मुख्य विषय:
- डनिएल एन्ड्रुज विरुद्धको कदम असफल हुने प्रायः निश्चित थियो
- ग्लाडिस बेरेजिक्लियनको लागि आजको दिन धेरै महत्वपूर्ण
भिक्टोरियाली लिबरल-न्याशनल्स गठबन्धन द्वारा हिजो प्रिमियर डानिएल एन्ड्रुज विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव असल भए पछि, बिपक्षीको उक्त कदमको एन्ड्रुजले कडा आलोचना गरेका छन्।
राज्यमा कोरोनाभाइरस नियन्त्रणमा ल्याउन एन्ड्रुज लेबर सरकार द्वारा चालिएका कदम गलत भएको भन्दै बिपक्षी नेता माइकल ओ'ब्रायनले हिजो उनि बिरुद्ध संसदमा कदम चालेका हुन्।
तर मङ्गलबार बेलुका भएको मतदानमा २३ को विरुद्ध ४४ भोटका साथ् उक्त अविश्वासको प्रस्ताव असफल भएको हो।
बिपक्षीको कदम एक "सस्तो राजनीति" भएको आरोप लगाउदै प्रिमियर दानिएल एन्ड्रुजले लिबरल नेता ओ'ब्रायनको कडा आलोचना गरेका छन्।
"भाइरस विरुद्ध लड्न उनि र उनको सस्तो राजनीतिक कदमले केहि सहयोग पुग्दैन। यो भाइरस विरुद्धको खोप हैन," एन्ड्रुजले भने।
हिजै ग्रीन्स पार्टी द्वारा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने बिपक्षीको प्रयासलाई संसदमा समर्थन नगर्ने भनि बताइएको थियो।
भिक्टोरियामा आम निर्वाचन सन् २०२२ मा हुने छ।

न्यु साउथ वेल्स प्रिमियरको लागि आजको दिन महत्वपूर्ण
ग्लाडिस बेरेजिक्लियन बिरुद्ध चाहिं हिजो बिपक्षी लेबर पार्टी द्वारा राज्य संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव माथि आज मतदान हुने छ।
प्रिमियरका पुर्व प्रेमी डारिल मग्वायर आज फेरी भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग समक्ष उपस्थित हुनलाग्दा, उक्त पुर्व सांसदका कामबारे प्रिमियरलाई कतिको जानकारी थियो भन्नेबारे पनि दबाब संसदमा जारी रहने देखिएको छ।
अविश्वासको प्रस्तावबारे आज हुने मतदानमा प्रिमियर विरुद्ध कदम चाल्ने लेबर पार्टीको प्रयास न्यु साउथ वेल्स संसदको तल्लो सदनमा असफल हुने देखिएता पनि माथिल्लो सदनमा चाहिं शूटर्स फिशर्स एण्ड फार्मर्स पार्टी र वान नेशनको समर्थनका साथ् सफल हुनसक्ने बताइएको छ।
प्रतिनिधि सभामा लिबरल गठबन्धनको बहुमत रहेको छ भने माथिल्लो सदनमा आफ्नो नीति पारित गराउन सरकारलाई अन्य पार्टीहरुको समर्थन चाहिने हुन्छ।
ग्लाडिस बेरेजिक्लियनले आफ्नो व्यक्तिगत जीवनमा गरिएको गल्ति र आफ्नो सरकारी काम बीच कुनै सम्बन्ध नरहेको अडान कायम राख्दै आफुले सधै न्यु साउथ वेल्सका बासिन्दाहरुको हीतमा काम गर्ने जोड दिएकी छन्।
लेबर नेत्री जोड़ी मक्-के ले चाहिं बेरेजिक्लियनले आफ्नो प्रेमिकाको कथित भ्रष्टाचारबारे जानकारी बारे आफ्नो आँखा बन्द गरेको आरोप लगाएकी छन्।

