बुर्का माथि प्रतिबन्ध लगाउने पार्टीदेखि टिनेजरहरुलाई कर्फ्यु लगाउँछौँ भन्नेसम्म, पुरुष मन्त्रालयको गठन गर्छौँ भन्नेदेखि सबैलाई विश्वविद्यालयमा अध्यन गर्ने मौका सित्तैमा दिन्छौँ भन्नेसम्म - यसपालिको अस्ट्रेलियन आम निर्वाचनमा भोटरहरूलाई गज्जब-गज्जबका पार्टीहरूलाई जिताउने मौका छ।
सधैँ लेबर, लिबरल गठबन्धन वा ग्रिन्सलाई मात्र भोट दिएर थाकेका मतदाताहरूले यसपालि भने च्याउ सरी देखा परेका माइक्रो पार्टीहरूलाई आफ्नो भोट दिने मौका प्रशस्त छ।
एक पछि अर्को काण्डमा मुछिँदै विवादास्पद बनेको पलिन ह्यान्सन नेतृत्वको उग्र दक्षिण धार समात्ने वन नेशन पार्टीले यसपालि निकै भोटरहरू गुमाएको बताइएको छ।
ग्रिफिथ विश्वविद्यालयमा राजनीति शास्त्र पढाउने एक जना लेक्चरर डा पल विलियम्सका अनुसार वन नेशनले बारम्बार आफ्नो खुट्टामा बन्चरो हानेर आफ्ना नीतिमा विश्वास राख्ने मतदाताहरूलाई निराश बनाइदिएको छ।
“वन नेशनका मतदाताहरूले उसको जस्तै नीति बोकेको पार्टीहरू खोजेका छन् र त्यो ठाउँ भर्न मज्जाले अन्य भुरा पार्टीहरूको उदय भएको छ,” उनले भने।
“क्विन्सल्याण्डमा निकै जना कि त खेती कि त खनिज उत्त्खननमा लागेका छन्। यी दुवै क्षेत्रमा केन्द्रित रहेर सस्तो लोकप्रियता कमाउने राजनीति गर्न सजिलो पनि छ।”
“यसै कारणले पनि सस्तो लोकप्रियतामा आधारित रहेर काम गर्ने पार्टीहरू क्विन्सल्याण्डमा प्रादुर्भाव हुनु स्वाभाविक नै हो,” डा विलियम्स थप्छन्।
तर, वुमेन्स पार्टी र टुगेदर पार्टी जस्ता यी झिना-मसिना दलहरूका लागि आसन्न आम निर्वाचनमा विजय हासिल गर्नु भनेको फलामको चिउरा चपाए जस्तै हुनेछ। खास गरी, “प्रिफर्न्सियल” मतदानबाट बाँडिने मत सम्बन्धी नियमहरूमा गरिएको सुधार पछि।
अघिल्लो चुनाव बखत “किङ्ग मेकर” भएर केही स्वतन्त्र उम्मेदवार तथा यस्ता स-साना पार्टीहरूका नेताहरू अस्ट्रेलियन राजनीतिमा उदाएपछि भोट बाँडचुँड गर्ने नियममा परिवर्तनहरू भएका थिए।
सिड्नी विश्वविद्यालयको सरकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका डा स्ट्युवर्ट ज्याक्सन भने, यी “माइक्रो” पार्टीहरू, चुनाव जित्न भन्दा पनि आफ्नो प्रचार गर्न र आफ्ना नीतिहरू जनतासम्म लिएर जान पाएको मौकाको सदुपयोग गरिरहेको धारणा राख्छन्।
यसपालिको आम निर्वाचन देखि राजनीतिमा होमिएका नयाँ पार्टीहरू
लभ अस्ट्रेलिया अर लीभ (अस्ट्रेलियालालाई माया गर नत्र भने छाडेर जाऊ)
नाम “लभ अस्ट्रेलिया अर लीभ” भए पनि यो एक उग्र दक्षिणपन्थी पार्टी हो।
पहिले एरोबिक्स सिकाउने किम भुगा अहिले मानिसक स्वास्थ्यकर्मी भएकी छिन् र साथै यो पार्टीका संस्थापक पनि।
एसबीएसको “गो ब्याक टु व्हेर यु केम फ्रम” कार्यक्रमबाट अस्ट्रेलियन जनता सामु उनी पहिलो पटक देखा परेकी थिइन्।
उनको पार्टी अस्ट्रेलिबाट सबै मुसलमानहरूलाई धपाउन पर्छ भन्नेमा विश्वास राख्छ। त्यसै गरी, अस्ट्रेलियाको सम्पूर्ण ऋण चुक्ता नभएसम्मका लागि नयाँ आप्रवासीहरू माथि पूर्ण रोक् लाग्नुपर्ने पनि यो पार्टीको घोषणापत्रमा जनाइएको छ।
यसका साथै, बुर्का माथि प्रतिबन्ध र नयाँ मस्जिद बनाउन दिन नहुने पनि उसको भनाई छ। अनि, कट्टरवादी भएका युवा अपराधीहरूलाई “ट्र्याकिंग” उपकरण लगाइदिनुपर्ने पनि उसको नीति हो।
इन्भोल्युण्टरी मेडीकेशन अबजेक्टर्स - भ्याक्सिनेशन/फ्लुराइड पार्टी (अनैच्छिक औषधोपचार विरोधी - खोप/फ्लुराइड पार्टी)

