लिबरल पार्टीकी पूर्व महिला कर्मचारी ब्रिट्नी हिग्गिन्स माथि देशको सङ्घीय संसद् भवन भित्रै यौन दुर्व्यवहार भएको रिपोर्ट सार्वजनिक हुँदै गर्दा "मार्च फर जस्टिस" आन्दोलन सुरु भएको हो।
अस्ट्रेलियाको संसद् महिलाहरूका लागि सुरक्षित कार्यस्थल नभएको र प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकारद्वारा यसबारे कुनै सुधारात्मक कदम नचालेको भन्दै मेलबर्नकी अध्यापिका जनिन् हेन्ड्रीले उक्त विरोध र्याली आयोजना गरेकी हुन्।
महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरले सन् १९८० को दशकमा आफ्नी एक महिला साथीलाई कथित रूपमा बलात्कार गरेको घटना बाहिर आएपछि भने मोरिसन माथि नारी सुरक्षालाई लिएर दबाब बढ्दो छ। पोर्टरले आफूद्वारा त्यस्तो कुनै कार्य नभएको बताउँदै आएका छन् भने ती महिलाले केही समय अघि आत्महत्या गरिसकेकी छिन्।
देशका विभिन्न प्रमुख सहरहरूका साथै क्यानबेरामा हज्जारौं महिलाहरूले भाग लिएको सो विरोध अगाडि बढाउनु भन्दा आफ्नो कार्यकक्षमा भेट्न हेन्ड्रीलाई प्रधानमन्त्रीले निम्तो दिएका थिए।
उनले त्यस बैठकमा सङ्घीय महिला मन्त्री मरिस् पेन् पनि उपस्थित हुने र "मार्च फर जस्टिस" अभियानका तर्फबाट चार जनासम्मलाई आफ्नो कार्यकक्षमा भेट्न आउन भनेका थिए।
तर स्कट मोरिसनको उक्त निमन्त्रणालाई अस्वीकार गर्दै अभियन्ता जनिन् हेन्ड्रीले उल्टो प्रधानमन्त्रीलाई क्यानबेराको संसद् भवन अगाडिको आमसभा स्थलमा उपस्थित भएर, सार्वजनिक रूपमा आफूहरूसँग वार्ता गर्न आह्वान गरेकी थिइन्।
जवाफमा प्रधानमन्त्री स्कट मोरिसन र उप-प्रधानमन्त्री माइकल मक्कोर्म्याक दुवैले आ-आफ्नो कार्य व्यस्तताको कारण देखाउँदै सो र्याली आफूहरू उपस्थित हुन नसक्ने जवाफ आयोजकलाई दिएका थिए।

March 4 Justice founder Janine Hendry Source: Supplied
मन्त्री पेनले पनि विरोधकर्ताको याचिका स्वयं उपस्थित भएर ग्रहण गर्नुभन्दा पत्राचारको माध्यमबाट लिने बताएकी थिइन्।
विरोध र्यालीको प्रमुख मागका रूपमा अस्ट्रेलियाली मानव अधिकार आयोगको "रेस्पेक्ट एट वर्क" वा कार्यस्थलमा आदर नामक रिपोर्ट पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने रहेको छ।
मोरिसनले भने महिला विरुद्ध हुने कुनै पनि प्रकारका हिंसा आफ्नो सरकारका लागि उच्च प्राथमिकतामा रहेको बताउँदै आइरहेका छन्।
आइतबार मिडियाकर्मीहरूसँग उनले अस्ट्रेलियामा महिला एवम् पारिवारिक हिंसाको मुद्दाहरू सर्वसम्मत तरिकाले सम्बोधन हुँदै आएका र अब पनि सोही किसिमले यी मामिलाहरू हेरिनुपर्ने बताएका थिए।
