SKIP TO MAIN CONTENT

अविश्वासका कारण जातीय विविधता भएका टोल छिमेकमा मानसिक समस्या धेरै

अस्ट्रेलियामा जातीय विविधता धेरै भएका टोल छिमेकका मानिसहरूले एक अर्कालाई विश्वास नगर्दा उनीहरूलाई त्यसले नकारात्मक प्रभाव पार्न सक्ने एक नयाँ अध्यनले जनाएको छ।

Participants in this year's Parramasala Multicultural Festival parade in March in Sydney
Participants in this year's Parramasala Multicultural Festival parade in March in Sydney Source: AAP

3 min read

Published

Updated

By SBS Nepali, Rashida Yosufzai

Source: SBS



Skip to article content

मेलबर्नको आरएमआईटी विश्वविद्यालयले गरेको उक्त खोजका अनुसार जातीय विविधताले भरिपूर्ण टोल छिमेकमा बस्ने मानिसहरू र कमजोर मानसिक स्वास्थ्यमा गहिरो सम्बन्ध भेटिएको छ।

सामाजिक सामन्जस्यताका लागि आफ्नो छिमेकीहरूसँग सुमधुर समबन्ध बनाउन पर्छ भन्ने कुरा हामीलाई बच्चा हुँदा देखि नै सिकाउने गरिन्छ।

तर, अस्ट्रेलिया जस्तो विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने देशसम्म आइपुग्दा भने “अरूहरू” को बारेमा अनभिज्ञताका कारण उनीहरूप्रति शसंकित हुने र त्यस क्रममा बिस्तारै मानसिक स्वास्थ्यमा असर पुग्ने एक नयाँ अनुसन्धानले देखाएको छ।

यसो हुनुको मूल कारण विश्वासको सङ्कट नै हो भन्ने राय उक्त रिपोर्टको छ।

neighbourhood bbq
Source: supplied by city of sydney

सैद्धांतिक भन्दा अनुभविय धरातलमा उभिएर तयार पारिएको भनिएको “नेबरहूड एथ्निक डाइभर्सिटी एन्ड मेन्टल हेल्थ इन अस्ट्रेलिया” नामक उक्त रिपोर्ट, अस्ट्रेलियाको जातीय विविधता र त्यसले मानसिक स्वास्थ्यमा पुर्‍याउने असर बारे गरिएको पहिलो वृस्तृत अध्यन रहेको पनि बताइएको छ।

जर्नल अफ हेल्थ इकोनोमिक्समा यो महिना प्रकाशित उक्त रिपोर्टले विगत १६ वर्ष देखिको तथ्याङ्क केलाएको बताइएको छ।

ती सबै तथ्याङ्कहरू वार्षिक रूपमा गरिने “हाउस होल्ड, इनकम एण्ड लेबर डाइनामिक्स इन अस्ट्रेलिया” (हिल्डा) नामक एक सर्वेक्षणमा आधारित रहेको पनि जनाइएको छ।

उक्त अनुसन्धानको नेतृत्व गरेका र आरएमआईटीमा वरिष्ठ अनुसान्धानकर्ताका रूपमा कार्यरत डा सेफा चर्चहिलका अनुसार मानिसहरूलाई आफू भन्दा भिन्नै देखिने अन्य मानिसहरूसँग उठबस गर्दा ज्यादा मानसिक तनाव उत्पन्न हुन्छ।

साथै, त्यस्तो अवस्थालाई आफू अनुकूल बनाउने सामर्थ्य सबैसँग नहुनु स्वाभाविक नै भएको पनि उनको भनाई रहेको छ।

एसबीएस समाचारसँग कुरा गर्दै डा चर्चहिलले भने, “विविधताले भरिपूर्ण समुदायहरूमा आफू भन्दा फरक लाग्ने मानिसहरूलाई अर्कै नजरियाले हेरिन्छ, किनभने हामीलाई उनीहरूबारे केही पनि थाहा हुँदैन।”

“अनि उनीहरूबारे ससंकित हुनु, मनमा धेरै कुराहरू खेल्नु र उनीहरू के गरेर बस्दा हुन् भन्ने सोच आउनु स्वाभाविक नै लाग्छ - किनभने उनीहरू आफू भन्दा फरक देखिन्छन्!”

उनका अनुसार, त्यस्ता नकारात्मक सोचले आफ्ना फरक छिमेकीहरू प्रति बिस्तारै विश्वासको सङ्कट निम्त्याउँछ र अन्तात्वगत्ता आफू स्वयम्कै मानिसक स्वास्थ्यमा असर पुर्याउँछ।

“संसार विश्वासमा अडेको छ। जब तपाईँ आफू भन्दा अलग जात-जातिका मानिसहरूलाई विश्वास नै गर्न सक्नुहुन्न - तपाईँले आफ्नो सामाजिक सञ्जाल निर्माण गर्नसक्नुहुन्न जुन तपाईँको मानसिक स्वास्थ्यका र तन्दुरुस्तीका लागि अपरिहार्य छ,” डा चर्चहिलले भने।

तर के सबै ठाउँहरूमा स्थिति यस्तै नाजुक छ त?

Harmony day Event in Camden
Harmony day Event in Camden Source: SA

डा सेफा चर्चहिलका अनुसार विविध पृष्ठभूमिका मानिसहरू सौहार्दपूर्ण बसेका उदाहरणहरू पनि भेटिन्छ जहाँ मिलनसार व्यक्तित्वहरूको कारण विश्वासको खाडल धेरै छैन र त्यस्ता ठाउँमा मानसिक स्वास्थ्यको स्थिति पनि राम्रै छ।

उता, अस्ट्रेलियाका जातीय समुदायहरूको परिषद् (फेक्का)का प्रमुख कार्यकारीमोहम्मद अल-खाफाजी भने अस्ट्रेलियाको अन्य समुदायहरूमा झैँ बाहिरबाट यहाँ बसाई सरेका समुदायहरूमा पनि मानसिक स्वास्थ्य सम्बन्धी चेतना बढाउन जरुरी रहेको छ।

“यो अनुसन्धानले हाम्रो समुदायहरू कसरी सुखी र सुरक्षित बन्न सक्छन् भन्ने देखाएको छ,” उनले भने।

डा चर्चहिल भने सामाजिक समावेशिता बढाउने किसिमका नीतिहरू बनाउनु पर्ने तिर जोड दिन्छन्।

“सबैलाई नजिक ल्याउने खालका कार्यक्रमहरू स्थानीय स्तरमा बन्नुपर्‍यो जसले हामीलाई एक अर्कासँग बोल्न, चिन्न र विभेदकारी सोचहरू त्याग्न सजिलो बनाउनेछ।”

मानसिक स्वास्थ्य सेवा बारे थप जान्न मन लागे वा सहयोग माग्न मन भए बियंड ब्लुलाई १३०० २२४ ६३६ मा वा सकंटको समयमा तत्काल सहयोग बोलाउनु परेमा लाइफ लाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now