म्याल्कम टर्न्बुल सरकारले केही समय अघि “नो ज्याब, नो पे” नीति लागु गरेको थियो। यो खोप विरोधी दल त्यही नीति विरुद्ध खडा गरिएको हो।
एक “हेल्थ रिट्रिट” चलाउने माइकल नील र उनकी श्रीमती बार्बरालाई केही समय अघि मात्रै स्वास्थ्य सम्बन्धी सुझाव दिन प्रतिबन्धित गरिएको थियो।
त्यसको कारण के थियो भन्नुहोला।
कुरो के थियो भने, यी दम्पतीले भर्खरै जन्मिएका शिशुहरूका आमाबुवालाई ती नवजातहरूलाई बाख्रीको दूध ख्वाऊ भनेर कथित रूपमा भने।
यो पार्टीका अनुसार, अहिले ऊ सरकारद्वारा प्रायोजित खोप कार्यक्रम तथा खाने पानीमा फ्लुराइड जस्ता खनिजतत्व मिसावट गर्ने दुष्टहरूसँग लड्दै छ।
अस्ट्रेलियन बेटर फ्यामिलिज (राम्रो अस्ट्रेलियन परिवार)

आफ्ना सामाजिक नीतिहरूका कारण चर्चामा रहेको यस पार्टीको सबैभन्दा रोचक नीति हो - पुरुष मन्त्रालय र पुरुषहरूको हकहित हेर्ने मन्त्री!
अनि, किशोर तथा किशोरीहरूलाई “कर्फ्यु” लगाउनुपर्छ भन्ने पार्टी पनि यही नै हो।
यो पार्टीका अनुसार, टिनएजरहरुले घर मै समय व्यथित गर्दा उनीहरू कुनै पनि समस्यामा पर्दैनन्।
साथै, एक राष्ट्रिय किशोर सेवा गठन गर्दै १६ वर्षदेखि अनिवार्य रूपमा सामाजिक जिम्मेवारी, सामुदायिक तालिम एवं जीवन जिउने खुबी सिकाउनु पर्ने पनि उसको माग रहेको छ।
दि ग्रेट अस्ट्रेलियन पार्टी (महान् अस्ट्रेलियन पार्टी)

