SKIP TO MAIN CONTENT

म्याच फिक्सिङको विवादको घेरामा परेको 'नेपाल टी-२० लिग'

हाल काठमाडौँमा 'नेपाल टी-२० लिग' चलिरहेको छ। निकै तामझामका साथ सुरु गरिएको उक्त प्रतियोगिता केही दिन यता थुप्रै कारणले विवादमा पर्न गएको छ।

Nepal v Netherlands - Tri Serise T20 Cricket
Nepal batsman bats against Netherlands during Tri Series T20 Cricket Tournament at TU Cricket ground in Kathmandu Nepal on April 17, 2021. Source: NurPhoto / Sunil Pradhan/NurPhoto via Getty Images

3 min read

Published

By Pratichya Dulal

Source: SBS


Skip to article content

विवादमा पर्नुका कारण मध्ये प्रमुख हुन् खेलाडीले पारिश्रमिक नपाएको, प्रतियोगिता नसकिँदै विदेशबाट आएका खेलाडी फर्किनु र सबैभन्दा ठूलो चाहिँ प्रतियोगितामा कमेन्ट्री गरिरहेका एक व्यक्तिले म्याच फिक्सिङको आशङ्कामा काम छोड्नु।

लिगमा कमेन्ट्री गरिरहेका एक जना कमेन्टेटर सचिन तिमल्सेनाले मङ्गलबार प्रतियोगितामा फिक्सिङ बताएका थिए ।

उक्त घोषणा सहित लिगको कमेन्टेटर समेत नरहेको उनले बताएका थिए।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा हाल चालु लिगमा काठमाडौँ नाइट्स टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लले उनको टोलीका खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको र आफ्नो टोलीले एन्टी करप्सन युनिट [एटीयू]मा उक्त विषयको उजुरी गरेको बताएका थिए।

म्याच फिक्सिङ जस्तो गम्भीर आरोप लागेपछि क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेको छ।

म्याच फिक्सिङ भएको प्रमाण सहित उजुरी दिन पनि क्यानले बताएको छ।

"म्याच फिक्सिङको जानकारी भएमा प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-२० लिगको एटीयूमा उजुरी बुझाउन सङ्घ अनुरोध गर्दछ," क्यानका सचिव प्रशान्त विक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि लिग आयोजक सम्पर्कमा नआएपछि क्यानले उक्त कम्पनीसँग लिग सञ्चालन गर्नका लागि गरेको सम्झौता रद्द भएको जनाएको थियो।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई क्यानले आधिकारी फ्रान्चाइज क्रिकेट प्रतियोगिताको व्यापारिक तथा रणनीतिक साझेदारको रूपमा सम्झौता गरेको थियो।

सेप्टेम्बरमा गरिने भनिएको उक्त प्रतियोगिता विभिन्न कारण देखाउँदै पछि सारिएको थियो। तर यो साताको सुरुमा भारत पुगेका सेभेन थ्री स्पोर्टसका मालिक जतिन आलुवालिया क्यानको सम्पर्कमा नआएपछि प्रतियोगिता अन्योलमा परेको थियो।

यस विषयलाई मिडियाले व्यापक रूपमा उठाएपछि क्यानले सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गरेको जानकारी दिएको थियो। ‍

यही समयमा खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै म्याच खेल्न अस्वीकार गरेका थिए।

क्यानले पारिश्रमिकका लागि सहजीकरण गरिदिने आश्वासन दिएपछि मात्र खेलाडी मैदानमा आएका थिए। ढिलो सुरु भएको उक्त खेल ९ ‍ओभरको मात्र भएको थियो।

Nepal T-20 2023.jpg
Ongoing cricket T-20 league in Nepal. Source: Facebook / Cricket Association of Nepal-CAN

क्यानले जानकारी दिए अनुसार उक्त भारतीय कम्पनीले दर्शकले खेल हेर्नका लागि तिर्ने शुल्क र नेपाली प्रायोजकबाट उठ्ने रकम क्यानलाई दिने र अन्य आम्दानी उसले राख्ने दुवै पक्षको बुझाइ थियो।

क्यानका अधिकारीहरूका अनुसार भारतीय कम्पनीका मालिक आलुवालिया पैसाको बन्दोबस्त गर्न भनी भारत गएका थिए।

उता पुगेपछि केही समय सम्पर्कमा नआएका उनले, हाल सुरक्षा लगायत विभिन्न कारण देखाएर नेपाल फर्कन आनाकानी गरेको क्यानका अधिकारीहरूले बताएका छन्।

यसै बीच प्रतियोगिताका स्टार खेलाडी सिकन्दर राजा, क्रेग विलियम्स र एक विदेशी प्रशिक्षक उमेश पटवाल फर्की सकेका छन्।

नेपालमा फ्रान्चाइज प्रतियोगिता भएको यो पहिलो पटक होइन। केही वर्षयता थुप्रै फ्रान्चाइज प्रतियोगिताहरू सञ्चालन भएका छन्।

यस्ता प्रतियोगितामा केही साना समस्याहरू देखिए तापनि यस्तो चौतर्फी रूपमा समस्या देखिएको चाहिँ यो पहिलो पटक भएको नेपाली क्रिकेटका जानकारहरूले बताएका छन्।

यसको जिम्मेवारी नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले लिनुपर्ने उनीहरूको भनाइ रहेको छ।

उक्त कम्पनीको पृष्ठभूमि राम्ररी नबुझी क्यानले सम्झौता गरेको कारण नेपालमा भइरहेको क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ जस्तो गम्भीर विषय जोडिएको आरोप समेत क्यानलाई लागेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now