नेशनल एबोरिजिनिज एण्ड आइल्यान्डर्स डे अब्जर्भेन्स कमिटी अर्थात् नेडकले आयोजना गर्ने यो कार्यक्रम, यस पटक भने जुलाई ३ देखि १० तारिखसम्म मनाउने मौका अस्ट्रेलियावासीलाई जुरेको छ।
सन् २०२२ नाइडक सप्ताहको मूल नारा "गेट अप! स्ट्यान्ड अप! शो अप!" रहेको छ।
यो नाराले प्रणालीगत सुधारलाई बढावा दिएको छ।
१९२० र ३० मा भएका आदिवासी अस्ट्रेलियालीहरूको अभियानलाई यो दिवसको सुरुवातसँग जोडेर हेर्ने गरिन्छ।
नेडक सप्ताह के हो र सुरुवात कसरी भयो त ?
१९३८ मा अस्ट्रेलिया दिवस मनाइ रहँदा आदिवासी प्रदर्शनकारीहरूले भने 'शोक दिवस' भन्दै सिड्नीबाट मोर्चा निकालेका थिए।
यो प्रदर्शन सफल भएपछि हरेक वर्ष अस्ट्रेलिया दिवस भन्दा अगाडी आउने आइतबार शोक दिवस भनेर मनाउन थालियो र यसलाई राष्ट्रिय एबोरिजिनलहरूको दिवसको रूपमा चिनियो।

त्यो स्मृति दिवस अन्ततः जुलाई महिनामा सर्यो जसको उद्देश्य प्रदर्शनको सम्झनालाई आदिवासी अस्ट्रेलियालीहरूको सांस्कृतिक महोत्सवसँग जोडेर मनाउनु रहेको थियो।
सन् १९७५ मा यसलाई स्मरण सप्ताहका रूपमा जुलाइको पहिलो आइतबारदेखि दोस्रो आइतबारसम्म मनाउने निर्णय गरियो।
राष्ट्रिय नेडक समितिका उप-प्रमुख जोन पअल जेन्की भन्छन् कि "आदिवासी अस्ट्रेलियालीहरूलाई आफ्ना मामिलामा वा आफूलाई प्रभाव पार्ने मुद्दामा आफैँले बोल्न भनिएको छ।
यो पनि पढ्नुहोस्

सत्य बोल: मेलमिलाप सप्ताहको मूल मन्त्र
"र हामीले एउटा सन्धि वा भावी पुस्ताको लागी सम्झौता हुनु पर्ने माग गरेका छौँ र त्यसको लागी सबैभन्दा उत्तम बाटो भनेको सत्य बोल्ने अभ्यास हो।"
"त्यसैले यो देशको इतिहासलाई लिएर सत्य बोल्नु पर्छ र यो यस्तो विषय हो जुन नेडक समितिले पनि आवश्यक भएको अनुभूति गरेको छ।"
एक प्रदर्शनबाट सुरु भएको अभियान अहिले सप्ताह व्यापी उत्सव बनेको पनि उनको भनाइ रहेको छ।
"आज यो आदिवासी समुदायले अझै पनि आफ्नो अस्तित्वको उत्सवका रूपमा मनाउँछन्; तर यससँगै उनीहरूको इतिहास, सांस्कृतिक विविधता र आफ्नो ज्ञान साट्न पनि मनाउँछन्।"

नेडक पुरस्कार
नेडक सप्ताहको प्रमुख कार्यक्रमहरू मध्ये राष्ट्रिय नाइडक पुरस्कार समारोह पनि एक हो।
कोरोनाभाइरस महामारीका कारण यसपालीको समारोह केही समयपछि आयोजना हुने बताइएको छ।
उक्त पुरस्कार आदिवासी समुदायको उत्थानका लागी उल्लेख्य योगदान गरेका वा सो समुदायका समस्याहरू बृहत् समुदाय समक्ष ल्याउनुका साथै आफ्नो विशेषताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई दिइन्छ।
दि हिलिङ्ग फाउन्डेसनका प्रमुख कार्यकारी रिचार्ड वेस्टन भन्छन् यो पुरस्कार विशेष गरी अरूको सेवामा आफ्नो जीवन समर्पित गर्ने मानिसहरूलाई प्रदान गरिन्छ।

उक्त प्रतिष्ठानले समुदायसँग मिलेर आदिवासी अस्ट्रेलियालीहरूलाई मानसिक आघातबाट बाहिर आउन सहायता गर्दछ।
नेडक र सत्यता
रिचार्ड वेस्टन भन्छन् सत्य बोल्ने प्रक्रिया आदिवासी अस्ट्रेलियालीहरूको लागी अहिलेको प्रमुख आवश्यक्ता हो।
उनी भन्छन् यो प्रक्रिया औपचारिक र अनौपचारिक दुवै तरिकाबाट हुन सक्छ, तर प्रमुख कुरा चाहिँ के हो भने अस्ट्रेलियाले यहाँका आदिवासीहरूलाई गर्ने व्यवहारको बारेमा सिधा कुरा हुनु पर्यो।
उनको अनुसार यो वर्तमान परिस्थितिलाई सुधार गर्ने एक अवसर पनि हो।
वेस्टन भन्छन्, "इतिहासलाई हामी बिर्सन सक्दैनौँ, तर यसलाई पनि सम्झिँदै तर अगाडी बढ्न जरुरी छ।"
यो पनि पढ्नुहोस्

नाइडक सप्ताह: मध्य मरुभूमिका गीत रक्षक




