SKIP TO MAIN CONTENT

कोभिड-१९ खोप कार्यक्रममा आबद्ध हुने जीपी क्लिनिकहरूको सङ्ख्या दोब्बर हुँदै

अस्ट्रेलियाको कोरोनाभाइरस खोप कार्यक्रममा संलग्न हुने क्लिनिकहरूको सङ्ख्या यो हप्ताको अन्त्यसम्ममा दुई गुणा वृद्धि हुँदै ३,००० पुग्ने बताइएको छ।

COVID-19 Vaccine AstraZeneca, inoculation
Source: SBS Greek/A. Logothetis

3 min read

Published

Updated



Skip to article content

महिनाको आखिरीसम्ममा अरू १,००० स्वास्थ्य क्लिनिकहरू कोभिड-१९ विरुद्ध जारी राष्ट्रिय खोप अभियानमा थपिएपछि भने यो सङ्ख्या ४,००० पुग्ने भएको हो।

नयाँ थपिने खोप केन्द्रहरूमा जीपी क्लिनिकहरूसँगै सङ्घीय सरकारबाट अनुदान प्राप्त श्वासप्रश्वास क्लिनिकहरू र एबोरिजिनी स्वास्थ्य सेवा प्रदायकहरू समावेश हुनेछन्।

कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारी माइकल कीडले सोमवार क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै भने कि गएका दुई हप्तामा जीपी भनिने साधारण चिकित्सकहरूले अस्ट्रेलियाको खोप कार्यक्रमलाई तीन गुणा बढी मानिसहरूसम्म पुर्‍याउन सफल भएका छन्।

"अन्य खोप वितरण केन्द्र तथा टोलीहरूसँग काम गर्दै, गएका दुई हप्तामा हाम्रो देशका जीपीहरूले दुई हप्ता तीन गुणा बढी खोप लगाउँदै प्रति हप्ता २५०,००० मात्राबाट अघिल्लो साता ८४०,००० डोज लगाउन सफल भइसकेका छन्।

"अब दिनहुँ र हप्तै पिच्छे यो सङ्ख्या बढ्नेछ।"

इस्टर सप्ताहान्त सुरु हुनु अघि - गत बिहीबार मात्र रेकर्ड तोड ७९,००० जनालाई खोप लगाइएको थियो।

Acting Chief Medical Officer Michael Kidd.
Acting Chief Medical Officer Michael Kidd. Source: AAP

प्राध्यापक कीडले मानिसहरूलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइदिने आफू नजिकैका स्वास्थ्य केन्द्र तथा जीपी क्लिनिकहरूको बारेमा अद्यावधिक रहन स्वास्थ्य मन्त्रालयको वेबसाइट जान सल्लाह दिएका छन्।

उता, अस्ट्रेलियाको खोप कार्यक्रम निकै सुस्त गतिमा रहेको भन्दै आलोचना खप्न बाध्य मोरिसन सरकारले यसो हुनुमा अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थालाई दोष दिएको छ।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् कि आस्ट्राजेनेका खोप मेलबर्न स्थित सीएसएलको कारखानाबाट स्थ‍ानिय रूपमा उत्पादन हुन सुरु भइसकेकाले अब द्रुत रूपमा खोप वितरण कार्य अगाडी बढ्नेमा आफू विश्वस्त रहेका छन्।

त्यसै गरी गठबन्धन सरकारको साझेदार नेश्ननल पार्टी अफ अस्ट्रेलियाका उप-नेता तथा सङ्घीय सरकारमा कृषि मन्त्री रहेका डेभिड लिटलप्राउड पनि युरोपेली सङ्गठन (इयु)लाई औला देखाउँछन्।

नाइन नेटवर्कसँग कुरा गर्दै उनले भने कि हाम्रो देशले यो भन्दा बृहत् खोप कार्यक्रम कहिले देखेको छैन र यसबारे के हुँदैछ भनेर हामीले बुझ्नु जरुरी छ।

"यसको अङ्कगणित सजिलो छ। हामी ३० लाख खोपको मात्राले पछाडि छौँ किनकि इयुले हाम्रो भाग खोस्यो।"

मार्च महिनाको अन्त्यसम्ममा ४० लाख मानिसहरूलाई खोप लगाउने आफ्नो अठोट रहेको प्रधानमन्त्री स्कट मोरिसनले बारम्बार दोहोर्‍याउँदै आएता पनि, सो अवधिमा त्यो सङ्ख्या भन्दा निकै कमले मात्र खोप पाएपछि विपक्षी लेबरले सरकारको कोरोनाभाइरस विरुद्धको खोप सम्बन्धी कार्यनीति असफल रहेको बताउन थालेको थियो।

यसबारे लेबरका एक प्रभावशाली नेता प्याट कन्रोइ भन्छन् कि सरकारी खोप कार्यक्रमलाई अराजकता तथा अकर्मण्यताले छोपेको छ।

कन्रोइका अनुसार, उनको निर्वाचन क्षेत्रमा रहेका ठुला जीपी क्लिनिकहरू मध्येको एकलाई पठाइएको खोपको खेप गलत ठेगानामा प्रेषित गरिएपछि, त्यहाँ खोप वितरणको कार्य अनावश्यक रूपमा ढिलो हुन पुगेको छ।

आफ्नो निर्वाचन क्षेत्रमा ७० वर्ष उमेरका २४,००० भन्दा बढी मानिसहरू बसोबास गर्ने बताउँदै उनले भने कि ती बासिन्दाहरूमा कोभिड-१९ खोपका दुई मात्रा अब कहिले प्राप्त हुने हो भन्ने बारे अन्यौलता छ।

"यो राजनीतिका बारेमा होइन," कन्रोइले भने।

"लेबर तथा लिबरल दुवैले नेतृत्व गरेका राज्यका सरकारहरूले भनिरहेकाछन् कि सङ्घीय सरकारको वितरण कार्य घटिया र अस्वीकार्य तरिकाको छ।"

सोमवार अस्ट्रेलियाका विभिन्न राज्यमा होटेल क्वारेन्टिनमा बसिरहेका मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएता पनि सामुदायिक रूपमा सङ्क्रमित कोही नभएको बताइएको छ।

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now