तर, आफूहरू सरकारको मुख्य द्वार अगाडि नै उपस्थित रहेको अवस्थामा बन्द कोठा भित्र बसेर विरोधकर्ताहरूको एक मण्डलीले कुरा नगर्ने आयोजक जनिन हेन्ड्रीले सोमबारै बिहान एक ट्विट मार्फत पनि भनेकी थिइन्।
"आफ्नो आवाज सुनाउन जीवनका सबै पाटाहरूबाट एक लाख भन्दा बढी महिला तथा सहयोगीहरू उपस्थित छन्। कसरी तीन जना महिलासँग मात्रै गरेको कुरा सार्थक हुन्छ?," हेन्ड्रीले सोमबार बिहान एबीसी रेडियोसँग भनिन्।
प्रदर्शनीकारीका माग
मुख्य रूपमा प्रदर्शनकारीका मागमा मानव अधिकार आयोगको "कार्यस्थलमा आदर" नामक प्रतिवेदन पुरा रूपमा लागू हुनुपर्छ भन्ने नै हो।
यसका अलावा उनीहरूले लैङ्गिक हिंसाका मामिलाहरूको स्वतन्त्र तथा निष्पक्ष जाँच हुनुपर्ने, लैङ्गिक भेदभाव ऐनलाई थप प्रभावकारी बनाउनुपर्ने, संसद् सदस्य तथा उनीहरूका कर्मचारीहरूले यौन उत्पीडन सम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्ने र अस्ट्रेलियाका सङ्घीय र राज्य सहित संसद्हरूमा महिला-पुरुषको सहभागिता ५०-५० प्रतिशत पुर्याइनुपर्ने लगायत माग अगाडि सारेका छन्।
संसद् भवनको कार्यस्थल संस्कार सम्बन्ध माथि लैङ्गिक भेदभाव आयुक्त केट जेन्किन्सले जाँच गर्ने घोषणा गरेर प्रधानमन्त्री मोरिसनले एउटा माग भने सम्बोधन गरिसकेका छन्।
अघिल्लो साता यस बारे बोल्दै प्रधानमन्त्रीले सङ्घीय संसद्को संस्कृति परिवर्तन हुनु जरुरी रहेको स्वीकार गर्दै भनेका थिए, "अस्ट्रेलियाको संसद्ले अरूका लागि उदाहरण पेस गर्नुपर्छ।"

Australian Prime Minister Scott Morrison. Source: AAP
"अस्ट्रेलियाको संसद्ले बदमासी, यौन उत्पीडन वा यौन उत्पीडनका कुनै पनि घटनाको रोकथाम र तिनका प्रतिक्रियामा सबैभन्दा राम्रो अभ्यास झल्काउनुपर्दछ।"
प्रदर्शनीमा कसले के भने?
सरकार पक्षीय केही प्रमुख नेताहरूले भाग नलिएता पनि केही सांसदहरूले सङ्घीय संसद्को प्राङ्गणमा आयोजित प्रदर्शनीमा आफ्नो सहभागिता जनाएका छन्।
कार्य व्यस्तताका कारण आफू प्रदर्शनीमा सहभागी हुन नसक्ने बताएका उप-प्रधानमन्त्री मक्कोर्म्याकलाई सोमवार बिहान संसद् भवनको ग्यालरीमा हेन्ड्रीले भेटेर पुनः र्यालीमा आउन संसद् भवन बाहिर आएर अस्ट्रेलियाका महिलाहरूले के भनिरहेका छन्, सो कुरा सुन्न आग्रह गरेकी थिइन्।
जवाफमा मक्कोर्म्याकले "हामी तपाईँका लागि के गर्न सक्छौँ, त्यो म हेर्छु तर यही नै गर्छु भनेर वाचा गर्न चाहिँ सक्दिन" भनेका थिए।
