अति नै सङ्क्रमणकारी मानिएको डेल्टा भेरिएन्टको कोरोनाभाइरस फैलँदै जाँदा देशभर नै लकडाउन तथा आन्तरिक सीमाहरू बन्द हुन्।
अघिल्लो महिना दुई साता लामो लकडाउन खेपेको भिक्टोरिया भने उक्त राज्यमा सङ्क्रमणका घटनाहरू बिस्तारै नियन्त्रणमा आउँदै गर्दा अपवादको रूपमा देखा परेको छ।
महामारी सुरु भए यता नै पहिलो पटक सामुदायिक सङ्क्रमण देखा परको नर्दन टेरिटोरीको बृहत् डार्विन क्षेत्र लगायत पाल्मस्टर्न र लिचफिल्ड पनि हाल ४८ घन्टे लकडाउनमा छन्।
उता, निकै प्रभावकारी रूपमा कोभिड-१९ को पहिलो लहरलाई सम्बोधन गरेको वेस्टर्न अस्ट्रेलियाको पर्थ र पील क्षेत्र पनि तीन दिनका लागि कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरूलाई कडा बनाइएका छन्।
यसै बिच साउथ अस्ट्रेलियाले पनि सतर्कताका लागि भन्दै आफ्नो सीमा टास्मेनियावासी र भिक्टोरियावासी बाहेकका लागि बन्द गरेको छ।
अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा रहेको अस्ट्रेलियन क्यापिटल टेरिटोरीले पनि कोरोनाभाइरस छिमेकी राज्य न्यु साउथ वेल्समा बढ्दै गएपछि सार्वजनिक यातायातका साधन र भवन भित्रका लागि भन्दै मास्क लगाउन अनिवार्य गरेको छ।
न्यु साउथ वेल्सको पछिल्लो स्थिति
सोमवार सिड्नीमा आयोजित कोरोनाभाइरस सम्बन्धी पत्रकार सम्मेलनका क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आफ्नो राज्यलाई प्रभावित गरेको डेल्टा भेरिएन्ट एक पटक कसैको घरमा प्रवेश गरेपछि उक्त छानामुनि बस्ने शतप्रतिशत मानिसहरूलाई सङ्क्रमित गर्ने बताएकी छिन्।
"सबैले स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्नु अति नै महत्त्वपूर्ण छ, सङ्क्रमित स्थानहरू बारे थाहा पाउन र तपाईँलाई भनिएको खण्डमा आइसोलेसनमा बस्न र (कोभिड-१९) परीक्षण अवश्य गराउनुहोस्," उनले भनिन्।

यसका साथै आगामी दिनहरूमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुने बारेमा पनि उनले न्यु साउथ वेल्सवासीलाई सतर्क गराएकी छिन्।
उनले लकडाउन प्रभावित क्षेत्रका मानिसहरूले एकदमै जरुरी नभएसम्मका लागि घरबाट सकेसम्म ननिस्कन आग्रह समेत गरिन्।
"मानिसहरूको आवतजावत नहुँदा (सङ्क्रमण नियन्त्रणमा) मद्दत हुन्छ।"
बेरिजिक्लियनले मानिसहरूलाई टेक-अवे वा होम डेलिभरी मार्फत खाना वा अन्य सामाग्री खरिद गर्दा कन्ट्याक्ट लेस माध्यम अपनाउन समेत भनेकी छिन्।

पत्रकार सम्मेलनकै क्रममा राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टले 'आइसोलेट' बारे समुदायमा निकै भ्रम व्याप्त रहेको बताउँदै आइसोलेसनमा बस्न आदेश पाएका मानिसहरूले आफ्नो घरका अन्य सदस्यहरूको संसर्गमा आउनु हुँदैन।
उनले भनिन् कि आइसोलेसनमा बस्न भनिएका मानिसहरूले सम्भव भएसम्म अलग्गै शौचालयको प्रयोग गर्नुपर्छ।
"वास्तवमा आइसोलेसनमा बस्दा तपाईँ अरू मानिसभन्दा एक अलग्गै र एक्लो वातावरणमा बस्नुपर्छ।"
न्यु साउथ वेल्सका प्रहरी कमिस्नर मिक फुलर पनि पत्रकार सम्मेलनका क्रममा राज्यवासीलाई पछिल्लो स्थिति बारे अद्यावधिक गराएका थिए।
उनका अनुसार सोमवार बिहान ११ बजेसम्मको २४ घन्टे समयावधिमा मास्क सम्बन्धी नियमहरूको पालना नगरेको भन्दै ४४ जनालाई कारबाही गरिएको छ।
यसै गरी बिना उचित कारण लकडाउन प्रभावित क्षेत्रमा रहेको आफ्नो निवासबाट अन्यत्र गएका मानिसहरूलाई पनि दण्ड जरिवाना गरिएको फुलरले बताए।

