SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: स्कुल संचालन यथावतै तर बालबालिका घरैमा राख्न आग्रह

न्यु साउथ वेल्सकी प्रिमियरले राज्यभरका विद्यालयहरू हाललाई यथावतै सञ्चालनमा रहने भएता पनि अभिभावकहरूलाई आ-आफ्ना बालबच्चाहरूलाई घरैमा राख्न प्रोत्साहन गरेकी छिन्।

Premier Gladys Berejiklian
Gladys Berejiklian, premiê de NSW, pediu aos pais que mantenham os filhos em casa mas manteve as escolas abertas Source: AAP

2 min read

Published

Updated



Skip to article content

सोमवार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले, राज्यमा बढ्दो कोभिड-१९ का मामिलाहरूलाई ध्यानमा राख्दै उक्त अनुरोध गरेकी हुन्।

बितेको हप्तामा मात्र, न्यु साउथ वेल्स राज्यका करिब ३० प्रतिशत अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई घरैमा राखेको पनि बेरिजिक्लियनको भनाई थियो।

आजको आफ्नो धारणा सार्वजनिक भएपछि यो सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा आफूहरूले लिएको पनि उनले बताइन्।

“स्कुल पठाउनुको कुनै विकल्प नरहेका अभिभावकहरूलाई म भन्न चाहन्छु कि स्कुल जानु विद्यार्थीहरूको लागि सुरक्षित छ। स्कूलहरू खुल्ला छन् र स्कूलबाट कोही विद्यार्थीलाई फर्काइने छैन,” ग्लाडिस बेरिजिक्लियनले भनिन्।

“अब ३० प्रतिशत अभिभावकहरूले निर्णय आफ्नै हातमा लिइसकेको अवस्थामा हामीले यो स्वास्थ्य निर्देशनको पालना गर्नु सबैभन्दा राम्रो मार्ग हो जस्तो लाग्छ।”

न्यु साउथ वेल्समा कोभिड-१९ का कारण हालसम्म ६६९ जना सङ्क्रमित भइसकेको त्यहाँका अधिकारीहरूले पुष्टि गर्दै गर्दा प्रिमियर बेरिजिक्लियनको उक्त भनाइ आएको हो।

यता, छिमेकी राज्य भिक्टोरियामा भने आगामी शुक्रवारदेखि सुरु हुने भनिएको छुट्टीलाई मङ्गलवारदेखि लागू हुने गरी अगाडी सारिएको राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now