मुख्य बुँदाहरू
- सन् २०२३ मा, जैविक सुरक्षा जाँच सम्बन्धी अधिकारीहरूले देशभरका विमानस्थलहरूमा अस्ट्रेलियाका लागि जोखिमयुक्त मानिने वस्तुहरू सयौँ टनको परिमाणमा जफत गरेका थिए।
- कृषि, वन तथा मत्स्यपालन विभागले जफत गरेका अनौठा चिजहरू मध्ये जीवित जनावरहरू पनि रहेको बताएको छ।
- आफ्नो नजिकको विमानस्थलमा बरामद गरिएको सबैभन्दा अचम्मका वस्तुहरू बारे थाहा पाउन हाम्रो नक्सा हेर्नुहोस्।
कुखुराको आन्द्रादेखि जीवित भ्यागुतासम्म, 'बायोसेक्युरिटी' अर्थात् जैविक सुरक्षा जाँच सम्बन्धी अधिकारीहरूले हरेक वर्ष अस्ट्रेलियाका लागि जोखिमपूर्ण मानिने विचित्र वस्तुहरू सयौँ टनको बराबरीमा जफत गर्छन्।
अस्ट्रेलिया प्रवेश गर्न चाहने व्यक्तिहरूले आफूसँग ल्याएको केही निश्चित खाना, बिरुवा, र पशुजन्य उत्पादनहरू 'डिक्लेयर' गर्नु वा खुलाउनु पर्छ।
बायोसेक्युरिटी अधिकारीहरूलाई नियमहरू उल्लङ्घन गर्न सक्ने सामानहरूको निरीक्षण गर्ने अधिकार दिइएको छ।
सन् २०२३ मा एक करोड ९० लाख यात्रीहरू अस्ट्रेलिया आएका थिए जसमध्ये ७५ लाखले जैविक सुरक्षा जाँच अर्थात् 'बायोसेक्युरिटी स्क्रीनिङ' गर्नुपरेको थियो।
डिपार्टमेन्ट अफ एग्रीकल्चर, फिशरीज एन्ड फरेस्ट्री (डीएएफएफ) भनेर चिनिने कृषि, मत्स्यपालन तथा वन विभागका अनुसार अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यात्रुहरूबाट झन्डै चार लाख वस्तुहरू जफत गरिएको थियो।

त्यस्तै, बायोसेक्युरिटी अधिकारीहरूसँग उपस्थित हुने गरेका तालिम प्राप्त कुकुरहरूले पनि थप ३२,००० सामाग्री फेला पारेका थिए।
डीएएफएफका अनुसार, जैविक सुरक्षा नियमको उल्लङ्घनका कारण सन् २०१९ को अक्टोबरदेखि डिसेम्बर २०२३ बीच २२ वटा भिसा पनि रद्द भएका थिए।
कस्ता प्रकारका सामाग्रीहरू जैविक सुरक्षाका लागि जोखिमपूर्ण मानिन्छ?
मौलिक वनस्पति र जीवजन्तुहरूलाई कीरा, झारपात र रोगबाट जोगाउनका अस्ट्रेलियामा कडा जैविक सुरक्षा नियमहरू छन् र त्यसै सिलसिलामा विमानस्थलहरूमा प्रायः जसो खाद्य सामाग्री बरामद हुने गरेको छ।
सबैभन्दा धेरै सामानहरू सिड्नी र मेलबर्न विमानस्थलमा रोकिएका थिए।
सिड्नीमा, प्रत्येक तीन वस्तुहरू मध्ये एकले जैविक सुरक्षा नियम उल्लङ्घन गरेको पाइएको थियो।
सामान्यतया 'सुटकेस'हरूमा मसला वा मासु जस्ता घरायसी सामाग्री पाइने गरे पनि कहिलेकाहीँ चाहिँ त्यहाँ अनौठा वस्तु पनि फेला पर्छन्।

गत वर्ष ,क्यान्बराका एक बायोसेक्युरिटी अफिसरले भारतको गङ्गा नदीबाट ल्याइएको पवित्र मानिने पानी (गङ्गा जल) आफूसँग ल्याउन खोजेका एक यात्री फेला पारेका थिए।
पर्थबाट देशमा प्रवेश गर्न खोजेका एक यात्रुले केराको रूखलाई त्यसको जरा र माटोसहित आफ्नो झोलामा राखेर ल्याएका थिए।
त्यसै गरी, समुद्री मार्गबाट देश भित्रने सामानको पनि निगरानी गरिन्छ। सन् २०२३ मा जहाजहरूको निरीक्षणको क्रममा धेरै मौसमी कीटहरू भेटिएका थिए।
अस्ट्रेलियाको ७८ अर्ब डलरको कृषि उद्योगलाई जोगाउन जैविक सुरक्षा जाँचको क्रममा यी चीजहरू जफत गर्नु धेरै महत्त्वपूर्ण भएको डीएएफएफले बताएको छ।

"अन्य देशमा समस्या उत्पन्न गरेका कीट र रोगहरूबाट अस्ट्रेलियालाई मुक्त राख्नु एक राष्ट्रको रूपमा हाम्रा प्रमुख कार्यहरू मध्ये एक हो," डीएएफएफका एक प्रवक्ताले एक विज्ञप्तिमार्फत बताएका छन्।
"हाम्रो जैविक सुरक्षा प्रणालीले हाम्रो वातावरण, उद्योगहरू, बोटबिरुवा र मानव स्वास्थ्यलाई विदेशी किट र रोगको जोखिमबाट जोगाउँछ।"
'फुट एन्ड माउथ डिजिज', 'अफ्रिकी स्वाइन फिभर', बोटबिरुवालाई असर गर्ने रोग 'जाइलेला' र अन्नलाई खान अयोग्य बनाउने 'खापरा बीटल' लगायतको फैलावट जोखिम अस्ट्रेलियाका लागि विशेष गरी चिन्ताको विषय हुने गरेको छ।
यी रोग र कीटहरूले अस्ट्रेलियाको बाली र पशु पालन क्षेत्रहरूलाई तहसनहस गर्न सक्छन्, जुन क्रमशः ४६ अर्ब डलर र ३२ अर्ब डलर बराबर छन्।
विभागले चेतावनी दिएको छ कि आफूले जोखिमपूर्ण वस्तु लिएर आएको भनेर नखुलाउनेहरूले ६२६ डलरदेखि ६,२६० डलरसम्मको जरिमाना तिर्नु पर्ने हुन सक्छ।
