एकै पटक हजारभन्दा बढी यात्रुहरू बोक्ने सिड्नीको ट्रेन पहिलो पटक कुदाउन पाउँदा चालकको सिटमा बसेकी प्रतिभा पाठकसँग कार चलाउने पूर्ण अनुमति पत्र अर्थात् 'फुल लाइसेन्स' पनि थिएन।
यद्यपि प्रतिभाले पुरुषहरूको वर्चस्व रहने ट्रेन ड्राइभरको पदमा आफूलाई स्थापित गरेकी छिन्।
पाठकको ट्रेन चालकको रूपमा पहिलो यात्रा सुरु भएको थियो, सन् २०२० मा, जुन सेन्ट्रल हुँदै ब्याङ्क्सटाउन र लिभरपूलसम्म थियो।
सिड्नीको म्क्वेरी युनिभर्सिटीबाट अकाउन्टिङ विषयमा स्नातकोत्तर गरेकी पाठकले अस्ट्रेलिया आएको सात वर्ष पनि नपुग्दै आफूले ट्रेन चलाउँछु भनेर कहिले कल्पना नगरेको बताउँछिन्।
तर ट्रेन सम्बन्धी कौतुहलता भने आफूमा पहिलेदेखि नै रहेको उनको भनाइ छ।
“नेपालमा कहिले पनि ट्रेन नचढेको मान्छेलाई, म युनिभर्सिटी वा काममा जाँदा, अनि ट्रेन चढ्दा यो कसरी अपरेट भइरहेको छ भन्ने लागिरहन्थ्यो,” उनले बताइन्।

सन् २०१४ मा अस्ट्रेलिया आएकी पाठकले अकाउन्टिङ सम्बन्धी काम गर्दा गर्दै सिड्नी ट्रेन्समा एक गार्ड बन्ने अवसर पाइन्।
तर ट्रेन गार्ड भएको आठ महिना पछि नै आफ्नो म्यानेजरले 'ट्रेन ड्राइभिङ'मा जान प्रोत्साहित गरेको पाठकले बताइन्।
म ट्रेन गार्ड झन्डै आठ महिना भइसके पछि मलाई मेरो म्यानेजरले एक दिन के भन्नुभयो भने, प्रतिभा अब यो चाहिँ राइट टाइम हो तिमी ट्रेन ड्राइभरको रोलमा जान, तिमीले गर्न पनि सक्छौ भनेर वहाँले मलाई धेरै नै मोटिभेट गर्नु भयो। त्यस पछि मैले अप्रिल सन् २०१९ मा ट्रेनी ट्रेन ड्राइभरको कोर्स सुरु गरेँ।प्रतिभा पाठक
त्यसपछि आएको मौकालाई पाठकले जान दिइनन् र अहिले उनी १६२ मिटर लामो ट्रेन डोर्याउँदै सिड्नीका विभिन्न दिशामा पुग्ने गरेकी छिन्।
आफूले पढेको भन्दा फरक क्षेत्रको पेसा रोज्नुको कारण भने नयाँ कुरा गर्न सिक्ने जिज्ञासा रहेको उनी बताउँछिन्।
“यो नयाँ चिज के रहेछ त? लेट्स गिभ ईट अ गो,” भन्ने भावनाबाट आफू प्रेरित भएको उनले बताइन्।
नेपालमा आफूले जे पढ्यो, त्यहीसँग रिलेटेड काम नै खोज्ने भन्ने हुन्छ, तर अस्ट्रेलियामा आफूले गर्ने चाहेको खण्डमा जे पनि गर्ने सकिन्छ भन्ने प्ल्याटफर्म छ।प्रतिभा पाठक
ट्रेन ड्राइभरको रूपमा काम गर्दा केही चुनौतीहरू पनि रहेको उनको भनाइ छ।
जटिल विषयहरू सम्बन्धित निकाय र व्यक्तिहरूसँग बुझ्ने प्रयास गरी आफू त्यसबारे जानकार हुने पनि कामको लागि चाहिने एक सीप रहेको उनी बताउँछिन्।
"कहिले ट्रेनमा केहि प्रब्लम आइपर्छ, त्यो कुरालाई सर्ट आउट गर्ने च्यालेन्ज हुन्छ। कहिले कहीँ नेटवर्कमा केहि प्रब्लम पर्यो भने पोइन्ट ए देखि पोइन्ट बीसम्म सबै प्रोटोकल फलो गरेर कसरी लाने भन्ने च्यालेन्ज हुन्छ," उनले बताइन्।
"सधैँ अप टु डेट बस्नु पर्ने हुन्छ, नयाँ रुल्स र रेगुलेसन हरेक दिन आइराख्छ। मैले सबै कुरा पढेर जानु पर्यो, बुझेर जानु पर्यो। बुझ्न सकिनँ भने सम्बन्धित निकाय कता हो त, त्यो विषयमा, त्यो बुझेर अगाडी जानु पर्यो।"

हजारौँ यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुराउन पाउँदा भने आफूलाई निकै खुसी लाग्ने पाठकको भनाई छ।
खास गरी, यात्रुहरूले गन्तव्यमा पुर्याइदिएकोमा धन्यवाद दिँदा विशेष महत्त्व राख्ने उनले बताइन्।
"मलाई एकदमै खुसी कुन बेला लाग्छ भन्दा खेरी प्ल्याटफर्ममा आउँदा गरेको बेलामा साना बच्चाहरूले एकदम वेभ गर्नुहुन्छ, त्यो रमाइलो लाग्छ," उनले भनिन्र्को।
"अर्को कुरा चाहिँ हामीले कतै गएर, फर एक्जाम्पल, म हर्न्सबी पुगेर, त्यहाँबाट ट्रेन फेरी लगेर, राखेर, मैले फेरी फिर्ता ल्याउनु पर्ने क्रममा मान्छेहरूले आएर थ्याङ्क यु भन्दिँदा एकदमै खुसी लाग्छ।"

ट्रेन ड्राइभरको पदमा पुरुषहरूको सङ्ख्या अधिक रहे तापनि अहिले महिलाहरू पनि ठुलो सङ्ख्यामा आउन थालेको पाठक बताउँछिन्।
अनि सँगैसँगै, आफू महिला भएकोमा कसैले आफ्नो क्षमतामा प्रश्न नउठाएको उनले बताइन्।
ट्रान्सपोर्ट फर न्यु साउथ वेल्स र यसका कर्मचारीहरूले आफूलाई सधैँ अघि बढ्न हौसला दिएको उनी बताउँछिन्।
"सिड्नी ट्रेन्समा मैले ट्रेन ड्राइभर अथवा ट्रेन गार्ड काम गर्दा खेरि मैले एकदमै वेल्कम्ड फिल गरेँ," पाठकले भनिन्।
मेल डोमिनेटेड इन्डस्ट्री भए पनि धेरै जना फिमेल हुनुहुन्छ। मलाई कसैले पनि तिमि फिमेल ड्राइभर हो, म्यानेज गर्न सक्दैनौ होला कि जस्तो एटिट्युड चाहिँ मैले कतै बाट पाइनँ। त्यस माथि हामीलाई अझै इन्करेज गरिन्छ, संस्था भित्र अझै ठुलो-ठुलो रोलहरूमा जान पनि इन्करेज गरिन्छ।प्रतिभा पाठक
नेपाली समुदायले पनि आफूलाई निकै प्रोत्साहन दिएको बताउँदै, कुनै पनि कार्यमा सफल हुन मेहेनत नै प्रमुख तत्त्व रहेको पाठकको भनाइ छ।
