न्यु साउथ वेल्समा बिहीवार राती आठ बजेसम्मको गणना अवधिमा ११ जना सङ्क्रमित पुष्टि भएका थिए भने उक्त अवधि पश्चात् थप १७ जनामा पनि कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
अन्य छ सङ्क्रमितलाई भने बुधवारको गणनामा समावेश गरिएको थिएन।
न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले शुक्रवार बिहान सिड्नीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पछिल्लो अवस्थाका बारेमा जानकारी दिएकी हुन्।
उनले उक्त अवसरमा सिड्नीका चार स्थानीय सरकार क्षेत्रहरू (काउन्सिल क्षेत्रहरू) - वूलाहरा, वेभर्ली, र्यानड्विक र सिटी अफ सिड्नी एक सप्ताहका लागि लकडाउनको स्थितिमा गएको घोषणा गरेकी छिन्।
यी क्षेत्रका बासिन्दाहरूले शुक्रवार राती ११:५९ बजे उप्रान्त चार अत्यावश्यक कारणहरूमा बाहेक घरबाट निस्कन हुँदैन।
स्वीकृत गरिएका चार अत्यावश्यक कामहरू:
- शिक्षा
- १० जनाभन्दा कमको समूहमा व्यायाम
- अत्यावश्यक वस्तुको किनमेल
- कारुणिक हेरचाह
विगत १४ दिनको अवधिमा माथि उल्लेखित काउन्सिल क्षेत्रहरूमा पुगेका मानिसहरूका निमित्त पनि लकडाउनका नियमहरू लागू हुने बेरिजिक्लियनको भनाई छ।
यसै गरी प्रिमियरले बृहत् सिड्नी क्षेत्रमा लागू गरिएका अन्य प्रतिबन्धहरू थप एक साताका लागिसम्म लम्ब्याइएको बताएकी छिन्।
तर उनले शुक्रवारको कोभिड अपडेट सम्बन्धी पत्रकार सम्मेलन भने न्यु साउथ वेल्स राज्यका कन्ट्याक्ट ट्रेसरहरूलाई धन्यवाद ज्ञापन गर्दै सुरु गरेकी थिइन्।
ग्लाडिस बेरिजिक्लियनले आज घोषणा भएका सबै सङ्क्रमित तथा तिनका स्रोत पत्ता लगाउन सफल भएको भन्दै कन्ट्याक्ट ट्रेसरहरूलाई धन्यवाद दिएकी हुन्।
यसरी कन्ट्याक्ट ट्रेसरहरूलाई धन्यवाद दिएता पनि 'कुनै कसर बाँकी नराख्न' लकडाउनको घोषणा गर्नुपरेको प्रिमियरले बताएकी छिन्।
"कन्ट्याक्ट ट्रेसिङको हिसाबमा हामीले अपेक्षा गरेभन्दा राम्रै काम गरेका छौँ," उनले भनिन्।
कडा कर्फ्यु नभएर जोखिम अनुसारको कदम रहेको बताउँदै प्रिमियर बेरिजिक्लियनले मानिसहरूलाई त्रसित भएर आफूलाई आवश्यकभन्दा बढी सामानहरू खरिद नगर्न पनि आग्रह गरेकी छिन्।
उक्त पत्रकार सम्मेलनकै क्रममा न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले 'जो बेअली' नामक कपाल काट्ने पसलका कर्मचारी र ग्राहकहरूबारे आफूलाई ठुलो चिन्ता रहेको बताएकी छिन्।
डबल बे नामक स्थानमा रहेको उक्त स्यालोनका कम्तीमा पनि तीन कर्मचारीले उनीहरू सङ्क्रमित अवस्थामा रहेका बेला काम गरेको पनि उनको भनाई छ।
डा. च्यान्ट भन्छिन् कि ती मध्ये एक कर्मचारी उक्त स्यालोन बाहेक फ्रेस नेल्स भन्ने नङको काम हुने पसल, लाइफ क्याफे र ट्रोपिकाना क्याफेमा सङ्क्रमणका लागि जिम्मेवार छन्।

ती कर्मचारी सङ्क्रमित अवस्थामा रहेका बेला ९०० भन्दा पनि बढी ग्राहकहरूले जो बेअलीबाट सेवा पाएकाले आउँदा दिनहरूमा थप सङ्क्रमणका मामिलाहरू फेला पर्न सक्ने पनि उनले बताएकी छिन्
"आगामी दिनहरूमा थप सङ्क्रमणका मामिलाहरू भेटिने मेरो अनुमान छ र म जो बेअलीका सबै ग्राहक तथा कर्मचारीहरू जो १५ जुनदेखि २३ जुनका बिचमा उक्त स्थानमा थिए, उहाँहरू सबैलाई परीक्षण गराउन अनि न्यु साउथ वेल्स हेल्थको निर्देशन अनुसार क्वारेन्टिनमा बस्न आग्रह गर्छु," राज्यकी प्रमुख स्वास्थ्य अधिकारीले भनिन्।
सङ्क्रमित स्थानहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनै गएकाले पनि लकडाउनको घोषणा गर्नुपरेको डा. च्यान्टको भनाई थियो।
"यो स्थितिलाई सबैभन्दा चाँडो नियन्त्रण गर्ने उपाय भनेकै यस्तो कदम उठाउनु हो," उनले स्पष्ट पार्दै भनिन्।
"हाम्रो एक्सपोजर सूची लामो हुँदै गएको तथ्य र ती स्थानहरूमा सङ्क्रमणको पुष्टि हुनु नै यसको कारण हो।"

राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भने न्यु साउथ वेल्सको विमानस्थलमा यातायात तथा क्वारेन्टिनसँग सम्बन्धित सबै कामदारहरूका लागि नयाँ स्वास्थ्य निर्देशिका जारी गरेका छन्।
उनको उक्त आदेशानुसार शुक्रवार अपराह्न ४ बजे उप्रान्त सबै कामदारहरूले अनिवार्य रूपमा मास्क लगाएकै हुनुपर्ने छ।
आदेश नमान्ने कामदहरूले ११,००० डलरको जरिवानाका साथै अधिकतम ६ महिनासम्मको कारावास सजाय भोग्नुपर्ने मन्त्री हाजार्डले बताएका छन्।
"यी निर्देशन पुरा नगर्न कुनै बहाना चल्ने छैन," उनले चेतावनी दिँदै भने।
न्यु साउथ वेल्सको सङ्क्रमित स्थानहरूको अद्यावधिक सूचि यहाँ उपलब्ध छ।
