राज्य तथा प्रादेशिक सरकार प्रमुखहरूसँगको शुक्रवार दिउसो बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठक पछि क्यानबेरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, उनले ७० प्रतिशत जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेपछि लकडाउन तथा अस्ट्रेलियाको आन्तरिक सीमामा लागू प्रतिबन्धहरू हट्ने प्रबल सम्भावना रहेको बताएका हुन्।
हाल कोरोनाभाइरस विरुद्धको प्रतिक्रियाको पहिलो चरणमा रहेको अस्ट्रेलियामा सामुदायिक सङ्क्रमणहरूलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन लगायतका अन्य प्रतिबन्धात्मक उपायहरू लागू गर्ने गरिएको छ।
प्रधानमन्त्री मोरिसन भन्छन् कि जनसङ्ख्याको ७० प्रतिशतले खोपको दुवै मात्रा पुरा गरिसकेपछि अस्ट्रेलिया कोरोनाभाइरस विरुद्धको प्रतिक्रियात्मक चरणको दोस्रो खुड्किला उक्लने छ।
“८० प्रतिशतले खोप लगाइसकेपछि चाहिँ हामी तेस्रो चरणमा प्रवेश गर्नेछौँ,” उनले भने।
“सबैले मिलेर गरे पछि अस्ट्रेलियाले यो उपलब्धि हात पार्नेछ। यी लक्ष्य प्राप्त गर्न हामी सबै मिलेर लाग्नुपर्छ।”
तर मोरिसनका अनुसार कोभिड-१९ विरुद्धको दोस्रो चरणमा केही परिस्थितिहरूमा लकडाउन हुने सम्भावना भने कायमै रहेको छ।
यसका साथै, फेज बी भनिएको उक्त चरणका क्रममा अन्तर्राष्ट्रिय आगमनमा सङ्ख्या पुनः ६००० प्रति सप्ताहका दरसम्म पुर्याइने पनि उनले बताएका छन्।
र, पूर्णतया खोप लगाइसकेका घर फर्किने अस्ट्रेलियालीहरूलाई विशेष ग्राह्यता प्रदान गरिने पनि स्कट मोरिसनको भनाई छ।
खोप लगाउनेलाई “विशेष” सुविधा
प्रधानमन्त्रीले खोप लगाएका मानिसहरूलाई विशेष सुविधा उपलब्ध गराइने पनि बताएका छन्।
“किनकि तपाईँले खोप लगाउनुभयो भने तपाईँले कम जोखिम प्रस्तुत गर्नुहुन्छ,” उनले भने।
“तपाईँ सङ्क्रमित हुने खतरा कम रहन्छ र अरूले तपाईँबाट सङ्क्रमित हुने मौका पनि कम हुन्छ।”

देश तेस्रो चरणमा प्रवेश गरिसकेपछि भने घर फर्किन चाहने र खोपको पुरै मात्रा लगाइसकेका अस्ट्रेलियालीहरूको सङ्ख्यामा कुनै सीमा नतोकिने पनि प्रधानमन्त्रीको भनाई छ।
यसै गरी फेज सी नामक उक्त चरणमा विद्यार्थी, आर्थिक तथा शरणार्थी भिसा वाहकहरूका लागि पनि अस्ट्रेलिया प्रवेशमा लागू सङ्ख्या माथिको सीमा बढाइने उनले बताएका छन्।
"त्यसैले म अस्ट्रेलियालीहरूलाई तुरुन्तै खोप लगाउनको लागी त्यो कदम उठाउन प्रोत्साहित गर्दछु।"
