एसबीएससँगको एक विशेष संवादका क्रममा ग्रिन्स नेता रिचर्ड डी नटालीले आफ्नो पार्टी आप्रवासीहरूका अभिभावकहरूलाई अस्ट्रेलिया ल्याउन सहज हुने व्यवस्था स्थापन गर्न लागिपरेको बताएका छन्।
हाल प्रचलनमा रहेको व्यवस्था अनुसार आप्रवासीहरूले आफ्नो आमा-बुवालाई अस्ट्रेलिया बोलाउन कि त पर्यटक भिसा वा स्थायी अभिभावक भिसाको सहारा लिनुपर्छ।
यसका साथै, उनको पार्टी हाल “ब्याक लग” रहेको ९७,००० भन्दा बढी आवेदनहरूलाई आगामी तीन वर्ष भित्र तह लगाउन चाहन्छ।
“सरकारले मानिसहरूलाई आफ्ना प्रियजनहरुबाट टाढा राखेर ठिक काम गरेको छैन,” उनले आफ्नो पार्टीको पारिवारिक पुनर्मिलन नीति सार्वजनिक गर्दै भने।
“कुनै कुनै मामलाको फाइल त दशकौँ अड्केका छन्।”
आफू पनि एक आपसी सद्भाव रहेको आप्रवासी इटालियन परिवारको सदस्य भएको जनाउँदै ग्रिन्स नेता डी नटालीले अगाडी थपे, “परिवार भन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन।”
ग्रीन्सको नीति अनुसार “कन्ट्रीब्युटरी” र “नन्-कन्ट्रीब्युटरी” दुवै किसिमका भिसाहरू निरर्थक छन्।
पाकिस्तानी मूलकी अर्की ग्रीन्स नेत्री मेहरीन फारुकी आफ्नो नेतासँग सहमत हुँदै थप्छिन्, “आप्रवासीहरूलाई स्वागत गर्ने हाम्रो गजबको इतिहास रहिआएको छ तर अब आफ्ना अभिभावक तथा अन्य परिवारजनलाई अस्ट्रेलिया ल्याउनु असम्भव जस्तै भएको छ।”
“हामी परिवारजनलाई पुनर्मिलन गराउने व्यवस्था चहान्छौं न कि दशकौँ उनीहरूलाई अल्झाएर राख्ने निष्ठुर नीति।”
सत्तारुढ लिबरल र विपक्षी लेबरले अभिभावक भिसा सम्बन्धी आफ्ना नीतिहरू सार्वजनिक गरेपछि ग्रीन्सले मतदाताहरूलाई आफू तिर आकर्षित गर्न त्यस्तो बचन दिएको हो।
