शोभित पौडेलले भविष्यमा के बन्ने भनेर सोच्न सुरु गरे देखि नै विमान चालकभन्दा अन्य विकल्प सोचेका थिएनन्।
फिलिपिन्स स्थित एसियन इन्स्टिच्युट अफ एभियसनमा पाइलट बन्नका लागि अन्तिम केही महिना बाकि रहँदा चाडै पाइलटको सर्टिफिकेट बोकेर नेपाल फर्कने उनको चाहना छ।
“अव सायद २/३ महिनामा सकिन्छ होला, अनि हामी फर्किन्छौ,” शोभितले भने।
आकाशमा उडेका हवाई जहाजहरूलाई हेरेर एक दिन उडानको पुरा नियन्त्रण आफ्नो हातमा राख्ने योजना बुन्ने गरेका धनगढीका शोभितको उद्देश्यबारे परिवार पनि पूर्ण जानकार थियो।
त्यसैले पाइलटिंगको पढाइका लागि हाल फिलिपिन्समा रहेका शोभितले नेपालको विमान दुर्घटनाबारे समाचार हेरेपछि थाहा पाए।
अनि यस्ता समाचार सुन्दा डर लाग्दैन त? हामीले सोध्यौ।
“डर भन्दा पनि आम मानिसले भनेको जस्तो प्लेन पुरानो छ, सिस्टम खराब छ (भन्ने कुरा) केही हदसम्म सही पनि होला, धेरै हदसम्म पाइलटले राम्रो तालिम पाएको छ भने एभिएसन सेफ नै छ,” उनले भने।
“मेरो प्लान पनि यता बस्ने या अन्य देशमा जागिर खान जाने छैन, परिवार बाटै बाबु नेपालमा नआइज भन्या जस्तो कुरा आउँछ, डेन्जर छ भन्नुहुन्छ, तर त्यस्तो डेन्जर छैन।”
शोभितका बुवा राजेश पौडेललाई पनि यस्ता दुर्घटनाका समाचारले मुटु चिसो बनाउँछ। तर उनलाई छोराको पाइलट बन्ने चाहनाको अगाडी तगारो बन्ने इच्छा पनि छैन।
“डर त लाग्छन् नि, अरूका पनि छोराहरू हुन जो गए (ज्यान गुमाए), डर लाग्छ पिर लाग्छ, तर मेरो छोराले प्लेन नउडाए पनि, अर्कोको छोराले त उडाउँछ, उडाउँछ,” पौडेल भन्छन्।
“मृत्यु भन्ने कुरा, जीवन भन्ने कुरा हाम्रा हातमा छैन कि, भुईँमा हिँड्ने मान्छे पनि त असुरक्षित छ, आकाशमा पनि त त्यही हो।”
दुर्घटनाका समाचार सुन्दा आफूलाई पनि डर लाग्ने बताउने पौडेलले आफ्नो छोराको मनोबल भने गिराउन नचाहेको बताए।
“उ अगाडी बढिसक्यो, उसले कदम अगाडी बढाइसक्यो, यी कुराहरू गरेर उसको मनोबल गिराउनु हुँदैन।”

काठमाण्डौमा एयर होस्टेसको तालिम प्रदायक फ्लाईटेक इन्टरनेशनलमा हाल दैनिक ८० देखि ९० जनासम्म भविष्यमा एयर होस्टेस बन्ने सपनाका साथ तालिम लिन आउने गरेको बताइएको छ।
फ्लाइटेक इन्टरनेशनलकी काउन्सिलर विजया भोपालीले विद्यार्थीहरूमा बेलाबेलामा सुनिने विमान दुर्घटनाको समाचारहरूले खासै विचलित बनाउने नगरेको बताइन।
“उनीहरूले त्यही भन्छन् अब जिन्दगी भनेको भोलिको दिनमा के हुन्छ (थाहा हुँदैन) लेखेको अनुसार भोग्नु पर्छ भनेर खासै डराएर, निराशा भएर आएको जस्तो चैँ मलाइ लाग्दैन,” भोपालीले भनिन्।
विद्यार्थीहरूबाट यस्ता दुर्घटनाहरूलाई लिएर भविष्यमा आफ्नो पनि सुरक्षा चिन्ताहरू व्यक्त भएको नपाएको विजयाको भनाई छ।
उनले डराएर नभएर यही पेसालाई नै आगाल्छु भन्ने दृढ लक्ष्य लिएर आएकाहरू मात्र, तालिम लिन आइपुग्ने गरेको आफ्नो अनुभव सुनाइन।
“होपलेस हुने मान्छेले यो ट्रेनिङ जोइन नगर्ने रहेछ। उनीहरू अलिकति मुटु चाहिँ दह्रो हुने वा भनौँ न जे होस साहसी नै हुन्छन्।”
के नेपालको आकाश चुनौतीपूर्ण छ? हवाई सुरक्षा रिर्पोटले के भन्छ?
