एकै दिन २०० भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताउँदै न्यु साउथ वेल्स प्रिमियर ग्लाडीस बेरिजिक्लियनले उक्त भाइरस माथि “केही हदसम्म काबु पाउन सफल” भएको बताएकी छिन्।
“अहिले रिपोर्ट गरिएका अधिकांश सङ्क्रमणका मामिलाहरू विदेशबाट आएका व्यक्तिहरू वा उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएका मानिसहरूमा देखा परेको हो,” बेरिजिक्लियनले बुधवार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनिन्।
दुई महिने एक शिशु सहित एक सात वर्षिया बालिकामा पनि कोरोना सङ्क्रमण देखिएको बताइएको छ।
उनले सेल्फ आइसोलेसनमा बस्न भनिएका मानिसहरूलाई उक्त निर्देशन पालना गर्न किन महत्त्वपूर्ण रहेको छ भनेर बुझ्न पनि आग्रह गरिन्।

बेरिजिक्लियनसँगै उभिएकी राज्यकी प्रमुख स्वास्थ्य अधिकृत केरी च्यान्टले रुबी प्रिन्सेस क्रुज जहाजका अधिकांश यात्रुहरूलाई उक्त जहाज चढ्नु अगावै सङ्क्रमणको लक्षणहरू देखापरिसकेको र त्यस्तो अवस्थामा पनि किन र कसरी उनीहरू घुम्न जान पाए भनेर छानबिन हुने बताएकी छिन।
“अहिलेलाई भने हाम्रो ध्यान ती यात्रुहरू ओर्ले पछि उनीहरूको सम्पर्कमा आएका मानिसहरूलाई खोज्नु रहेको छ,” च्यान्टले भनिन्।
रुबी प्रिन्सेस जहाजका १३३ जनालाई कोरोना सङ्क्रमण हुनुका साथै ती मध्ये एकको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।
यता, भिक्टोरियामा पनि मङ्गलवार थप ५५ सङ्क्रमणहरू पुष्टि भएको प्रिमियर ड्यानियल एण्ड्रुजले मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनलाई जानकारी दिएका छन्।
योसँगै भिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ४६६ पुगेको छ।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: https://www.sbs.com.au/language/nepali/coronavirus-updates
