शुक्रवार जारी गरिएको आँकडा अनुसार पछिल्लो २४ घण्टे गणना अवधिभर अस्ट्रेलियामा कम्तीमा पनि ४० जनाले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाएका छन्।
यसरी मृत्यु हुनेमा १९ जना भिक्टोरियाका र ११ जना न्यु साउथ वेल्सका बासिन्दा थिए।
वेस्टर्न अस्ट्रेलियाले केही समय अघि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका आफ्ना छ राज्यवासीहरूको तथ्याङ्क पनि शुक्रवारको आँकडामा जोडेको छ।
हाल न्यु साउथ वेल्समा ओमिक्रनको बी.१.१.५२९ भेरिएन्ट सबैभन्दा प्रभावशाली कोभिड-१९ भेरिएन्ट रहेको राज्यको स्वास्थ्य विभागले जनाएको छ।
तर, केही हप्ता यता भने बीए.५ भनेर पहिचान गरिएको नमुना धेरै देखिन थालेको बताइएको छ।
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ थिच्नुहोस्।
भिक्टोरियाली स्वास्थ्यकर्मीलाई पनि “बोनस” दिइने
भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजले हिजो बिहीवार राज्यभर कार्यरत स्वास्थ्यकर्मीहरूलाई एक पटकको लागि ३,००० डलर अतिरिक्त भुक्तानी गरिने घोषणा गरेका छन्।
हेल्थकेयर वर्कर विन्टर रिटेन्सन र सर्ज पेमेन्ट भनेर नामकरण गरिएको सो भुक्तानी क्लिनिकल तथा गैर-क्लिनिकल दुवै किसिमका स्वास्थ्यकर्मीहरूलाई गरिने बताइएको छ जसमा सर-सफाइ गर्ने कामदारदेखि खाना व्यवस्थापन गर्ने र लुगा धुने कार्यमा लागेकाहरूलाई पनि परेका छन्।
रात्रिकालीन सिफ्टमा काम गर्नेहरूलाई थप सहायता उपलब्ध गराइने पनि प्रिमियरको भनाई थियो।
“यो सबै, मानिसहरूलाई सम्भव भएमा सिफ्टहरू लिन प्रोत्साहित गर्ने बारे हो,” एन्ड्रुजले भने।
“यो (भुक्तानी) मानिसहरूलाई प्रणालीमा फिर्ता ल्याउने बारे पनि हो। यो (राज्यको स्वास्थ्य सेवामा) चरम दबाब छ भन्ने बारे पनि हो।”
भिक्टोरियाको सार्वजनिक स्वास्थ्य सेवा अन्तर्गत कार्यरत सबै कर्मचारीहरूका अलावा एम्बुलेन्स भिक्टोरियाका कर्मचारीहरू सो ३,००० डलर भुक्तानीका लागि योग्य हुनेछन्।
जुलाई १ तारिखदेखि काम सुरु गरेर सेप्टेम्बर ३० का मितिसम्म पनि कार्यरत स्वास्थ्यकर्मीहरूले “प्रो-रोटा” का हिसाबले उक्त भुक्तानी पाउनेछन्।
भुक्तानी पार्टटाइमा वा क्याजुअल कर्मचारीका हकमा पनि लागू हुने बताइएको छ।
दुई किस्तामा हुने सो भुक्तानीको पहिलो किस्ता अन्तर्गत १,५०० डलर अगस्ट १५ र बाँकी रकम सेप्टेम्बर मसान्तमा हुने जनाइएको छ।

यसरी सार्वजनिक स्वास्थ्य सेवामा काम गर्ने सबैले सो बोनस भुक्तानी पाउने भएता पनि निजी अस्पताल तथा स्वास्थ्य प्रणालीमा काम गर्ने कर्मचारीहरूले भने अतिरिक्त भुक्तानी हाललाई पाउने छैनन्।
अस्ट्रेलियाली नर्सिङ तथा मिडविफ्ररी महासङ्घको भिक्टोरियाली महाशाखाकी सचिव लिसा फिट्जप्याट्रिकले निजी स्वास्थ्य सेवा प्रदायकहरूलाई पनि यसै किसिमको भुक्तानी गर्न युनियनले पहल गर्ने बताउँछिन्।
उनी भन्छिन् कि राज्य सरकारले झैँ निजी स्वास्थ्य सेवा प्रदायकहरूले पनि आफ्नो कर्मचारीहरूको योगदानलाई सह्राना गर्ने बेला हो यो।
राज्यका विपक्षी नेता म्याथ्यु गाइले सरकारले ३,००० डलर दिएर उचित कदम चालेको प्रतिक्रिया दिएका छन्।
यसअघि, न्यु साउथ वेल्समा पनि यसै किसिमको भुक्तानी घोषणा गरिएको थियो।
राज्यका केही खोप केन्द्रहरू बन्द हुँदै गर्दा १० प्राथमिक विद्यालयहरूमा भने समय नलिईकनै सिधै गएर खोप लगाउन मिल्ने व्यवस्था गरिएको छ।
उता, अस्ट्रेलियन क्यापिटल टेरिटरीको निकल्समा रहेको कोभिड-१९ परीक्षण केन्द्र आज दिउँसो ३:५० बजेदेखि स्थायी रूपमा बन्द गरिएको छ। परीक्षणका लागि मानिसहरू मिचेलमा रहेको जाँच केन्द्र जान सक्नेछन्।
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।