"एक ३३ वर्षीय पुरुषलाई बिना उचित कारण गोलबर्नमा पाइएको थियो, उनलाई १,००० डलरको जरिवाना सम्बन्धी पुर्जी थमाएर घर फर्काइएको थियो," उनले भने।
कमिस्नर फुलरका अनुसार न्यु साउथ वेल्स साउथ कोस्ट स्थित एक तटीय क्षेत्रमा दुई मानिसहरू नग्न रूपमा 'सन बेकिङ' गरिरहेको भेटिएका थिए।
उनीहरूलाई पनि जनही १,००० डलरको जरिवाना पुर्जी थमाइएको फुलरको भनाई थियो।
"नियमको अवज्ञा गर्ने हातको औँलामा गन्न सकिने सङ्ख्यामा मानिसहरू छन्, तर यदि तपाईँले स्वास्थ्य आदेशहरूको उल्लङ्घन गर्नुभयो भने तपाईँ दण्डित हुनुहुनेछ।"
वेस्टर्न अस्ट्रेलियाको पछिल्लो स्थिति

केही बेर अघि पर्थमा आयोजित कोरोनाभाइरस सम्बन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क मक्गावनले गएको २४ घन्टमा आफ्नो राज्यमा थप एक सामुदायिक सङ्क्रमित भेटिएको बताएका छन्।
केस १०२३ नाम दिइएको उक्त सङ्क्रमित पुष्टि भइएकी व्यक्ति ३२ वर्षिया महिला रहेको पनि उनले बताए।
जून्डालुप स्थित मोबियस हेल्थ एन्ड पर्फरमेन्स जीम गएकी ती महिलाको र केस १०२२ बिच निकै कम सम्पर्क रहेका कारण यसलाई निकै चिन्ताको विषय रहेको प्रिमियरको भनाई छ।
साउथ अस्ट्रेलियाको पछिल्लो स्थिति

राज्यका प्रमियम स्टिभ मार्सलले पनि केही बेर अघि एडिलेडमा पत्रकार सम्मेलनको आयोजना गर्दै अति जोखिमपूर्ण भनेर पहिचान गरिएको स्थानहरूमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको घोषणा गरेका छन्।
साथै निजी घर लगायत भवन भित्र हुने भेलामा अधिकतम १५० जनासम्म जम्मा हुनसक्ने नियम पनि पुनः लागू गरिएको मार्सलले बताए।
उनका अनुसार यी लगायत प्रति दुई वर्ग मिटर एक व्यक्ति सम्बन्धी नियम कम्तीमा पनि एक सप्ताहका लागि आज मध्यरातबाट लागू हुने उनको भनाई छ।
नर्रदर्न टेरिटोरीबारे पछिल्लो स्थिति
नर्दर्न टेरिटोरीका मुख्यमन्त्री माइकल गनरले पनि आफ्नो प्रदेशको पछिल्लो अवस्थाबारे पत्रकार सम्मेलन आयोजना गरेका छन्।
प्रदेशवासीसँग क्षमा माग्दै उनले हाल नर्दर्न टेरिटोरीमा जारी लकडाउन थप ७२ घण्टा यानि आगामी शुक्रवार दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको घोषणा गरेका छन्।
समुदाय माथि जोखिम बढेको भन्दै उनले लकडाउनको म्याद थपिएको बताएका हुन्।
गनरका अनुसार प्रदेशमा थप एक व्यक्ति कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्।

आइतबार उनलाई हार्वर्ड स्प्रिङ्ग्स स्थित क्वारेन्टिन केन्द्रमा पठाइनु अघिसम्म ती ५० वर्ष उमेर कटिसकेका व्यक्ति डार्विनमा ३६ घण्टासम्म रहेका कारण समुदायमा कोरोनाभाइरस फैलन सक्ने बारे आफू निकै चिन्तित रहेको गनरको भनाई छ।
ती सङ्क्रमित मानिसको सम्पर्कमा आएका सात अन्य व्यक्तिहरूलाई पनि उक्त क्वारेन्टिन केन्द्रमा राखिएको मुख्यमन्त्रीले जानकारी दिएका छन्।
नर्दर्न टेरिटोरीमा मनाइने 'टेरिटोरी डे' पनि हाललाई स्थगित भएको उनको भनाई छ।
"सुरक्षित अवस्था आएपछि हामी नयाँ मितिको घोषणा गर्नेछौँ," गनरले भने।
प्रदेशको तीन मुख्य स्थानहरूमा लकडाउन लम्बिए पनि एलिस स्प्रिङ्ग्समा भने कुनै प्रकारको प्रतिबन्ध हतारमा नलगाइने पनि उनले बताएका छन्।
क्विन्सल्यान्डबारे पछिल्लो स्थिति

क्विन्सल्यान्डका केही स्थानीय सरकार क्षेत्रहरूमा पनि मास्क लगाउन अनिवार्य हुने भएको छ।
नूसा, सनसाइन कोस्ट, इप्स्विच, लोगन, रेडल्यान्ड्स, मोरटन, ब्रिसबेन, गोल्डकोस्ट, दि सेनिक रिम, लक्यर भ्याली र सोमरसेटका बासिन्दाहरूले मध्यरातदेखि मास्क लगाएर हिँड्नुपर्ने छ।
यसका साथै प्रति चार वर्ग मिटर अधिकतम एक व्यक्ति रहनुपर्ने नियम पनि पुनः लागू गरिएको छ।
क्विन्सल्यान्डकी प्रिमियर अनास्टेसिया पलाशेले आफ्नो राज्यमा देखा परेको कोभिड-१९को पछिल्लो प्रकोप यथाशीघ्र नियन्त्रण गर्न यस प्रकारको प्रतिबन्धात्मक व्यवस्था लागू गर्नुपरेको ब्रिसबेनमा आयोजित एक पत्रकार सम्मेलनलाई बताइन।
