अस्ट्रेलियाकि वर्ष व्यक्ति रहेकी ग्रेस टेमले बलात्कार र यौन शोषणबाट प्रभावित भएकाहरुको सहयोगका लागि थप पहल हुन जरुरी रहेको बताएकी छन्।
बुधबार क्यानबेरा स्थित राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै २६ वर्षीय टेमले यौन हिंसाको सामना गर्ने महिलाहरुलाई उजुरी गर्न निरुत्साहित गर्ने बाधाहरुलाई हटाउन राष्ट्रिय स्तरमै कानूनी सुधार हुनुपर्ने बताइन।
सुश्री टेम १५ वर्ष उमेरको हुँदा, तास्मानियाको होबार्ट सहर स्थित एक निजी बालिका विद्यालयमा उनको ५८ वर्षीय शिक्षकले बलात्कार गरिएको थियो।
तर तास्मनियामा यौन शोषणबाट पीडित भएकाहरुले आफुमाथि भएको घटना सार्वजनिक गर्न नपाउने कानूनका कारण ग्रेस टेमले पनि आफ्नो बलात्कारबारे खुलेर बताउन सकेकी थिइनन्।
उक्त कानूनलाई उल्ट्याउन सफल हुने अभियानको नेतृत्व गरे बापत गत ज्यानुवरी महिनामा टेमलाई २०२० को वर्ष व्यक्ति अथवा अस्ट्रेलियन अफ द यियर उपाधिबाट सम्मानित गरिएको हो।

सङ्घीय संसद भवनमा एक महिला कर्मचारीको कथित बलात्कार भएको र एक छुट्टै घटनामा मोरिसन सरकारमा मन्त्री रहेका एक व्यक्ति माथि पनि कथित बलात्कारको आरोप प्रकाशित हुँदा ग्रेस टेमले पत्रकारहरु समक्ष सम्बोधन गरेकी हुन्।
यौन सम्बन्धमा "सहमति" को महत्वबारे जोड दिंदै उनले भनिन्, "अस्ट्रेलिया भर सहमतिको परिभाषा फरक रहन नदिन एक राष्ट्रिय मापदण्ड लागु गरिनु पर्छ।"
"हाम्रो सरकार, निर्णय गर्ने व्यक्तिहरु, नीति निर्माणमा संलग्न रहेकाहरु - राष्ट्रिय स्तरमै कानूनको सुधार हुनु जरुरी रहेको छ। सहमतिको सिद्धान्तबारे शिक्षा र नीतिमा पनि", उनले भनिन्।
"ताकी यस्ता जघन्य अपराधहरु भविष्यमा हुनसक्ने अवस्था नरहोस्।"
ग्रेस टेमले यौन शोषण बाट बचेकाहरुको कथाहरु देश र विदेशमा पनि सुनिनुपर्ने बताइन।
लिबेरल पार्टी कि पुर्व कर्मचारी ब्रिट्नी हिग्गीन्सलाई रक्षा मन्त्रीको कार्यालयमा उनको पुर्व सहकर्मीले कथित बलात्कार गरेको घटना पछि मोरिसन सरकारको आलोचना भइरहंदा, टेमले पनि ती पछिल्ला आरोपहरुबारे आएको प्रधानमन्त्री स्कट मोरिसनको प्रतिकृयाको आलोचना गरिन्।

सुश्री हिगीन्सले आफु माथि भएको कथित बलात्कार पछि, उक्त घटनाबारे आफुले आफ्नो श्रीमती जेनीसंग कुरा गरेपछि, उक्त घटनाबारे आफ्नो सोंच पनि परिवर्तन भएको मोरिसनले बताएका थिए।
"जेनीले मलाई, (हिग्गीन्स) घटनाबारे एक पिताको रूपमा हेर्न आग्रह गरिन्। यदि उक्त घटना हाम्रो छोरीहरु माथि भएकोभए के हुनेथियो?", उनले केहि हप्ता अगाडी पत्रकारहरुलाई बताएका थिए।
र प्रेस क्लबमा ग्रेस टेमले प्रधानमन्त्रीको उक्त भनाइको आलोचना गर्दै भनिन्, सहि र गलतबारे बुझ्न छोराछोरी भएको हुनुपर्दैन।"
"त्यस माथि, छोराछोरी हुँदैमा सहि गलत बुझ्ने क्षमता रहने ग्यारेन्टी हुँदैन", टेमले भनिन्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
यदि तपाईं वा तपाईंले चिनेको कोहि व्यक्ति यौन हिँसा बाट प्रभावित हुनुभएको छ भने, १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा 1800RESPECT.org.au मा हेर्नुहोस्।
मानसिक स्वास्थ्य सहायता चाहिन्छ भने बियोण्ड ब्लु लाई १३०० २२ ४६३६ मा सम्पर्क गर्नुहोस्। थप जानकारी Beyondblue.org.au मा उपलब्ध रहेको छ। एम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ नामक सेवाले बहुसांस्कृतिक र बहुभाषी पृष्ठभूमिका मानिसहरुलाई पनि सहयोग प्रदान गर्दछ।
