अस्ट्रेलियाको जैविक सुरक्षा कानुनले (बायोसेक्युरिटी कानून) हानिरहित देखिने तर यहाँको हाम्रो वातावरण र कृषिमा विनाशकारी प्रभाव पार्न सक्ने केही वस्तुहरूको आयातलाई निषेध गर्दछ।
कृषि, पानी र वातावरण विभागले बायोसेक्युरिटी इम्पोर्ट कन्डिसनस सिस्टम (BICON) मार्फत देशमा आयात गरिएका उत्पादनहरूको नियमन गर्छ।
मुख्य विषयहरू:
- ताजा फलफूल र तरकारी, मासुका उत्पादनहरू, चामल, गेडागुडी, अण्डा र ताजा पानीको माछा जस्ता खाद्य सामाग्रीहरू विशेष अनुमति बिना ल्याउन पाइँदैन।
- व्यावसायिक रूपमा प्याकेज गरिएका बीउहरू र व्यक्तिगत प्रयोगको लागि डाक्टरले प्रेसक्रिप्सन लेखेर दिएका औषधिहरू।
- यदि कुनै यात्रुसँग जैविक सुरक्षालाई हानि पुराउने सामाग्री छ र उनले त्यसको जानकारी दिएनन् या त्यसलाई फालेनन् भने, उनले जरिवाना तिर्न पर्न सक्दछ, या मुद्दा चल्नुका साथै देशमा प्रवेशबाट मनाही पनि गर्न सकिन्छ।
ब्रिस्बेन एयरपोर्टका सञ्चालन प्रबन्धक एलेन सेल्फभन्छन्, देश भित्र ल्याउन पाउने र नपाउने सामग्रीहरूको बारेमा जानकारी राख्न, र त्यस सम्बन्धी कानुनको पालना गर्ने, यात्रुको जिम्मेवारी हो।
विदेशबाट आइपुग्दा, सबै यात्रुहरूले एक इन्कमिंग प्यासेन्जर कार्ड (Incoming Passenger Card) भर्नु पर्छ।
जैविक सुरक्षालाई जोखिममा पर्ने कुनै पनि सामान - जस्तै खाध्य पदार्थ, पशु उत्पादनहरू, बोटबिरुवा र काठका सामग्रीहरू आफू सँग छ भने, उक्त कार्डमा लेख्नु पर्छ।
यस विषयमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
बायोसेक्युरिटी अधिकारीहरूले कार्डमा लेखिएका सामानहरूको निरीक्षण गर्छन् र ती सामानहरू सुरक्षित छन् कि छैनन्, देश भित्र लग्न दिने कि, फिर्ता पठाउने कि, त्यसको विनाश गर्ने भनेर निर्णय गर्छन्।
सेल्फ भन्छन्, अष्ट्रेलियामा धेरै वस्तुहरूलाई अनुमति छ, र विभागले विशेष आयात अनुमति प्रदान नगरेसम्म हानिकारक कीरा र रोगहरू नित्याउने वस्तुहरूलाई निषेध गरिएको छ।
"ताजा फलफूलमा जीवित किराहरू हुन सक्ने भएकाले त्यो लेराउन मनाही छ। यसले हामीकहाँ नभएका रोगहरू निम्त्याउन सक्छ,"सेल्फले भने।
उदाहरणको लागि, केही वर्ष अघि क्वीन्सल्यान्डमा ल्याइएको एउटा फलफूलसँग पपाया फ्रुट फ्लाई आएको थियो, जसले २ करोड डलरको घाटा पुराएको थियो।

अस्ट्रेलिया जनवारसँग सम्बन्धित रोगहरूबाट मुक्त छ - जस्तै खुट्टा र मुखका रोग, एभियन इन्फ्लुवेन्जा एच५एन (avian influenza H5N) र अफ्रिकी स्वाइन ज्वोरो (African swine fever)। यस्ता रोगहरूले महामारी सुरू गर्न सक्छन्, जसले देशको कृषि अर्थव्यवस्था माथि नकारात्मक प्रभाव पार्दछ।
त्यसैले, आफूले कुनै मासुको उत्पादन ल्याएको छ भने, त्यसको बारेमा पहिले नै जानकारी दिनु पर्ने, सेल्फ बताउँछन्।
"सुकेको मासु या सुँगुरको मासुका उत्पादनहरूसँग अफ्रिकी स्वाइन फिभरजस्ता रोगहरू आउन सक्छन्, जसले आर्थिक रूपमा ठूलो घाटा पुराउँछन्," उनले भने।
यस्ता रोगहरू आयो भने उत्पादन कम हुन्छ, सुपरमार्केटमा पाइने उत्पादनहरू गुणस्तर घट्छ, तर त्यो महँगो हुन पुग्छ।
त्यस्तै, यात्रुहरूले ताजा पानीको माछालाई ल्याउन नपाउने उनले बताए - माछा ल्याउने हो भने त्यो नुनिलो पानीको हुनु पर्छ, र तिनको भित्रका सबै अंगहरू निकालिएको हुनु पर्छ।
"ताजा पानीमा पाइने माछाहरू मध्य साल्मन र ट्राउटलाई तिनको हड्डी र अंगहरू निकालेर ल्याउन पाइन्छ। अरू माछाहरू ल्याउने हो भने तिनलाई त्यस्तै गर्नु पर्छ, र १० किलोसम्म मात्र ल्याउन पाइन्छ," सेल्फले जानकारी दिए।

