SKIP TO MAIN CONTENT

निजी कम्पनीको स्वामित्वमा एबोरिजिनी झन्डा: छानबिन हुनुपर्ने माग उठ्यो

सङ्घीय लेबर पार्टीकी एक जना प्रभावशाली नेत्रीले अस्ट्रेलियाका आदिवासीहरूको प्रतिनिधित्व गर्ने झन्डाको प्रतिलिपि अधिकार कसरी निजी कम्पनीको हातमा गयो भन्ने बारे छानबिन गर्न सरकारसँग माग गरेकी छिन्।

Aboriginal flag copyright needs to be investigated: Labor MP

3 min read

Published

Updated

By SBS Nepali, Biwa Kwan

Source: SBS



Skip to article content

केही सङ्घ तथा संथाहरुलाई आदिवासी झन्डा प्रयोग गरे बापत भुक्तानी गर्न पत्रहरू प्राप्त भएको लेबर पार्टीकी प्रवक्ता समेत रहेकी लिण्डा बर्नीले बताएकी छिन्।

उनको अनुसार, सङ्घीय सरकारले यस्ता कार्यहरू रोक्न छिट्टै ठोस कदम चाल्नु पर्छ।

“एबोरिजिनी झन्डाको प्रयोगलाई लिएर हाल कायम अनिश्चितता प्रति म एकदमै चिन्तित छु,” उनले एसबीएस समाचारलाई बताइन।

“यो झन्डा एक राष्ट्रिय प्रतीक हो। यो देशमा बस्ने हरेकले यसलाई चिन्छन्। र, यो कुनै निजी कम्पनीको स्वामित्वमा छ भन्ने कुरो मलाई निको लागिरहेको छैन।”

नर्दन टेरोटेरीको लुरित्जा समुदायबाट डिजाइनर बनेका ह्यारोल्ड थोमससँग एक सम्झौता पछि “डब्लुएएम क्लोथिंग” नाम गरेको एक तयारी पोशाक निर्माण कम्पनीले हाल उक्त झन्डा लुगाहरूमा प्रयोग गर्न सर्वाधिकार पाएको छ।

क्विन्सल्याण्डको “इन्डीजिनियस वेलनेस सेन्टर” भनिने एक गैर-नाफामूलक र आदिवासीहरूलाई चिकित्सकीय सेवा प्रदान गर्ने संस्थाले आफूकहाँ उपचारार्थ आएका बिरामीहरूलाई एबोरिजिनी झन्डा भएको “टी-शर्ट” वितरण गरेको थियो।

यसका लगत्तै डब्लुएएम क्लोथिंगले उक्त संस्थालाई २,२०० डलरको बिल पठाएको बताइएको छ।

डब्लुएएम क्लोथिंगका अनुसार, केवल ऊसँग मात्र अस्ट्रेलियाको आदिवासीहरूलाई प्रतिनिधित्व गर्ने झन्डा लुगाफाटा, भौतिक अनि डिजिटल मिडियामा प्रयोग गर्ने विश्वव्यापी इजाजतपत्र छ।

ह्यारोल्ड थोमससँग गरिएको सम्झौता सार्वजनिक नगरिएको कारण कुरो यस्तै हो भन्न सकिने अवस्था छैन र डब्लुएएम क्लोथिंगले उक्त सम्झौताको विवरण सार्वजनिक गर्दा गोपनीयता भङ्ग हुने बताएको छ।

Harold Thomas
Harold Thomas with the Aboriginal flag he designed in 1971. Source: News

तर, यसका साथै, उक्त कम्पनीले आफूलाई प्राप्त झन्डा प्रयोग सम्बन्धी इजाजत बारे कसैलाई जान्न मन भए “हामीसँग सम्पर्क राख्न स्वागत छ,” भनेर एक विज्ञप्ति जारी गरेको छ।

“रोक र बन्द गर”

