SKIP TO MAIN CONTENT

लेबरले जिते श्रीमान् श्रीमतीकै अभिभावकहरू एकै पटक अस्ट्रेलिया आउन पाउने

लेबर पार्टीले आगामी मे १८ को निर्वाचनमा बहुमत प्राप्त गरे श्रीमान श्रीमती दुवैले आफ्ना बाबु आमालाई एकै पटक अस्ट्रेलिया ल्याउन पाउने व्यवस्था गर्ने जनाएको छ।

Labor candidate for Barton Linda Burney with Nepali parents
Source: sbs nepali

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

लेबरले आप्रवासी अस्ट्रेलियालीहरूका लागी नयाँ  भिसा व्यवस्था ल्याउन लागेको बार्टन निर्वाचन क्षेत्रकी लेबर उम्मेदवार लिन्डा बर्नीले जनाएकी छन्। 

शनिवार अलावा पार्कमा आयोजित लेबर समर्थकहरूको भेटघाट कार्यक्रममा उपस्थित भएकी बर्नीले नेपाली समुदायका विशेष गरी अभिभावकहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै सो घोषणा गरेकी हुन्।

अभिभावक भिसा बारेको उक्त उदघोष पश्चात् अभिभावकहरू बाट खुसी व्यक्त गरिएको थियो।

वर्तमान व्यवस्था अन्तर्गत एक पटकमा श्रीमान् वा श्रीमती एक तर्फको अभिभावक मात्र अस्ट्रेलिया आउन पाउने व्यवस्था रहेको छ।

धेरै सङ्ख्यामा नेपालीहरूको बसोबास रहेको रक्डेल, कोगरा, कार्ल्टन, अलावा लगायतका स्थान ओगट्ने बार्टन निर्वाचन क्षेत्रबाट लेबर उम्मेदवार रहेकी लिण्डा बर्नीले नेपाली समुदायले अघिल्लो निर्वाचनमा आफ्नो साथ दिएको बताएकी छन्।

साथै उनले अहिले सरकारले स्थाई बसोबास भिसा (पीआर ) भएका र आवश्यक मापदण्ड पुरा भएकाहरूलाई अस्ट्रेलियाली नागरिकता दिन ढिलाइ गर्नु खेदपूर्ण रहेको पनि बताएकी छन्।

Chris Gambian Labor candidate for Banks posing for photo with Nepali community members
Chris Gambian Labor candidate for Banks posing for photo with Nepali community members. Source: sbs nepali

कार्यक्रममा ब्याङ्क्स लेबर उम्मेदवार क्रिस ग्यम्बिएनले आफू अस्ट्रेलियामा नै जन्मिए पनि भारतीय मूलको भएका कारणले अस्ट्रेलियाको राजनीतिमा आउँदा धेरै प्रश्न र आशङ्काहरू खेप्नु परेको स्मरण गरेका थिए।

साथै उनले आफ्ना बुबाले अस्ट्रेलियामा सुरुवाती दिनमा भोग्नु परेको अप्ठ्याराहरूको उदाहरण दिदैं आप्रवासी अस्ट्रेलियालीहरूले सामर्थ्य र सिप हुँदा हुँदै पनि धेरै सङ्घर्ष गर्नु पर्ने बताएका थिए।

ग्यम्बिएन आगामी निर्वाचनमा वर्तमान अध्यागमन मन्त्री डेभिड कोल्म्यानको विरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।

व्यस्त सप्ताह अन्त्य:

सङ्घीय निर्वाचन हुन दुई हप्ता मात्र बाँकी रहँदा निर्वाचन प्रचार प्रसार कार्यमा राजनीतिक दलहरू व्यस्त रहेका छन्। नेपाली समुदाय पनि आफूले समर्थन गर्ने पार्टीका चुनावी प्रचार प्रसार अभियानमा सप्ताह अन्त्यमा व्यस्त रहेका छन्।

लेबर समर्थक नेपाली समुदायले शनिवार अलावा पार्कमा लेबर भेटघाट कार्यक्रमको आयोजना गरे भने बार्टन निर्वाचन क्षेत्रबाट लिण्डा बर्नीका निकटतम प्रतिद्वन्द्वी मानिएका नेपाली मूलका प्रमेज श्रेष्ठ र उनका समर्थकहरू शनिवार दिनभर साना व्यवसायीहरू सँग भेट्ने लगायतका घरदैलो कार्यक्रममा रहेका थिए।

लामो समय देखि लिबरल प्रचार प्रसार स्वंसेवक रहिसकेका सुशान्त शर्माले आइतबार पनि घरदैलो कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिएका छन्।

liberal candidate for Barton Pramej Shrestha endorsing liberal candidate for Banks David Coleman
liberal candidate for Barton Pramej Shrestha endorsing liberal candidate for Banks David Coleman. Source: facebook/Sunil Bista

त्यस्तै ब्याङ्क्स लिबरल उम्मेदवार डेभिड कोल्म्यान समर्थक कार्यकर्ताहरूले पनि शनिवार घरदैलो कार्यक्रम गरेका छन्।

नगेन्द्र प्रसाद अधिकारीले शनिवार मक्वरि क्षेत्रकी लिबरल उम्मेदवार सारा रिचार्डसन् ले ब्लु माउन्टेन फुटबल क्लब लागी गाडी पार्क गर्ने स्थानको संवर्धनका लागी १.३ मिलियन डलर खर्चिने घोषणा गरेको जनाएका छन्।

म्याक्मोहन निर्वाचन क्षेत्रमा लिबरल उम्मेदवारका निमित्त चुनावी प्रचार प्रसार संयोजक रहेका अधिकारीले आइतबार भने नेपालीहरूको फुटबल क्लब पेनरिथ गुरिल्लाजको खेल अवलोकन गर्ने र नेपाली खेलाडीहरूसँग लिन्ड्से निर्वाचन क्षेत्रकी लिबरल उम्मेदवार मेलिसा म्याकिनटोशले भेट गर्ने कार्यक्रम रहेको छ।

Liberal Candidate for Barton pramej shrestha with small business owner
Liberal Candidate for Barton pramej shrestha with small business owner. Source: facebook/Pramej Shrestha

यसरी नेपाली मूलका अस्ट्रेलियाको प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका प्रमेज श्रेष्ठ र आदिवासी महिलाहरूको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति लिण्डा बर्नी बिचको प्रतिस्पर्धाका बिच नेपाली समुदायको समर्थन महत्त्वपूर्ण रहेको दुवै उम्मेदवारहरूले बताउँदै आएका छन्।

नेपाली मूलका मतदाताहरूको सङ्ख्यामा वृद्धि भए सँगै उनीहरूको विश्वास जित्न नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा प्रमुख दलका उम्मेदवारहरूले उपस्थिति जनाउने लहर नै चलेको छ।

यो अभ्यासले गर्दा नेपाली समुदायको चिन्ता र चासोका आवाज प्रत्यक्ष रूपमा राख्न पाउने अवसर बनेको कार्यक्रममा उपस्थितहरूको भनाइ थियो।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now