सन् २०१६मा सङ्घीय सांसदबाट अयोग्य ठहर गरिएका वन नेशन पार्टीका पूर्व सिनेटर रड कुलेटनले आसन्न आम-चुनाव घोषणा हुन केही दिन बाँकी रहँदा “दि ग्रेट अस्ट्रेलियन पार्टी” दर्ता हुन्।
आफ्नो राजनैतिक जीवन पुन: सुचारु गर्ने मनसायसाथ उनी चुनावी मैदानमा होमिएका हुन्।
तर, आफ्नो राजनैतिक जीवन सुरु नहुँदै फेरी उनी विवादको घेरामा परिसकेका छन्।
त्यो पनि पहिलेकै काण्डका कारण।
सन् २०१६ मा सांसदबाट अयोग्य ठहर हुँदा उनी माथि आफू कङ्गाल रहेको आरोप थियो र अहिले पनि उक्त आरोप यथावत् नै रहेको र निर्वाचन आयोगमा दर्ता हुँदा उक्त कुरा लुकाएको भन्दै आयोगले सङ्घीय प्रहरीलाई यसबारे बुझ्न पत्र काटेको छ।
यो पार्टीको मुख्य नीतिहरूमा व्यक्तिगत कर रद्द हुनुपर्ने, स्थानीय सरकारमा सुधारहरू गरिनुपर्ने र “फ्यामिली कोर्ट”को व्यवस्था हटाएर मध्यस्थता गरिनुपर्ने छन्।
एल्लो भेस्ट अस्ट्रेलिया (पहेँलो गन्जी अस्ट्रेलिया)
एल्लो भेस्ट अस्ट्रेलिया नाम मतपत्रमा पहिलो पटक देखिएको भए तापनि यो नयाँ लेबलमा पुरानै पार्टी हो।
फ्रान्सको पहेँलो गन्जी आन्दोलनबाट प्रभावित हुँदै उग्र दक्षिणपन्थी अस्ट्रेलियन लिबर्टी अलायन्सले आफ्नो नाम परिवर्तन गरेर अहिलेको स्वरूपमा यसपालि चुनावी मैदानमा होमिएको हो।
अस्ट्रेलिया इस्लामिक राष्ट्र बन्न लागेको भन्दै यो पार्टीले चेतावनी दिएको छ। इन्डोनेसिया, मलेसिया र इजिप्ट जस्ता इस्लामिक सहयोग सङ्गठनका ५६ राष्ट्रबाट अस्ट्रेलिया आउने मानिसहरूलाई यहाँ बसेको १० वर्ष नपुगेसम्म स्थायी भिसा समेत दिन नहुने उसको धारणा रहेको छ।
दि टुगेदर पार्टी (साथ-साथ पार्टी)

यो पार्टी पनि अलिक भिन्नै छ - हास्य अभिनेता मार्क स्विभेलले बनाएको यो दलको नारा पनि रमाइलै छ - “मेक अस्ट्रेलिया स्लाइटली बेटर देन एभरेज”!
त्यसो त स्विभेल एक कानुन व्यवसायी पनि हुन् र उनको पार्टीको घोषणापत्र पनि कुनै कानूनी कागजात भन्दा कम छैनन् है।
सुरक्षा बजेट आधा पारिने, त्यसबाट उब्रेको रकम उच्च शिक्षालाई निःशुल्क बनाउन लगानी गरिने, अस्ट्रेलियालाई एक गणतन्त्र बनाइने अनि देश भित्र तथा बाहिर रहेका सबै बन्दी गृहहरूलाई बन्द गरिने जस्ता भीमकाय सपनाहरू स्विभेलले मतदाताहरूलाई आफू तिर तान्न देखाएका छन्।
यसका साथै, यो पार्टी सबैले एक समान आधारभूत आय पाउनुपर्नेको पनि वकालत गर्छ र अस्ट्रेलिया नवीकर्णिय ऊर्जामा विश्वकै महाशक्ति हुनुपर्नेमा विश्वास गर्छ।
दि वुमेन्स पार्टी (महिलाहरूको पार्टी)

