हरेक वर्ष मेलमिलाप सप्ताह मनाइने समय समान रहन्छ।
कोषे ढुङ्गा साबित भएका दुई महत्त्वपूर्ण घटना यही एक साता अन्तर्गतका मितिमा भएका कारण मे २७ र जुन ३ का बिचमा नै यो सप्ताह मनाउने गरिन्छ।
पहिलो भनेको १९६७ मे २७ हो, यो मितिमा एक जनमत सङ्ग्रह गरिएको थियो जहाँ ९० प्रतिशत अस्ट्रेलियालीहरू आफ्नो मत राखेर सङ्घीय सरकारलाई आदिवासी अस्ट्रेलियालीहरूका लागी कार्यक्रमहरू सञ्चालन गर्ने अधिकार दिएका थिए।
र त्यहीबाट आदिवासीहरूलाई पनि जनगणनामा सामेल गरिएको थियो।

त्यस्तै जुन ३, १९९२ मा उच्च अदालतको आदेशमा आदिवासी अस्ट्रेलियालीहरूको आफ्नो पुर्खौली जमिन माथि अधिकार रहने भन्दै टेर्रा नलिसमाथी बेलायतको हक दाबीलाई अन्त्य गरिएको थियो।
कसैको पनि बसोबास नभएको क्षेत्रमा बेलायतले आफ्नो कानुन लगाउने गरेकोमा, टेर्रा नलिसमा आदिवासीहरूको पहिले देखिनै उपस्थिति रहेता पनि आदिवासीलाई मानव अस्तित्वका रूपमा लिएका थिएनन्।
तर माबो उच्च अदालतको निर्णय भनेर चिनिने उक्त निर्णयले आदिवासीहरू लाई पनि आफ्नो जमिन माथिको अधिकार दिएको थियो।
इतिहासलाई स्मरण गरिने सँग-सँगै राष्ट्रिय मेलमिलाप सप्ताहमा प्रत्येक वर्ष एउटा विषयलाई मूल मन्त्र बनाइन्छ।
र २०१९ को मूल मन्त्र भनेको सत्य बोल्ने रहेको छ।
मेलमिलाप अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत क्यरेन मन्डिनले सत्य बोलेर कसरी अस्ट्रेलियालाई यसको इतिहाससँग जोड्न सकिन्छ भन्ने बारेमा बताएकी छन्।
"यो भनेको सत्य कुराहरू भन्ने हो, आदिवासी र अन्य अस्ट्रेलियालीहरू बिचको राम्रो, नराम्रो वा खराब जे जस्तो सम्बन्ध थियो त्यसका बारेमा सत्य बोल्ने हो।"
अन्य राष्ट्रहरूमा सत्यता र मेलमिलाप बिच लामो इतिहास रहेको छ, जस्तै जर्मनी, क्यानडा, दक्षिण अफ्रिका लगायतका राष्ट्रहरूले विगतमा भएका अन्यायका बारेमा जाँच गर्न औपचारिक प्रक्रिया नै अपनायको देखिन्छ।
मन्डिन न्यु साउथ वेल्सको म्याल क्रिकमा भएको नरसंहारलाई उद्धृत गर्दै भन्छिन्, सत्य बोल्ने प्रक्रिया स्थानीय तहमा देखिसकिएको छ।

१८३८ मा १२ युरोपेली नागरिकहरूले कम्तीमा २८ आदिवासी अस्ट्रेलियालीहरू को नरसंहार गरेका थिए, र त्यो हत्याका लागी उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड थियो।
र अहिले सम्म पनि दुवै तर्फका सन्तानहरू वार्षिक रूपमा एकै स्थानमा भेला भएर मृत पुर्खाहरूको स्मरण गर्ने गर्दछन्।
"मलाई याद छ पीडित आदिवासी तर्फकी आन्टी सू ब्लाक्लकले भनेको 'म आशा गर्छु भविष्यमा उक्त नरसंहारको बारेमा कुरा गर्न छाडेर त्यसबाट बाहिर निस्किएको बारेमा कुरा होस् ' र यो आदिवासीका सन्तानले मात्र होइन पीडकका सन्तानले पनि भन्ने गरेका छन्।"
औपचारिक सत्य बोल्ने प्रक्रियाका अभियन्ताहरूले यो प्रक्रियाको थालनीका लागी एक सन्धि बनाइनु पर्नेमा जोड दिन्छन्।
उक्त सन्धि भनेको दुई पक्ष बिचको औपचारिक सम्झौता हो जस अन्तर्गत दुवै पक्षको सहमति भएका जुन कुनै विषयमा बोल्न र काम गर्न सकिन्छ।
कमनवेल्थमा अस्ट्रेलिया मात्र यस्तो राष्ट्र हो जसको आदिवासी समुदायसँग सन्धि भएको छैन, तर भिक्टोरिया राज्यले उक्त सन्धि गर्नको लागी पहिलो कदम चालेको छ।
उक्त सन्धि परिष्कृत गर्ने आयोगका आयुक्त जिल गलाघर भन्छिन् सत्य बोल्ने प्रक्रिया कुनै पनि सन्धि सम्झौतामा आधारभूत हुन्छ।
आदिवासी अस्ट्रेलियालीहरूको राष्ट्रिय संस्था हिलिङ्ग फाउन्डेसनले समुदायले भोग्नु परिरहेको मानसिक आघात लाई सम्बोधन गर्ने गर्दछ। उदाहरणका लागी परिवारबाट बालबालिकालाई अलग्ग्याउने नीति।

उक्त फाउन्डेसन का प्रमुख कार्यकारी अधिकृत रिचार्ड वेस्टन भन्छन्, धेरै आदिवासी अस्ट्रेलियालीहरू कारावास सजाय भोगिरहेका छन्, र यसले गर्दा सो समुदायका बालबच्चाहरू घरमा पाउने स्याहार बाट वञ्चित रहेका छन् र उनको बिचारमा यो सबै विभिन्न पुस्ता भित्र रहेको मानसिक आघातका कारणले भई रहेको छ।
वेस्टनका अनुसार औपचारिक सत्य- बोल्ने प्रक्रियाबाट विगतमा भएको खराब घटनाको प्रभाव स्वरूप वर्तमान पिढीमा देखिएको आघात निको पार्न केही मदत मिल्छ।
उनी विश्वास गर्छन् कि विगतमा भएका घटनाका बारेमा खुलेर कुरा गर्नाले उक्त विगतलाई बिर्सन, अगाडी बढ्न र एक भएर परिपक्व हुँदै जान सहयोग गर्छ।
वेस्टन भन्छन्, "इतिहासलाई हामी बिर्सन सक्दैनौँ, तर यसलाई पनि सम्झिँदै तर अगाडी बढ्न जरुरी छ।"

"अहिलेको अस्ट्रेलियालाई हेरेर सांस्कृतिक विविधतालाई ध्यानमा राख्दै, आप्रवासीहरूको इतिहास, युरोपेली इतिहास, ब्रिटिसहरूको बसोबासको इतिहास लाई एक ठाउँमा ल्याऔँ। हामीलाई विगतको कुराहरू थाहा छ ती सम्पूर्ण इतिहासहरूलाई एकै ठाउँमा राखेर एक अस्ट्रेलियाली पहिचान बनाऔँ।"




