नोबल पार्कका २६ बर्सिया सङ्क्रमितको निकट आएका १७ मध्य १६ जनाको परीक्षण भएकोमा कसैमा पनि सङ्क्रमण देखिएन ।
बाँकी एकको भने आज सम्म रिपोट आउने बताइएको छ ।
अधिकारीहरूले ह्यात होटेलमा अस्ट्रेलियन ओपन सम्बन्धी खेलका लागि आएकाहरूको क्वारेनटिनमा सहयोगीका रूपमा कार्यरत व्यक्तिमा होटेलमै बसेका व्यक्तिबाट सङ्क्रमण भएको हुन सक्ने आशङ्का गरेका थिए ।
२४ घण्टामा राज्यमा १४ हजार ६ सय भन्दा बढी कोरोना जाँच भएको छ ।
विदेशबाट फर्किएर होटेल क्वारेनटिनमा बसेका तिन व्यक्तिमा भने कोरोना पुष्टि भएको छ।
राज्यका प्रिमीयर ड्यानिएल एन्ड्रीउजले “आशा गरेको जस्तै उत्तम नतिजा आएको” बताए।
यद्यपि आगामी दिनमा अन्य सङ्क्रमणको चिन्तालाई भने नर्कान नसकिने उनले बताए ।
“सङ्क्रमितको सबैभन्दा निकट आएका १७ मध्य १६ जनाको रिपोट नकारात्मक आएको छ ” उनले भने ।
“यसको मतलब यो होइन की पछि गएर उनीहरू भाइरस सकारात्मक देखिँदैनन् ,त्यसैले आइसोलेसन पुरा गर्नु र हामीले भनेका कुराको अनुसरण गर्नु निकै महत्त्वपूर्ण छ।”
राज्यका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सट्नले होटेल कर्मचारीमा उच्च संक्रमणयुत्त बि–११७ भाइरसको सङ्क्रमण भएको पुष्टि गरेका छन् ।
“हामीले भनेझैँ सङ्क्रमण रोकथाम र नियन्त्रण प्रोटोकल र व्यक्तिगत सुरक्षा सामाग्रीमा कुनै पनि स्पष्ट उल्लङ्घन देखा परेको छैन । हामी विश्वस्त छौ यो समुदायमा सरिसकेको छैन ।”
