मेलबर्नको आरएमआईटी विश्वविद्यालयले गरेको उक्त खोजका अनुसार जातीय विविधताले भरिपूर्ण टोल छिमेकमा बस्ने मानिसहरू र कमजोर मानसिक स्वास्थ्यमा गहिरो सम्बन्ध भेटिएको छ।
सामाजिक सामन्जस्यताका लागि आफ्नो छिमेकीहरूसँग सुमधुर समबन्ध बनाउन पर्छ भन्ने कुरा हामीलाई बच्चा हुँदा देखि नै सिकाउने गरिन्छ।
तर, अस्ट्रेलिया जस्तो विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने देशसम्म आइपुग्दा भने “अरूहरू” को बारेमा अनभिज्ञताका कारण उनीहरूप्रति शसंकित हुने र त्यस क्रममा बिस्तारै मानसिक स्वास्थ्यमा असर पुग्ने एक नयाँ अनुसन्धानले देखाएको छ।
यसो हुनुको मूल कारण विश्वासको सङ्कट नै हो भन्ने राय उक्त रिपोर्टको छ।
सैद्धांतिक भन्दा अनुभविय धरातलमा उभिएर तयार पारिएको भनिएको “नेबरहूड एथ्निक डाइभर्सिटी एन्ड मेन्टल हेल्थ इन अस्ट्रेलिया” नामक उक्त रिपोर्ट, अस्ट्रेलियाको जातीय विविधता र त्यसले मानसिक स्वास्थ्यमा पुर्याउने असर बारे गरिएको पहिलो वृस्तृत अध्यन रहेको पनि बताइएको छ।
Source: supplied by city of sydney
जर्नल अफ हेल्थ इकोनोमिक्समा यो महिना प्रकाशित उक्त रिपोर्टले विगत १६ वर्ष देखिको तथ्याङ्क केलाएको बताइएको छ।
ती सबै तथ्याङ्कहरू वार्षिक रूपमा गरिने “हाउस होल्ड, इनकम एण्ड लेबर डाइनामिक्स इन अस्ट्रेलिया” (हिल्डा) नामक एक सर्वेक्षणमा आधारित रहेको पनि जनाइएको छ।
उक्त अनुसन्धानको नेतृत्व गरेका र आरएमआईटीमा वरिष्ठ अनुसान्धानकर्ताका रूपमा कार्यरत डा सेफा चर्चहिलका अनुसार मानिसहरूलाई आफू भन्दा भिन्नै देखिने अन्य मानिसहरूसँग उठबस गर्दा ज्यादा मानसिक तनाव उत्पन्न हुन्छ।
साथै, त्यस्तो अवस्थालाई आफू अनुकूल बनाउने सामर्थ्य सबैसँग नहुनु स्वाभाविक नै भएको पनि उनको भनाई रहेको छ।
एसबीएस समाचारसँग कुरा गर्दै डा चर्चहिलले भने, “विविधताले भरिपूर्ण समुदायहरूमा आफू भन्दा फरक लाग्ने मानिसहरूलाई अर्कै नजरियाले हेरिन्छ, किनभने हामीलाई उनीहरूबारे केही पनि थाहा हुँदैन।”
“अनि उनीहरूबारे ससंकित हुनु, मनमा धेरै कुराहरू खेल्नु र उनीहरू के गरेर बस्दा हुन् भन्ने सोच आउनु स्वाभाविक नै लाग्छ - किनभने उनीहरू आफू भन्दा फरक देखिन्छन्!”
उनका अनुसार, त्यस्ता नकारात्मक सोचले आफ्ना फरक छिमेकीहरू प्रति बिस्तारै विश्वासको सङ्कट निम्त्याउँछ र अन्तात्वगत्ता आफू स्वयम्कै मानिसक स्वास्थ्यमा असर पुर्याउँछ।
“संसार विश्वासमा अडेको छ। जब तपाईँ आफू भन्दा अलग जात-जातिका मानिसहरूलाई विश्वास नै गर्न सक्नुहुन्न - तपाईँले आफ्नो सामाजिक सञ्जाल निर्माण गर्नसक्नुहुन्न जुन तपाईँको मानसिक स्वास्थ्यका र तन्दुरुस्तीका लागि अपरिहार्य छ,” डा चर्चहिलले भने।
तर के सबै ठाउँहरूमा स्थिति यस्तै नाजुक छ त?

Harmony day Event in Camden Source: SA
उता, अस्ट्रेलियाका जातीय समुदायहरूको परिषद् (फेक्का)का प्रमुख कार्यकारीमोहम्मद अल-खाफाजी भने अस्ट्रेलियाको अन्य समुदायहरूमा झैँ बाहिरबाट यहाँ बसाई सरेका समुदायहरूमा पनि मानसिक स्वास्थ्य सम्बन्धी चेतना बढाउन जरुरी रहेको छ।
“यो अनुसन्धानले हाम्रो समुदायहरू कसरी सुखी र सुरक्षित बन्न सक्छन् भन्ने देखाएको छ,” उनले भने।
डा चर्चहिल भने सामाजिक समावेशिता बढाउने किसिमका नीतिहरू बनाउनु पर्ने तिर जोड दिन्छन्।
“सबैलाई नजिक ल्याउने खालका कार्यक्रमहरू स्थानीय स्तरमा बन्नुपर्यो जसले हामीलाई एक अर्कासँग बोल्न, चिन्न र विभेदकारी सोचहरू त्याग्न सजिलो बनाउनेछ।”
मानसिक स्वास्थ्य सेवा बारे थप जान्न मन लागे वा सहयोग माग्न मन भए बियंड ब्लुलाई १३०० २२४ ६३६ मा वा सकंटको समयमा तत्काल सहयोग बोलाउनु परेमा लाइफ लाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस्।
READ MORE

सुखसूत्र: सरल जीवनका सूत्रहरु
Share