आफूहरूलाई एक राजनैतिक आन्दोलनको रूपमा चिनाउन प्रयत्नरत यो पार्टीको मूल उद्देश्य भनेकै सबै क्षेत्रमा लैङ्गिक समानता ल्याउनु हो। यहाँसम्म कि सङ्घीय संसद्मा समेत ५० प्रतिशत सिट महिलाहरूको निम्ति आरकक्षित गरिनुपर्ने यो पार्टीको माग हो।
विशेष गरी गर्भधारण गर्ने विषयमा महिलाहरूले आफ्नो शरीर माथि पूर्ण अधिकार पाउनु पर्ने माग पनि यो पार्टीको छ।
महिला अधिकार बाहेक यो दल भ्रष्टाचार विरोधी र मौसम परिवर्तन प्रति पनि सचेत छ।
क्लाइमेट एक्सन! इम्मिग्रेसन एक्सन! एकाउण्टेबल पोलिटिसियनस्! (मौसम कारबाही! आप्रवास कारबाही! उत्तरदायी राजनीतिज्ञहरू!)
“सिनेटर अनलाइन”बाट “अनलाइन डिरेक्ट डेमोक्रेसी” हुँदै यो पार्टी “ क्लाइमेट एक्सन! इम्मिग्रेसन एक्सन! एकाउण्टेबल पोलिटिसियनस्!” बनेको हो।
न्यु साउथ वेल्स राज्यमा दुइजना उम्मेदवारहरू उठाएको यो पार्टीसँग कुनै ठोस नीति भने छैन।
बरु, कानुनहरु बारे इन्टरनेटमा सर्वेक्षण गरेर जनतालाई नै चुन्ने अधिकार दिन्छौँ भन्छ यो पार्टी!
इन्डीपेण्डेण्ट्स फर क्लाइमेट एक्सन नाउ (अहिले नै मौसम कारबाहीका लागि स्वतन्त्रहरू)

त्यसो त आफ्ना विचारोत्तेजक चिन्तनका लागि बढी चिनिन्छन्, “इन्डीपेण्डेण्ट्स फर क्लाइमेट एक्सन नाउ” पार्टीका सिनेट उम्मेदवार एवं मुखर वक्ता एङ्ग्लिकन पादरी रड बावर।
पादरी बावर तथा यो पार्टीका अन्य “सहबद्ध स्वतन्त्रहरू” आफूहरूलाई सत् प्रतिशत मौसम परिवर्तनलाई सम्बोधन गर्न चाहानेहरुको एक समूह भन्न रुचाउँछन्। उनीहरूको कोइला तथा अन्य कार्बन उत्सर्जन गर्ने ऊर्जाका स्रोतहरूलाई विस्थापित गरेर नवीकरणीय ऊर्जालाई प्रयोग गर्नुपर्ने जस्ता वातावरणमुखी नीतिहरू छन्।
दि स्मल बिजिनेस पार्टी (सानो व्यवसाय पार्टी)

गएको मार्च महिनाको न्यु साउथ वेल्स राज्य चुनावमा भाग लिँदै मूलधार राजनीतिमा आएको “दि स्मल बिजिनेस पार्टी” अहिले सङ्घीय निर्वाचनमा होमिएको छ।
सिड्नीमा विस्तार भइरहेको “लाइट रेल” ट्र्याम नेटवर्कका कारण आफ्नो क्याफे बन्द गर्नुपरेको बताउने उक्त सहरकी काउन्सीलर समेत रहेकी एन्जेला भीथोउल्कसद्वारा यो पार्टी स्थापना गरिएको हो।
स-साना व्यवसायहरूका लागि कम कर, सस्तो ऊर्जा लगायत अनुसन्धान र विकासका लागि थप प्रोत्साहन प्रदान गरिनुपर्ने यो पार्टीका प्रमुख मागहरू हुन्।
दि अस्ट्रेलियन मेन्टल हेल्थ पार्टी (अस्ट्रेलियन मानसिक स्वास्थ्य पार्टी)

यो पार्टीको नीतिहरू आफ्नो नाम अनुरूप नै छ। अस्ट्रेलियन जनताको मानिसक स्वास्थ्यमा सुधार ल्याउनुदेखि समावेशी समाजको निर्माणका लागि गुणस्तरीय अस्पताल सेवा उपलब्ध गराउनु यस दलको उद्देश्य हो।
क्विन्सल्याण्डमा जम्मा एक उम्मेदवार उठाएको “दि अस्ट्रेलियन मेन्टल हेल्थ पार्टी”ले युवाहरूलाई दिइने मासिक भत्ता बढाउनु पर्ने र ठुल्ठुला औधोगिक कम्पनीहरूले उच्च कर तिर्नुपर्ने पनि आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