दुग्धजन्य पदार्थ, केक, मह, र समुद्री खानालगायत अन्य खाद्य पदार्थहरूको निरीक्षण गरिन्छ। चामल, दाल र बालीको बीउ जस्ता वस्तुहरू सामान्यतया निजी प्रयोगको लागि देशमा प्रवेश गर्न प्रतिबन्धित छन्।
"चामल, गेडागुडी, जस्तै बीउ, सिमी, चना, भटमास, दाल, मुङ्ग, आदिको उत्पादन अस्ट्रेलियामा निकै राम्रो छ। त्यसैले हामीले यसको निर्यात पनि गर्ने गरेका छौँ। गहुँ, जहुँ, काँचो बदाम जस्ता बीउहरू पनि यही वर्गमा पर्दछन्," उनले भने।
विदेशबाट यही सामान अस्ट्रेलिया ल्याएमा तिनमा रोग देखिन सक्छन्।
कुनै वैध आयात अनुमति बिना, अण्डा, जीवित जनावरहरू, बिरुवाहरू, काटिङ्गहरू, काठका उत्पादनहरू, र अन्य जैविक सामग्रीहरूलाई पनि अनुमति छैन।
यद्यपि, रोप्नको लागि बीउलाई भने अनुमति दिने सम्भावना रहेको, सेल्फले बताए।
"ती बीउहरूको व्यावसायिक रूपमा प्याकेजिङ्ग गरिएको हुनु पर्छ, र तिनको वनस्पति नाम लेखिएको हुनु पर्छ, ताकि हामीलाई जाँच गर्न सजिलो होस्," उनले भने।
रोप्नको लागि बीउ लेराउने हो भने त्यसको बारेमा पहिले नै जानकारी दिनु पर्छ, र हामीले त्यो ल्याउन पाइन्छ कि पाइँदैन भनेर हाम्रो डाटाबेसमा हेर्छौँ।

आफूले ल्याएका सामानको सही जानकारी नदिएमा नतिजा के हुन्छ ?
यी सामानहरू आफूले ल्याएको छु भनेर सुरू मै नभनेमा जरिवाना तिर्नु पर्ने सेल्फले बताए।
"साना जरिवानाहरू ४४४ डलरदेखि सुरू हुन सक्छन्। काठका सामाग्री, टोकरीहरू, आदि, जुनमा किरा, अण्डा, या ताजा अण्डा हुन सक्छन् - ती सामानको लागि ४४४ डलर तिर्नु पर्छ। त्यस्तै, अर्को चरणमा, उदाहरणको लागि फलफूल ल्याएको जानकारी नदिएमा - १३३२ डलरको जरिवाना हुन सक्छ,"सेल्फले बताए।
"जैविक सुरक्षा अधिकारीले ठाउँको ठाउँ नै तिराउन सक्ने सबै भन्दा ठूलो जरिवाना रकम भनेको मासुको उत्पादनको लागि हो - जुन २६०० डलरको जरिवाना हुन्छ।"
जैविक सुरक्षाको लागि हानिकारक हुने सामानहरू कसैले जानकारी बिना भित्राउन खोजेमा, उक्त यात्रुलाई अस्ट्रेलिया भित्रनबाट निषेध गर्न पनि सकिने उनले जानकारी दिए।
यदि कुनै गैर-अस्ट्रेलियाली व्यक्तिले देशमा ल्याउन नपाउने सामानको बारेमा जानकारी नदिइकन ल्याउन खोजेमा, उनको भिसा खतरामा पर्न सक्दछ - त्यो विद्यार्थी भिसा, ४५७ भिसा, ट्रान्जिट भिसा रा पर्यटक भिसा - जुन पनि हुन सक्छ। यस्तै कारणले मानिसहरूको भिसा रद्द गरिएका उदाहरणहरू पनि छन्।
अस्ट्रेलिया आउनु अघि आफूले सामान किन्दा, यो लैजान पाइन्छ कि पाइन्दैन भनेर यात्रुहरू ध्यान दिने पर्ने, अस्ट्रेलियाली सीमा बलका कार्यवाहक अधीक्षक म्याथु रोले बताए।
"अस्ट्रेलियाको सीमा बलका कर्मचारीहरूको काम भनेको, देशको लागि हानिकारक हुने सामाग्रीहरूलाई देशमा प्रवेश गर्न नदिनु हो।हामीले कतिपय समयमा मानिसहरूले विभिन्न किसिमका हतियारहरू लिएर आएको पाएका छौँ," उनले बताए।
"एसियाका विभिन्न ठाउँहरूका विक्रेताहरू यात्रुहरूलाई अस्ट्रेलिया लैजान पाइन्छ भनेर सामानहरू बेच्छन् - तर ती खासमा यहाँ ल्याउन पाइँदैन।"
त्यस्तै, बन्दुक जस्ता हतियारहरू आयात गर्नका लागि गृह मामिला विभागको अनुमति चाहिने उनले बताए।
"हतियारजस्ता सामाग्रीहरू अनुमति बिना अस्ट्रेलियामा ल्याउन पाइँदैन। त्यसैले, हतियार भित्राउनका लागि सम्बन्धित राज्य र प्रहरी बलको अनुमति आवश्यक हुन्छ," उनले बताए।
के मैले औषधीहरू ल्याउन पाउँछु ?
