कोरोनाभाइरस अन्तर्गत लागु गरिएको जनस्वास्थ्य सुरक्षा सम्बन्धि कानूनको उल्लङ्घन गरेको आरोपमा उपप्रधानमन्त्री बार्नाबी जोइसलाई न्यु साउथ वेल्स प्रहरी द्वारा २०० डलरको जरिवाना तिराएको छ।
केहि वर्षको अन्तराल पछि पुनः उपप्रधानमन्त्री बनेको एक हप्ता नबित्दै, नेश्नल्स पार्टीका नेता जोइसले आफ्नो निवास स्थान आर्मडेल स्थित एक पेट्रोल पम्पमा पैसा तिर्ने क्रममा बिना मास्क देखिएपछि, स्थानीय समुदायका एक सदस्यद्वारा उनीबारे क्राइमस्टप्पर्स समक्ष उजुरी गरिएको थियो।
यसका उनले साथ् न्यु साउथ वेल्सको जनस्वास्थ्य कानून पालना नगरेको भन्दै प्रहरी द्वारा उनको नाममा २०० डलरको जरिवाना जारि गरिएको एसबीएस समाचारद्वारा पुष्टि गरिएको छ।

राज्यको आपतकालीन संयोजन निकायका अधिकारी, सहायक प्रहरी कमिश्नर ग्यारी वोरबोइस भन्छन् सोमबार जारी गरिएका चवन्न जरिवानाहरु मध्ये जोइसको पनि एक हो।
"उजुरी पछि प्रहरी द्वारा उक्त कदम चालिएको हो। सम्बन्धित व्यक्तिले माफी माग्नुका साथै छानबीनका लागि प्रहरीलाई सहायता पनि गरेका थिए, त्यसपछि जरिवानाको सूचना जारी गरिएको हो," उनले पत्रकारहरुलाई बताए।
कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन बाट रोक्न भन्दै हाल न्यु साउथ वेल्सका निवासीहरुले आफ्नो घर बाहेकका भवनहरु भित्र मास्क लगाउन अनिवार्य रहेको छ। साथै सार्वजनिक यातायातहरुमा पनि उक्त नियम लागु रहेको छ।

