आयो नेपाली: सकरूज विरुद्धको खेल अगाडी नेपाली राष्ट्रिय फुटबल टोली सिड्नी आइपुग्यो

विश्व कप र एसियाली कप फुटबल प्रतियोगिता अन्तर्गतको छनौट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका सदस्यहरू सिड्नी आइपुगेका छन्।

Nepali National Football Team arrives in Sydney

नेपाली राष्ट्रिय फुटबल टोली सिड्नी विमानस्थल स्थित आगमन कक्षमा Source: Sunita Pokharel

आज बिहान सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान किरण चेम्जोङ्गको नेतृत्वमा रहेका खेलाडीहरूलाई स्वागत गरिएको थियो।

फिफा विश्व बरीयतामा १६१औं स्थानमा रहेको नेपाल र ४४ औँ स्थानमा रहेको अस्ट्रेलिया बिच आगामी हप्ता, बिहिबार १० अक्टोबरमा क्यानबेरा स्थित जीआइओ रङ्गशालामा राती ८:०० बजे खेल हुनेछ।

“खुसी लागिरहेको छ, हामी निकै ‘लक्की’ छौँ, वर्ल्डकप खेलिसकेको टिमसँग खेल्न पाउँदा,” सिड्नी विमानस्थलमा अवतरण भएपछि एसबीएस नेपालीसँग कुरा गर्दै नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ्गले उत्साहित हुँदै भने।

नेपाली खेलाडी, प्राशिक्षक र अस्ट्रेलिया स्थित नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरुसँग गरिेएको हाम्रो कुराकानी तलको लिंकमा सुन्नुहोस्।

त्यसै गरी, नेपाली टोलीका प्रमुख प्रशिक्षक युहान कलिनका अनुसार अस्ट्रेलियाको टिम निकै बलियो रहेको र आफूहरूको लागि यो केही सिक्ने राम्रो अवसर छ।

“हामीले यही भनेर लक्ष्य तोकेका छैनौँ।”

“हामी ९०/९५ मिनेटसम्म दिलोज्यान दिएर बल बुताले भ्याएसम्मको राम्रो खेल खेल्नेछौँ, हेरौँ त्यसपछि कहाँ पुग्छौँ,” उनले भने।

Nepali Football Team arrives in Australia
Source: Sunita Pokharel

अस्ट्रेलिया नेपाल फुटबल सङ्गठन र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको युवा समूहद्वारा टोलीको व्यवस्थापनमा सहयोग गरेको भन्दै नेपाली टोलीका प्रबन्धक मधुसूदन उपाध्यायले आभार व्यक्त गरे।

उनका अनुसार नेपाली टोलीलाई एक ‘स्पोर्ट्स एकेडेमी”मा बस्ने प्रबन्ध मिलाइएको छ।

“यहाँ बस्ने नेपालीहरूले यत्रो दुःख गरेर हामीलाई राख्ने व्यवस्थापन गरी दिनुभएको छ, नेपालको तर्फबाट उहाँहरू सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौँ,” उनले भने।

नेपाली टोलीलाई स्वागतार्थ विमानस्थलमा पुगेका न्यु साउथ वेल्स राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खड्काले एउटा राम्रो रङ्गशाला पनि नभएको देशबाट अस्ट्रेलिया आएर विश्वस्तको प्रतियोगितामा भाग लिनु नेपालीहरूलाई गर्व गर्नै पर्ने कुरा भएकोमा जोड दिए।

Nepali National Football Team arrives in Sydney
"हामी आइपुग्यौँ!" Source: Sunita Pokharel

त्यस्तै, गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङका अनुसार नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्ने आशा आफूहरूले लिएको बताए।

यसै अवसरमा, एनआरएन अस्ट्रेलियाद्वारा यहाँ छरिएर रहेका नेपाली समुदायका मानिसहरूलाई खेलकुद प्रतियोगिता भाग लिन सहयोगार्थ केही धनराशि विनियोजन गरिएको पनि उनले एसबीएस नेपालीलाई जानकारी दिए।

“खेलकुदमा नेपाली समुदायलाई मद्दत होस् भनेर हामीले १२,००० डलर छुट्ट्याएका छौँ।”

पहिलो पटक अस्ट्रेलियामा नेपाली राष्ट्रिय टोली विरुद्धको प्रतिस्पर्धा हेर्न पाउँदा आफू धेरै उत्साहित रहेको विमानस्थल पुगेका स्थानीय नेपाली समुदायका सदस्यहरूको भनाइ थियो।

NRNA Members in Sydney Airport Nepali Football
Source: Sunita Pokharel

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now