त्यस्तै, निजी प्रयोगका लागि औषधीहरू ल्याउन पाइए तापनि, त्यसको लागि डाक्टरले अंग्रेजी भाषामा लेखिएको प्रेस्क्रिप्शनको आवश्यकता हुन्छ।
आफ्नो सामान भित्राउन पाउने हो कि होइन भनेर थाहा नभएमा इन्कमिंग प्यासेन्जर कार्डमा त्यसको बारेमा लेखेर, अस्ट्रेलियाली सीमा बलका कर्मचारीलाई सोध्नु नै सबै भन्दा उचित हुने रोले बताएका छन्।
कुनै सामान ल्याउन पाइन्छ कि पाइँदैन भन्ने विषयमा तपाईँ अनिश्चित हुनु हुन्छ भने, कार्डमा लेख्नुहोस्। हामीसँग विभिन्न भाषाहरूका कार्डहरू छन्, जसले तपाईँलाई आफ्नो भाषामा जानकारी बुझ्न मद्दत गर्न सक्छ। तपाईँको भाषामा बोल्ने कर्मचारी पनि हामीसँग उपलब्ध हुन सक्छन्।
विदेशबाट नेपाल जाँदा के-के सामान लिएर जान पाइन्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले विदेश गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोगका लागि सामानहरू नेपाल सरकारको नियम अनुसार तोकिएको परिणाममा लगेमा भन्सार महसुल छुट पाउन सक्छन्।
व्यक्तिगत प्रयोगको सुन ५० ग्रामसम्म महसुल तिर्नु पर्दैन, र त्यसभन्दा थप २०० ग्राम लागेमा महसुल लिई जाँचपास गर्न सकिने भन्सार विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै, व्यक्तिगत प्रयोगका लागि ट्याबलेट, ल्यापटप र मोबाइल फोन एउटा भन्दा बढी लागेमा भन्सार महसुल लाग्ने उल्लेखित छ।
मदिरा १ लिटरसम्मको एउटा बोतल भन्दा बढी भएमा जफत गरिने बताइएको छ।
विदेशबाट नेपाल आउने कतिपय यात्रुहरूले अपरिचित वा सामान्य परिचित व्यक्तिको भनाइमा कुनै मालवस्तु ल्याउने गरेको, र भन्सारको जाँचमा ती वस्तु भित्र गहना या अन्य अवैध वस्तुहरू फेला परेका हुनाले उक्त विज्ञप्ति जारी गरिएको हो।
नेपाल जाँदा लैजान पाइने र नपाइने सामाग्रीहरूको विस्तृत जानकारीका लागि भन्सार विभागको वेबसाइटमा हेर्न सक्नु हुन्छ।
अस्ट्रेलिया भित्र के के सामान ल्याउन पाइन्छ र पाइन्दैन भन्ने विषयमा थप जानकारीका लागि कृषि, पानी र वातावरण विभागको वेबसाइटमा जानुहोस्।
यदि तपाईं मादक पेय पदार्थ, चुरोट, विधुतीय उपकरण र गहना जस्ता बहुमूल्य वस्तुहरू ल्याउने योजनामा हुनुहुन्छ भने, अष्ट्रेलियाको गृह मामिला विभागको वेबसाइटमा गई, यसबारे जानकारी लिन सक्नु हुन्छ।