नागरिक उड्डयन प्राधिकरणको सन् २०१९/२० को हवाई सुरक्षा रिपोर्टले नेपालको भौगोलिक अवस्था र मौसमी अवस्थामा देखिने विविधतालाई नेपालको उड्डयन क्षेत्रको चुनौतीको रूपमा देखाएको छ।
उक्त अध्ययनले सन् २००८ देखि २०१८ सम्म भएका विमान दुर्घटनाहरूलाई तीन भागमा वर्गीकरण गरेको छ।
कन्ट्रोल्ड फ्लाइट टिरेन (सीएफटी), लस अफ कन्ट्रोल इन फ्लाइट (एलओसीआइ) र रनवे एक्स्कर्सन (आरइ) मध्ये दुर्घटनामा ज्यान गुमाउने हिसाबले सीएफटी सबैभन्दा बढी जोखिमपूर्ण हुने रिपोर्टको निष्कर्ष छ।

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजन पोख्रेल यति एअरलाईन्सको पछिल्लो दुर्घटनाले स्तब्ध बनाएको प्रतिक्रिया दिन्छन्।
आठ महिनाको अवधिमा दुई वटा विमान दुर्घटना हुनुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उड्डयन सुरक्षाको छवि खस्केर गएको उनको भनाई छ।
उनी आफै महानिर्देशक भएको बेलामा आएको सुरक्षा सम्बन्धी रिर्पोटले कन्ट्रोल्ड फ्लाइट टिरेन (सीएफटी) नेपालमा जहाज दुर्घटनाको हिसाबले जोखिम पूर्ण रहेको देखाएको छ।
नेपाल जस्तो भूगोल भएको देशमा सीएफटीका कारण दुर्घटना भएमा घातक हुने पोख्रेल बताउँछन्।
“यो भनेको पाइलटको कन्ट्रोलमा रहेको जहाज उसले नचाहँदा नचाहँदै, पहाडमा ठोक्किनु हो, खराब मौसम भएको अबस्थामा पाइलटहरूले रिस्क लिएको देखिन्छ, गजहरूमा छिरेका बेला, पाइलटले कन्ट्रोल गर्न सक्दैन र ठोक्किएर दुर्घटना हुन्छ,” पोख्रेलले भने।
यस बाहेक लस अफ कन्ट्रोल भनिने विमानमा प्राविधिक कारणले आउने समस्याका कारण पनि दुर्घटना हुने तर नयाँ प्रविधिको विकास भएसँगै यो निकै कम हुँदै भएको पोख्रेलले बताए।
नेपाल भौगोलिक र मौसमी हिसाबले चुनौतीपूर्ण रहेको भए पनि यसलाई बहाना बनाउन नहुने पोख्रेलले बताए।
“त्यही अनुसारको नियम बनाउनु पर्यो, र त्यसलाई कुनै पनि हालतमा पालना गर्नुपर्यो,” पोख्रेल भन्छन्।
“सेप्टी भन्ने कुरा आज हामीले यति गर्यौ भन्ने होइन, अलवेज अलर्ट, अलवेज अवेर र रेगुलेटरको अलवेज सर्भिलेन्स भएपछि मात्र हामी सुरक्षित हुन सक्छौ।”
