सिड्नीमा आयोजित पत्रकार सम्मेलनका क्रममा न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त विरोध सभामा सरिक हुने मानिसहरूको सङ्ख्या निकै बढेको र त्यसका आयोजकहरूले सुरक्षित सामाजिक दुरीको प्रत्याभूति सरकारलाई दिन नसकेका कारण पहिले जारी गरिएको अनुमति अब फिर्ता लिइएको बताएकी हुन्।
सार्वजनिक स्वास्थ्य सम्बन्धी आदेशहरूको अवज्ञा हुने गरी आफ्नो सरकारले कसैलाई पनि भेला हुन नदिने बताउँदै अब उक्त प्रदर्शन गैर-कानुनी भएको बताएकी छिन्।
“म यो कुरा स्पष्ट पार्न चाहन्छु - न्यु साउथ वेल्स सरकारले स्वास्थ्य आदेशलाई समर्थन नगर्ने हजारौँ प्रदर्शनकारीहरूलाई कहिल्यै हरित झन्डा देखाउने छैन,” उनले भनिन्।

प्रिमियर बेरिजिक्लियनका अनुसार र्यालीलाई पूर्व घोषित योजना मुताबिक अगाडी बढ्न नदिन सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गर्न निवेदन गरिनेछ।
प्रदर्शनका लागि प्रहरीसँग मागिएको अनुमतिको बेला प्रस्तुत प्रस्ताव र हाल भनिएको कुरा विरोधाभास पूर्ण रहेको पनि उनको भनाइ छ।
ग्लाडिस बेरिजिक्लियका अनुसार उक्त प्रदर्शन अगाडी बढेमा त्यसले स्वास्थ्य आदेशहरूको ठाडो रूपमा उल्लङ्घन गर्नेछ।
“न्यु साउथ वेल्समाहामी कहिले पनि त्यस्तो स्थितिमा रहन चाहँदैनौँ जहाँ व्यक्तिहरू स्वतन्त्रताको अभिव्यक्तिबाट वञ्चित छन्, तर यसलाई अलिक फरक दङ्गले गर्नु पर्यो। हज्जारौं मानिसहरू एकैसाथ भेला हुन सक्दैनन्। यो भाइरस एक वा दुई जनामा मात्रै पनि छ भने त्यो काफी हुन्छ।”
१० भन्दा माथिको समूह भए जरिवाना

उता, राज्यका प्रहरी प्रमुख मिक् फुलरले भोलि हुने भनिएको “ब्ल्याक लाइफ म्याटर्स” प्रदर्शनमा १० जनाभन्दा बढीको समूहमा मानिसहरू उपस्थित भए उनीहरूलाई हाल प्रचलित कानुन अनुसार जरिवाना गरिने बताएका छन्।
“यदि भोलि पीट स्ट्रिटमा १० जना देखा परे भने हामी उनीहरूलाई शुभ कामना व्यक्त गर्नेछौँ,” फुलरले भने।

“तर यदि सयौँ हजारौँको सङ्ख्यामा मानिसहरू देखा परे भने उनीहरूले स्वास्थ्य सम्बन्धी आज्ञाहरूको बर्खिलाप गएको ठहर्ने छ र यदि उनीहरूले सर्वोच्च अदालतको आज्ञाको पालना गरेनन् भने प्रहरीले अवश्य पनि आफ्नो सबै शक्तिहरूको प्रयोग गर्नेछ।”
प्रिमियर बेरिजिक्लियले आफ्नो राज्यमा कोरोनाभाइरसको दोस्रो लहर सुरु हुनसक्ने निकै सम्भावना रहेको बताउँदै यस्ता आम विरोधका कार्यक्रमहरू सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि चुनौतीपूर्ण रहने जिकिर गरेकी छिन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

