
This article is more than 3 years old
नेपाली सहितका आप्रवासी कामदारहरूलाई कम तलब दिने दुई जना विरुद्ध मुद्दा दायर
पाँच आप्रवासी कामदारहरूलाई कूल १२५,००० डलरभन्दा बढी तलब ठगी गरेको आरोपमा अम्बड्समनले टिमोथी ब्याक्सटर चेम्बर्स र क्रेग रिचर्ड सिम्सन विरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो।
फेयरवर्क अम्बड्समनका अनुसार उक्त कम्पनीले अबर्न स्थित मर्मत केन्द्रमा सरसफाइको काम गर्न उप-ठेक्का पाएको थियो।
टाट पल्टिएपछि प्रोक्लीन एचक्यु पीटीवाई लिमिटेडले सन् २०२१ मा आफ्नो कारोबार बन्द गरेको बताइएको छ।

अबर्न मर्मत केन्द्रमा रेखदेखको कामका लागि जिम्मा पाएको कम्पनीले, त्यहाँ कार्यरत केही कामदारहरूले कम तलब पाएको चिन्ता व्यक्तै गर्दै आफूलाई सम्पर्क गरेपछि, एक विज्ञप्ति मार्फत अम्बड्समनले छानबिन सुरु गरेको जानकारी दिएको हो।
कम्पनी सञ्चालनमा नरहेकाले उक्त संस्थाका दुई पूर्व निर्देशकहरू विरुद्ध मुद्दा दायर गरिएको पनि अम्बड्समनको भनाई छ।
अम्बड्समनको आरोप
प्रोक्लीन एचक्यु पीटीवाई लिमिटेडमाथि, नेपाली तथा श्रीलङ्काली कामदारहरूलाई आफ्नो कर्मचारीको सट्टा आफूले सरसफाइका लागि ठेक्का दिएको ‘इन्डिपेन्डेन्ट कन्ट्राक्टर’ भनेर, बहाना बाजी गरेको कथित आरोप छ।
उक्त कम्पनीले ती कामदारहरूलाई सन् २०१८ को फेब्रुअरीदेखि सन् २०१९ को अप्रिलसम्म गरेको काममा उनीहरूले पाउनुपर्ने रकमभन्दा कूल १२५,५६५ डलर कम भुक्तानी गरेको फेयरवर्क अम्बड्समनको भनाई छ।
मुख्य रूपले विद्यार्थी भिसामा अस्ट्रेलियामा रहेका ती कामदारहरूको उमेर उक्त समय १९-२० वर्षको हाराहारीमा रहेको पनि बताइएको छ। बाँकी कामदारहरू भने ‘पोस्ट स्टडी’ भिसामा थिए।

उप-ठेक्का पाएको उक्त कम्पनीले ती कामदारहरूलाई ‘इन्डिपेन्डेन्ट कन्ट्राक्टर’का रूपमा गलत व्याख्या गर्दा, उनीहरू अस्ट्रेलियन बिजनेस नम्बर ‘एबीएन’ लिन र प्रतिघण्टा २० देखि २२ डलर ‘फ्ल्याट रेट’, सम्झौता पत्रमा सही गर्न बाध्य भएको पनि आरोप अम्बड्समनको छ।
फेयरवर्क ऐन अन्तर्गत आफूले पाएको काम फेरी ठेक्कामा अरू कसैलाई दिन नपाउनु, कम्पनीले तोकेकै समयमा र कम्पनीको निर्देशन अनुसार काम गर्नुपर्ने बाध्यता ती कामदारहरूको रहेकाले उनीहरू उक्त संस्थाको ठेकेदारको सट्टा कर्मचारीकै रूपमा वर्गीकृत सही हुनुपर्ने जिकिर अम्बड्समनको छ।
यिनै निष्कर्षको आधारमा अम्बड्समनले ती पाँच जना कामदारहरूले क्लिनिङ सर्भिसेस अवर्ड २०१० ले प्रत्याभूत गरेको सुविधाहरू कानूनी रूपमा पाउनुपर्ने भनेको हो।
सरसफाइको काम गर्ने कामदारहरूको दायित्व र अधिकारहरू उल्लेखित सो दस्ताबेजका अनुसार सार्वजनिक छुट्टीका दिनहरूमा ती कामदारहरूले कथित रूपमा प्रतिघण्टा ५५ डलरसम्म तलब पाउनुपर्ने भनाई पनि अम्बड्समनको छ।
यसै गरी, ती कामदारहरूलाई कानूनी रूपमा उनीहरूले कम्तीमा पनि पाउनुपर्ने तलब, क्याजुअल लोडिङ, सप्ताहान्त र सार्वजनिक बिदाका दिनहरूमा काम गर्दा प्राप्त हुनुपर्ने लगायतका थप सुविधाहरू बापत भुक्तानी कथित रूपमा नदिइएको आरोप पनि नियामक संस्थाको छ।
अम्बड्समनका प्राथमिकता
जोखिममा रहेका कामदार, बहाना बाजी गरेर ठेक्कामा काम गर्ने-गराउने र सरसफाइ क्षेत्रमा अनुगमन आफ्नो प्राथमिकतामा परेका प्रमुख विषयहरू रहेको फेयरवर्क अम्बड्समन सान्ड्राले बताइन्।
उनी भन्छिन् कि ‘शाम कन्ट्राक्टिङ’ भनिने बदनियत राखेर बहाना बाजी गर्दै कामदारहरूलाई ठेक्कामा काम दिन चलन निकै गम्भीर कार्य हो।
“किनभने (‘श्याम कन्ट्राक्टिङ’मा) रोजगारदाताले जानीजानी वा लापरबाहीपूर्वक, कामदारहरूलाई खासमा प्राप्तभन्दा उनीहरूसँग कम कानूनी अधिकारहरू छन् भनी गलत व्याख्या गर्ने गर्छन्,” पार्कर भन्छिन्।
“र, यो प्रायः गरेर कमजोर कामदारहरूको शोषणसँग सम्बन्धी हुन्छ।”

अम्बड्समन पार्करले आफू यस्ता घोका धडी पूर्ण काम गर्ने रोजगारदाताहरू विरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि दिएकी छिन्।
साथै, आफ्नो अधिकार र दायित्वहरू बारे बुझ्नुपरे कामदार तथा रोजगारदाताहरूलाई फेयरवर्क अम्बड्समनलाई नि:शुल्क सल्लाह तथा सहयोगका लागि सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छिन्।
ब्रिसबेन स्थित सङ्घीय अदालतमा निर्देशनात्मक सुनुवाइ हुने भएता पनि हाल त्यसबारे मिति तोकिसकिएको छैन।
साथै फेयरवर्क अम्बड्समनका अनुसार सिड्नी ट्रेन्स वा अबर्न मर्मत केन्द्रको सञ्चालन गर्ने जिम्मा पाएका अन्य कुनै कम्पनीले केही गलत काम गरेको आरोप छैन।
- फेयरवर्कलाई सम्पर्क गर्न १३ १३ ९४ मा फोन गर्नुहोस् वा www.fairwork.gov.au जानुहोस्। दोभासे सेवा आवश्यक छ भने पहिले १३ १४ ५० मा फोन गर्नुहोस्।
- कन्ट्राक्टरका रूपमा काम गर्ने गराउने बारे आफ्नो अधिकार तथा दायित्वहरू बुझ्न यहाँ थिच्नुहोस्।
- विद्यार्थी लगायतका भिसामा काम गर्ने मानिसहरूले आफ्नो अधिकारहरू बारे जान्न यहाँ थिच्नुहोस्।