्क्रमित सङ्ख्या कुल ५३८ रहेको उल्लेख गर्दै ती मध्ये ३०४ जना ३० वर्षभन्दा पनि मुनिका भिक्टोरियालीहरु रहेको बताएका हुन्।

फोली भन्छन् कि ११४ सङ्क्रमितहरूमा नौ वर्षभन्दा मुनिका बालबालिकाहरू छन्।

हाल राज्यभरका अस्पतालहरूमा ३६ कोरोनाभाइरस सङ्क्रमितको उपचार भइरहेको पनि उनले बताए।

र, उनका अनुसार ती मध्ये नौ जनालाई आइसियुमा भर्ना गरिएको छ।

यसै गरी सात बिरामीहरूको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि फोलीले बताएका छन्।

भिक्टोरियामा गएका २४ घण्टामा ४५ सामुदायिक सङ्क्रमणका मामिलाहरू पुष्टि हुँदै गर्दा उनको उक्त भनाई आएको हो।

पत्रकार सम्मेलनकै क्रममा उपस्थित रहेका भिक्टोरियाली शिक्षा मन्त्री जेम्स मेलिनोले स्कूले पढाइको अन्तिम वर्षमा रहेका सबै विद्यार्थीहरूलाई, उनीहरूको वार्षिक परीक्षाभन्दा अगावै कोभिड-१९ विरुद्ध खोप दिने सरकारको चाहना रहेको बताएका छन्।

अक्टोबर ४ देखि सुरु हुने १२ कक्षाको उक्त परीक्षामा बस्दा विद्यार्थीहरूले कम्तीमा पनि खोपको पहिलो मात्रा पाउन् भन्ने चाहना सरकारले राखेको पनि मलिनोको भनाई छ।

“चाहे त्यो राज्य सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूबाट होस् वा जीपीहरु कहाँ होस् वा खोप कार्यक्रममा भाग लिइरहेका फार्मेसीहरूबाट होस,” उनले भने।
“सोह्र वर्ष र माथिका सबैले - तर विशेष रूपमा १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूले उनीहरूको परीक्षा सुरु हुनुभन्दा अगाडि खोप लगाउन् भन्ने हाम्रो प्राथमिकता हो।”
भिक्टोरियामा १६ र १७ वर्षका उमेरका लागि फाइजर, १८ देखी ३९ वर्षका लागि फाइजर वा एस्ट्राजेनेका र ६० वर्ष माथिका राज्यवासीका लागि एस्ट्राजेनेकाका खोपहरु उपलब्ध रहेका छन्।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

पछिल्लो २४ घण्टामा क्यानबेरामा कोभिड-१९ का थप ९ सामुदायिक सङ्क्रमणका मामिलाहरू पुष्टि भएका छन्।

यसका साथ 

एसीटीमा हाल जारी प्रकोपका कारण सक्रिय सङ्क्रमितहरुको सङ्ख्या १७६ पुगेको छ। 

एसीटीका मुख्यमन्त्री एन्ड्रू बार्र भन्छन् कि आज पुष्टि गरिएका सङ्क्रमितहरू मध्ये आठ जनाको सङ्क्रमण स्रोतको पहिचान भइसकेको छ भने बाँकी एकको बारेमा छानबिन जारी छ।

उनका अनुसार हाल उक्त प्रदेशमा जारी लकडाउन सेप्टेम्बर २ तारिखभन्दा अगाडी अन्त्य हुने छैन।
एन्ड्रू बार्रले लकडाउन हट्दा क्रमिक रूपमा प्रतिबन्धहरू खुकुलो पारिँदै लगिने पनि बताएका छन्।

उनी भन्छन् कि जनजीवन कति हदसम्म सामान्य हुन्छ भन्ने कुरा खोप दरमा निर्धारित हुनेछ।

एसीटीमा जारी प्रकोपलाई सम्बोधन गर्न नर्स, विद्यार्थी नर्स र मिडवाइफ सम्बन्धि पढाई गरिरहेकाहरुलाई तालिम दिइने प्रदेशकी स्वास्थ्य मन्त्री रेचल स्टेफेन-स्मिथको भनाई छ।

उनी भन्छिन् कि खोपको आपूर्ती बढ्ने आसाका बिच यस्तो कदम चाल्न लागिएको हो।

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा गएका २४ घण्टामा कोरोनाभाइरसका कुनै पनि सामुदायिक सङ्क्रमण सम्बन्धी मामिला अगाडी नआएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यस्तै हिजो दर्ता गरिएका दुई सामुदायिक सङ्क्रमणका घटनालाई पनि आज पुनः वर्गीकृत गर्दै सङ्क्रमित नभएका भनी बताइएको छ।

आज बिहान ब्रिसबेनमा बोल्दै प्रिमियर अनास्टेसिया पलाशेले अन्य राज्यबाट क्वीन्सल्यान्ड आउने मानिसहरूलाई आगामी दुई हप्ताका लागि रोक्का गर्ने घोषणा गरेकी छिन्।
अन्य राज्यबाट क्वीन्सल्यान्ड छिर्दा अनिवार्य रूपमा दुई हप्ते क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाका कारण ब्रिसबेनका २२ होटेलहरूमा हाल ५,१०० मानिसहरू रहेको र अब आफूहरूको प्रणालीले थप मानिसहरूको आगमन नधान्ने भन्दै उनले नयाँ नियम लागू गरिएको बताएकी हुन्।

उता, राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङका अनुसार न्यु साउथ वेल्ससँगको सीमा आगामी १० हप्तासम्म बन्द रहन सक्नेछ।

उनी भन्छिन् कि क्वीन्सल्यान्ड र उसको दक्षिणी छिमेकी राज्य न्यु साउथ वेल्स दुवैका खोप दर ७० प्रतिशत सो अवधिसम्ममा पुग्ने आसा छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।




Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand