नर्दन टेरिटोरीमा यस वर्षको स्वयंसेवा सम्बन्धी पुरस्कार नेपाली स्वयंसेवी संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटरीले (नान्ट) जितेको छ।
यस वर्ष ११ नोभेम्बरमा डार्विनको टेनिस सेन्टरमा आयोजना गरिएको यस वार्षिक समारोहमा पहिलो पटक बुशफायर्स एनटीका डी टाइनन र नान्ट संयुक्त विजेता बन्न पुगेका हुन्।
कार्यक्रमको आयोजक गैर-नाफामूलक संस्था भलुनटरिङ्ग एनटीले स्वयंसेवामा इच्छुक व्यक्ति तथा सङ्गठनहरूलाई सेवा प्रदान गर्दै आएको छ।
'नर्दन टेरिटोरी भलुनटियर अफ द यर' पुरस्कारले वर्ष भर सर्वोत्कृष्ट काम गरेका प्रदेशका स्वयंसेवीहरूलाई सार्वजनिक रूपमा चिनाउने, भलुनटरिङ्ग एनटीकी क्षत्रिय सेवा प्रबन्धक किम केर्न्सले बताइन्।
प्रदेशमा स्वयंसेवा सम्बन्धी सबै भन्दा प्रतिष्ठित यस पुरस्कारबाट सम्मानित हुनु समग्र नेपाली समुदायको लागि निकै खुसीको कुरा रहेको नान्टका अध्यक्ष युवराज पन्तले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

नान्टले यस वर्षको सर्वोत्कृष्ट स्वयंसेवी समूहको पुरस्कार सँगै उक्त प्रमुख पुरस्कार पनि पाएको हो।
"यो वर्ष जित्छौँ भनेर हामीले अपेक्षा गरेका थिएनौँ। हामीले काम गर्दा काम कै बारेमा सोचिरहेका हुन्छौँ," उनले भने।
"यसले हामीलाई के सम्झायो भने, हामीले समुदायका लागि गरिरहेका कामहरू महत्त्वपूर्ण छन् - यसले प्रभाव पार्ने रहेछ भनेर झनै बढी खुसी र हौसला प्रदान गरेको छ।"
पन्तसँग गरिएको कुराकानी सुन्नुहोस्: https://www.sbs.com.au/yourlanguage/services/embeds/audioplayer/ab67178e-ec96-42ca-be84-4b81eb284baf हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सन् २००९ मा स्थापना भएको नान्टले विशेष गरी नर्दन टेरिटोरीमा बसोबास गर्ने नेपाली पृष्ठभूमिका व्यक्तिहरूको हकहितको लागि काम गर्दै आएको छ।
करिब १२० जना स्वयंसेवकहरू आबद्ध रहेको यस संस्थाले गर्दै आएका स्वयंसेवी कामहरू सांस्कृतिक कार्यक्रमहरू देखि लिएर शिक्षा क्षेत्रमा योगदान पुराउने सम्म रहेका छन्।
"हाम्रो गत वर्षको रिपोर्ट हेर्ने हो भने, हामीले १२ महिनामा १३-१४ वटा कार्यक्रमहरू गरिराखेका हुन्छौँ," उनले भने।
अस्ट्रेलियामा हुर्किएका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली संस्कृति र भाषाको ज्ञान दिनका लागि नान्टले डार्विन र पामर्सटनमा साप्ताहिक रूपमा एक विद्यालय सञ्चालन गर्दै आएको पन्तले बताए।
यसै सन्दर्भमा यिनै बालबालिकाहरूलाई लक्षित गरी नान्टले प्रकाशन गरेको किताबलाई अस्ट्रेलिया भर थप पाँच वटा संस्थाहरूले प्रयोग गर्दै आएका छन्।
त्यस्तै, प्रदेशका विविध बहु सांस्कृतिक समुदायहरूसँग घुलमिल हुने किसिमका कार्यक्रमहरू आयोजना हुन गरेको उनले भने।

नेपाली तथा विविध पृष्ठभूमिहरूलाई यसरी सामुदायिक रूपमा आयोजना गरिने पुरस्कार वितरण समारोहहरू निकै महत्त्वपूर्ण रहेको भलुनटरिङ्ग एनटीकी केर्न्सले बताइन्।
"स्वयंसेवकहरूले नाम कमाउन आफ्नो काम गरेका हुँदैनन्, तर, आफूले गरेको कामको पहिचान हुनु र यो प्रभावकारी भएको थाहा पाउन अवश्य पनि राम्रो हुन्छ," उनले भनिन्।
पन्त भन्छन् कि, समुदायलाई लक्षित स्वयंसेवी कामहरूले व्यक्तिगत विकासमा पनि निकै मदत गर्दछ।
"आफ्नो थोरै समय निकालेर यस्ता काममा समय दिँदा त्यसले घाटा चाहिँ कहिले हुँदैन," उनले भने।
"यसले मानसिक स्वास्थ्य देखि लिएर, समुदायमा आफ्नो संलग्नता र नेटवर्क बनाउन निकै सहयोग हुन्छ। सबैलाई आफ्नो मिलेको समयमा [स्वयंसेवा] गर्नु पर्छ जस्तो मलाई लाग्छ।"