अर्को तर्फ भने अन्य समूहहरूले आफूहरूलाई डब्लुएएम क्लोथिंगका तर्फबाट “रोक र बन्द गर” आशयका पत्रहरू प्राप्त भएका जनाएका छन्। उनीहरूका अनुसार, “टी-शर्ट” अनि सामाजिक सञ्जालहरूमा एबोरिजिनी झन्डा प्रयोग गर्दा आफूहरूलाई चेतावनी दिइएको हो।

अस्ट्रेलियाका आदिवासीहरूको स्वास्थ्य प्रवर्धन गर्ने एक व्यापारिक संस्था - स्पार्क हेल्थ अस्ट्रेलियाले आफ्नो “क्लोजिंग दि ग्याप” नाम गरेको उत्पादहरुमा एबोरिजिनी झन्डाको प्रयोग गरेपछि आफूले माथि उल्लिखित ब्यहोराको पत्र पाएको बताएको छ।

उक्त पत्र पाएपछि स्पार्क हेल्थले एबोरिजिनी झन्डा प्रयोगका शर्तहरु पुनरावलोकन गरिनुपर्ने भन्दै एक अनलाइन निवेदन सुरु गरेको छ।

उसको उक्त निवेदनमा लेखिएको छ, “डब्लुएएम क्लोथिंग, जो एक गैर-आदिवासीय व्यवसाय हो, के उसले एबोरिजिनी झन्डा माथि एकाधिकार राखेर नाफा कमाउन हुन्छ?”

“हाम्रो बिचारमा यो बजार माथि एक गैर-आदिवासीय कम्पनीले कब्जा जमाउन बन्द हुनुपर्छ।”

त्यसै गरी, “न्यु एबोरिजिनल फ्ल्याग अर फ्ल्याग्स डिस्कसन्स” नामक एक फेसबुक समूहले पनि एबोरिजिनी झन्डाको डिजिटल प्रतिलिपि सामाजिक सञ्जालमा नकारात्मक रूपले प्रयोग गरेको भन्दै आफूलाई डब्लुएएम क्लोथिंगले चिठ्ठी पठाएको जनाएको छ।

"सरकारले हस्तक्षेप गर्नुपर्‍यो"

उता, यो कुरामा सङ्घीय सरकारको ध्यान तान्न तल्लीन बर्नीले भनिन्, “यो झन्डा एबोरिजिनी सङ्घ, संस्था, मानिसहरू लगायत सम्पूर्ण समुदायहरूले बिना झन्झट प्रयोग गर्न मिल्छ की मिल्दैन भनेर सरकारले हेर्नुपर्छ। चिरकालसम्मका लागि झन्डा सुरक्षित गर्न सरकारले हस्तक्षेप गर्नुपर्‍यो।”

“यो झन्डा धेरै सार्वजनिक स्थलहरूका साथै विभिन्न राज्यका संसद् भवनहरूमा पनि फहराइन्छ। त्यस कारण पनि मलाई सोध्नुहुन्छ भने सङ्घीय सरकार यस विषयमा आफूलाई कहाँ उभ्याउँछ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ।”

सङ्घीय सरकारमा आदिवासी अस्ट्रेलियालीहरूको मामिला हेर्ने मन्त्री केन वायटले यस अघि नै सरकारद्वारा उक्त झन्डाको प्रतिलिपि अधिकार नकिन्ने बताइसकेका छन्।

उनको अनुसार ह्यारोल्ड थोमस र डब्लुएएम क्लोथिंग दुवै मिलेर झन्डाको प्रयोग बारे अलिक उदार हुनु नै सबैभन्दा उत्तम हुनेछ।

तर लिण्डा बर्नीले भने वायटलाई आफ्नो सोच माथि पुनर्विचार गर्न आग्रह गरेकी छिन्।

“पछिल्लो घटनाक्रमहरूलाई हेरेर पनि उनले यस विषयलाई पुन: जाँच गर्न म आग्रह गर्छु,” बर्नीले भनिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now