SKIP TO MAIN CONTENT

वृद्ध स्याहार क्षेत्र सुधार हुँदै, नर्सिङ होममा काम गर्ने कर्मचारीहरूलाई डिमेन्सिया तालिम दिइने

वृद्ध स्याहार शाही आयोगको अन्तरिम प्रतिवेदन माथि आफ्नो प्रतिक्रिया स्वरूप सङ्घीय सरकारले उक्त क्षेत्र सुधार गर्न भन्दै ५३ करोड ७० लाख डलरको प्रतिबद्धता जनाएको छ।

scott morrison
Source: AAP

3 min read

Published

Updated



Skip to article content

प्रधानमन्त्री स्कट मरिसनले सोमबार वृद्ध स्याहार क्षेत्र सुधारका लागि एक प्याकेजको घोषणा गर्दै नर्सिङ होममा काम गर्ने कर्मचारीहरूलाई डिमेन्सिया तालिम प्रदान गरिने बताएका छन्।

“म फेरी पनि के भन्न चाहन्छु भने, हामी कहाँ जेष्ठ अस्ट्रेलियालीहरूको आदर गर्नै पर्ने संस्कृतिको विकास हुनु अत्यन्त आवश्यक छ,” उनले भने।

वृद्ध स्याहार केन्द्र माथि लामो समयसम्म अनुसन्धान गरेको शाही आयोगले केही हप्ता अगाडी आफ्नो अन्तरिम प्रतिवेदन जारी गरेको थियो।

उक्त शाही आयोग समक्ष बयान दिने क्रममा यूनाइटिङ्ग केयर अस्ट्रेलियाकी राष्ट्रिय निर्देशक क्लेरवेन लिटलले मानिसहरू वृद्ध स्याहार केन्द्रमा भर्ना हुनु भन्दा मर्नै ठिक ठान्ने गरेको खुलासा गरेकी थिइन।

लिटलका अनुसार, मानिसहरूले वृद्ध स्याहार केन्द्र जाने आफ्नो अवस्था नहुन्जेल त्यसबारेमा सोच्दै सोच्दैनन्। त्यसै गरी उनीहरूलाई वृद्ध स्याहार प्रणालीबारे राम्रो ज्ञान नरहेको पनि उनले बताइन।

“दु:खकासाथ भन्नुपर्छ, केही व्यक्तिहरू वृद्ध स्याहार केन्द्रमा भर्ना हुनुको साटो मर्न तयार छन्,” उनले आफ्नो बयानका क्रममा भनेकी थिइन्।

लिटलले त्यस्ता स्याहार केन्द्रहरूका नियमहरू केही मात्रामा खुकुलो बनाइनुपर्नेमा पनि जोड दिएकी छिन्। उनका अनुसार स्याहार केन्द्रहरूमा भर्ना हुने मानिसहरूलाई स-सानो जोखिमहरू उठाउने अधिकारका साथ-साथै आफ्नो बाँकीको जीवन कसरी व्यथित गर्ने भन्ने बारे निर्णय गर्ने अधिकार दिनु आवश्यक छ।

“हाल प्रचलनमा रहेका नियमहरू निकै कठोर छन्। तिनले मानिसहरूलाई के खान पाउने-नपाउने, कति बजेसम्म उठिसक्नुपर्ने र के-कस्ता लुगा लगाउने निर्धारण गर्दछन्। यसमा केही सरलता ल्याउनु जरुरी छ।”

उता, क्याथोलिक हेल्थ अस्ट्रेलियाका निकोलास मर्सिआदेसले भने, “वृद्ध स्याहार केन्द्रहरू प्रति रहेको आम धारणामा बदलाव ल्याउनु निकै जरुरी भइसकेको छ।”

“यदि तपाईँ कुनै भोजमा जानुभयो र वृद्ध स्याहार केन्द्रमा काम गर्छु मात्र पनि भन्नुभयो भने अरूहरू अचम्म मानेर तपाईँलाई हेर्छन्। हामीले यसको प्रतिष्ठामा आँच आउने सबै तत्त्वहरूलाई हटाउनै पर्छ," उनले प्रस्ट पार्दै बताए।

मरिसनले घोषणा गरेको योजना अनुसार १०,००० होम केयर प्याकेजहरू पनि थपिने, उत्तेजना घटाउन प्रयोग हुने औषधीको अति आवश्यक परेको खण्डमा मात्र स्याहारमा रहेकालाई दिन पाइने र हेरचाह आवश्यक भएका कम उमेरका मानिसहरूलाई एज्ड केयर होमहरूबाट सम्भव भएसम्म हटाइने छ।

“वृद्ध अस्ट्रेलियालीहरूलाई हामीले अझ राम्रो सेवा दिन सक्दो गर्नुपर्छ,” मरिसनले भने।

“अस्ट्रेलियामा बस्ने सबै जना जस्तो हामी पनि (उक्त) अन्तरिम रिपोर्टबाट बाहिर आएको तथ्यहरूबाट हैरान भएका थियौँ। तर अब, सबैभन्दा उच्च कोटीको वृद्ध स्याहार प्रणाली निर्माण गर्न हामी सम्भवभएसम्म जे पनि गर्नेछौँ।”

आगामी वर्षदेखि मानसिक रोगका पीडितहरूलाई दिइने एन्टी-साइकोटिक औषधीहरूको प्रयोगमा पनि कडा प्रतिबन्धहरू निम्त्याउने सरकारी योजना छ।

एनडीआइएस मन्त्री  स्टुअर्ट रोबर्टका अनुसार सरकारले सन् २०२२ सम्ममा ४५ वर्ष भन्दा कम उमेरका मानिसहरूलाई नर्सिङ होमहरूबाट हटाउने छ। यसका साथै, कम उमेरका अस्ट्रेलियालीहरूलाई वृद्ध स्याहार केन्द्रहरूबाट हटाउन समय सीमाहरू पनि तोकिएको छ:

  • ६५ वर्षभन्दा कम उमेरका कोही व्यक्ति पनि आवासीय स्याहार केन्द्रहरूमा सन् २०२२ पछि भर्ना हुने छैनन्
  • ४५ वर्षभन्दा कम उमेरका कोही व्यक्ति पनि आवासीय स्याहार केन्द्रहरूमा सन् २०२२ पछि बसेका हुने छैनन्
  • ६५ वर्षभन्दा कम उमेरका कोही व्यक्ति पनि आवासीय स्याहार केन्द्रहरूमा सन् २०२५ पछि बसेका हुने छैनन्

एज्ड केयरमा नेपाली संलग्नता

Nurses of Nepali origin
Source: Facebook

नर्सिङ पढाइ सकेर अस्पताल वा वृद्ध स्याहार केन्द्रहरूमा काम गर्ने केही नेपाली पृष्ठभूमिका नर्सहरूले यस क्षेत्रमा आफ्नै व्यवसायको समेत थालनी गरेका छन्।

भर्खरै नेपाली पृष्ठभूमिका नर्सहरूले पनि आफैँले नै स्वास्थ्य क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

सिड्नी निवासी उषा नेपाल र राधिका शर्माले हेल्प अन ह्विल्स भन्ने निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई नेतृत्व प्रदान गरिरहेका छन् भने एसए डिस्याबिलिटि नामक संस्थाका संस्थापक मध्येका हुन् दक्षिण अस्ट्रेलियाका कमल दाहाल र लोक पौडेल। यस बारे सुनिता पोखरेल र इन्द्र अधिकारीको थप रिपोर्ट पढ्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now