यसै बिच विपक्षी लेबर दलका केही प्रमुख पुरुष नेताहरूले पनि आफ्ना महिला कर्मचारीहरू माथि कथित रूपले दुर्व्यवहार गरेको कुरा न्युज डट कम डट एयुले प्रकाशित गरेपछि, विपक्षी नेता एन्थोनी अल्बनिजीले यस बारे प्रक्रिया मार्फत ती पीडितलाई अगाडी आउन भनेका छन्।
"अहिले यी कथित आरोपहरूमा कसैको नाम अगाडी आएको छैन," अल्बनिजीले भने।
"बेनामी आरोप भएकाले यसबारे केही पनि गर्न गाह्रो छ। यो नै सत्य हो। यदि कसैसँग यसबारे केही छ भने, म तिनका बारेमा सुन्न चाहन्छु।"
लेबरकै महिला नेतृ तान्या प्लिबर्सेकले प्रदर्शनी सुरु हुनु पूर्व बोल्दै दशकौँदेखि महिलाहरूले भेदभावको सिकार हुनुपरेको कारण समुदायमा निराशा व्याप्त रहेको बताइन्।
"अहिले धेरै नै अस्ट्रेलियाका महिलाहरूले महसुस गरिरहेको ठुलो हताशता र क्रोधको कारण यसबारेमा हामी यो भन्दै आएका छौँ, हामी दशकौँदेखि बोल्दै आएका छौँ र यदि हाम्रो सरकारले यी आग्रहहरू बेलैमा सुनिदिएको भए राम्रो हुने थियो।"
उता, प्रदर्शनीमा भाग लिनु पहिले स्वतन्त्र महिला सांसद जाली स्टेगलले यो समय न्यायको समय हो भन्दै यौन हिंसा, उत्पीडन तथा भेदभावका पीडितलाई आफ्नो आवाज सुनाएर सुरक्षित बन्न आह्वान गरिन्।
क्यानबेराको प्रदर्शनी सभामा रूपान्तरित भएपछि कार्यक्रम सञ्चालिकाका रूपमा अस्ट्रेलियाली टिभी प्रस्तोता जुलिया जेमिरोले आफ्नो सुरुवाती भाषणमा "हामी यहाँ आउनै परेका कारण यहाँ छौँ" भनिन्।
"सिस्टमले सबै महिलाहरूलाई असफल बनाइरहेको छ। महिलाहरू सुनिन चाहन्छन्, महिलाहरू आफ्नो कुराको विश्वास गरियोस् भन्ने चाहन्छन् र उनीहरू सबै ठाउँमा सुरक्षित रहन चाहन्छन्।"
आफ्नो बलात्कारको आरोप सार्वजनिक गरेपछि पहिलो पटक सार्वजनिक मञ्चमा उपस्थित भएकी ब्रिट्नी हिग्गिन्सले भावनात्मक भएर संसद् भवन बाहिर उपस्थित हज्जारौंको भेलालाई सम्बोधन गर्दै भनिन्, "म आज तपाई सामु आवश्यकता परेर बोल्दै छु। हामी आज यहाँ छौँ किनकि हामी यहाँ हुन चाहान्छौं किनकि हामी यहाँ हुनुपर्छ। हामीले मौलिक रूपमा यो प्रणालीलाई बिग्रिएको छ भनेर बुझेका छौँ।"
"हामी यहाँ छौँ किनकि यो बुझ्न कठिन छ कि हामीले अझै पनि यस्तै बासी, थकित लडाई किन लड्नु परिरहेको छ।"
यसै गरी, होबार्टमा आयोजित प्रदर्शनी सन् २०२१ को अस्ट्रेलियन अफ दि यिअर उपाधि पाएकी ग्रेस टेमले सहभागिता जनाएकी छिन्।
टेमले सो र्यालीलाई सम्बोधन गर्दै भनिन्, "यो अनुभव अद्भुत छ, सधैँ अँध्यारोमा रहेको मुद्दामा एक्कासि प्रकाश छरिएको छ जस्तै छ।"
"मौनतामा दुष्टताको वास हुन्छ। नबोलिएको बानी-व्यवहार, वास्ता नगरिएको व्यवहार, समर्थन गरिएको व्यवहार जस्तै हुन्छ।"