SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा न्यूनतम तलब दर बढ्यो, प्रति घण्टा २०.३३ डलर भन्दा कम दिनु गैरकानूनी

फेयरवर्क कमिसनले वार्षिक रूपमा हुने न्यूनतम ज्याला दर बारे नयाँ घोषणा गरेको छ।

Working in hospitality
Working in hospitality Source: SBS

2 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाभरका करिब २३ लाख कामदारहरू लाभान्वित हुने बताइएको उक्त घोषणाका साथ सबैभन्दा न्यून आय भएका मानिसहरूले अब प्रति सप्ताह १८ डलर ८० सेन्ट बढी तलब पाउने भएका हुन्।

योसँगै, अस्ट्रेलियामा सबभन्दा कम तलब पाउने मजदुरहरूले गत वर्षको तुलनामा ठुलो तलब वृद्धि भएको पाउँदै प्रति घण्टा २० डलर ३३ सेन्ट कमाउने छन् र न्यूनतम ज्यालामा फुल टाइम काम गर्ने मानिसहरूको कमाई प्रति हप्ता ७७२.६० डलर पुग्नेछ।

तर, उड्डयन लगायत फिटनेस, पर्यटन तथा केही खुद्रा क्षेत्रमा काम गर्ने कामदारहरूले भने यो वृद्धिका लागि आगामी नोभेम्बर १ तारिखसम्म कुर्नुपर्ने छ।

यसै गरी जनरल रिटेल अवार्ड अन्तर्गत रहेर कार्यरत कामदारहरूको हकमा चाहिँ बढेको तलब आगामी सेप्टेम्बर १ तारिख भन्दा अगाडी हात पर्ने छैन।

बाँकी अन्य कामदारहरूले भने नयाँ आर्थिक वर्ष वा जुलाई महिनाको पहिलो दिनदेखि गणना हुने गरी बढेको रेट अनुसार तलब प्राप्त गर्नेछन्।

युनियनहरूले भने ३.५ प्रतिशतले न्यूनतम ज्याला दर बढ्नुपर्ने माग राखेका थिए जुन स्वीकृत भएको भए अस्ट्रेलियामा न्यूनतम तलब प्रतिघण्टा २६ डलर कायम हुने थियो।

ACTU secretary Sally McManus.
ACTU secretary Sally McManus. Source: AAP

अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स भनिने अस्ट्रेलियामा रहेका ट्रेड युनियनहरूको छाता सङ्गठनकी महासचिव स्याली मक्मानस भन्छिन् कि खुद्रा पसलहरूमा काम गर्ने कामदारहरूले आफ्नो तलबमा वृद्धि भएको देख्न केही समय कुर्नु पर्ने कुरा निराशाजनक छ।

"कम्पनीहरूले रेकर्ड तोड् नाफा कमाउँदै गर्दा अत्यावश्यक खुद्रा कामदारहरूले चाहिँ आफ्नो तलब बढेको देख्न थप समय कुर्नुपर्ने कुराको औचित्य छैन," उनले भनिन्।

तर फेयरवर्क कमिसनका अध्यक्ष इयन रस् भने, अर्थतन्त्र सुधारोन्मुख रहेता पनि आर्थिक गतिविधि पुनः ओरालो लाग्न सक्ने जोखिम यथावतै रहेको बताउँछन्।

"विशेष गरेर देशभित्र प्रकोप जारी रहँदै गर्दा र आर्थिक हिसाबले बलियो मानिएका मुलुकहरूमा वाधा-व्यावधानहरू व्याप्त रहँदा जोखिम कायमै छ," उनले भने।

"खोप लगाउने काम पनि सुस्त चलिरहेकाले जोखिम घटेको छैन।"

यस्तै, तलब वृद्धिका लागि सिफारिस गरेको विज्ञहरूको टोलीले आगामी जुलाई १ देखि नै न्यूनतम सुपरएन्नुएसन दर बढ्ने कुरालाई पनि मनन गरेको बताइएको छ।

हाल साँढे नौ प्रतिशत रहेको न्यूनतम सुपर पनि भनेर चिनिने निवृत्तिभरणमा नयाँ आर्थिक वर्षबाट ०.५ प्रतिशत बढोत्तरी हुनेछ।

भुल सुधार: यो समाचारको पूर्व संस्करणमा "ठुलो तलब वृद्धि भएको पाउँदै प्रति घण्टा २० डलर ३३ सेन्ट कमाउने छन्" हुनुपर्नेमा ठुलो तलब वृद्धि भएको पाउँदै प्रति घण्टा २० डलर ८० सेन्ट कमाउने छन् भएकाले सच्चाइएको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now