तिन महिना बढी भयो न्यु साउथ वेल्सवासीले राज्यकी प्रिमियरका रूपमा ग्लाडिस बेरिजिक्लियनलाई निरन्तर कोभिड अपडेटका साथ देख्न थालेको।
राज्य कोभिड सङ्क्रमणको सबैभन्दा खराब परिस्थितिबाट गुज्रँदा उनले दिने कोभिड जानकारीको राज्यवासीलाई बानी नै बसिसकेको थियो।
तर शुक्रवार निकै भावुक देखिएकी प्रिमियरले सबैलाई आश्चर्यमा पार्दै पद बाट राजीनामा दिएको घोषणा गरिन।
राज्यको भ्रष्टाचार विरुद्धको नियामक निकायले बेरिजिक्लियनले सर्वसाधारणको विश्वास तोडेको बारे उनि माथी अनुसन्धान गरिने खुलासा गरेपछि उनको राजीनामा आएको हो।
ग्लाडिसले सम्बोधन गरेको वक्तव्य भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (आइक्याक) द्वारा जारी गरिएको हो।
आइक्याकले सन् २०१२ देखि २०१८ सम्म वागा वागाबाट पूर्व सांसद रहेका ड्यारिल मग्वाएरसँग व्यक्तिगत सम्बन्धमा रहँदा ग्लाडिस बेरेजिक्लीयनको आचरणलाई लिएर अनुसन्धान गरि राखिएको खुलासा गरेको थियो।

गत वर्ष, प्रिमियर बेरिजिक्लियनले आफ्नो पदको आडमा व्यक्तिगत आर्जन गरेको मामिलाका कारण अपमानित सांसदसँग आफ्नो गोप्य सम्बन्ध रहेको खुलासा गरेर धेरैलाई आश्चर्यमा पारेकी थिइन।
त्यति बेला उनले भनेकी थिइन, "म अत्यन्तै अन्तर्मुखी व्यक्ति हो र मलाई मेरो सम्बन्धलाई सार्वजनिक गर्ने पर्ने आवश्यकता अनुभव गरिन।"
उक्त घटना पश्चात् उनको नाम जोडिए पनि उनलाई केही हानी भने पुगेन। अझ कति पय क्षेत्रमा त उनको लोकप्रियता झन् बढ्यो।
तर अहिले त्यही सम्बन्धका कारण उनीमाथि अनुसन्धान हुन थाल्यो जसले गर्दा ४ वर्ष देखि प्रिमियरका रूपमा रहेकी उनले आफ्नो कार्यकाल सकिनु पूर्व नै पदबाट राजीनामा दिनु पर्यो।
आइक्याकले उक्त सम्बन्धले 'सर्वसाधारणको विश्वास तोड्ने' वातावरण बनाउँदै 'सार्वजनिक दायित्व र व्यक्तिगत चाहना बिच द्वन्द हुने अवस्था' बनाए नबनाएकोबारे अनुसन्धान गरिरहेको छ।
"मलाई मेरो काम प्रति माया छ र समुदायको सेवा गर्न मन लाग्छ तर आज जारी गरिएको बक्तब्य पश्चात् म सँग अन्य कुनै विकल्प नै रहेन।"
यसले विशेष गरि अस्ट्रेलियन क्ले टार्गेट एसोसिएसन र रिवेरिना कन्जरभेटोरियम अफ म्युजिकलाई अनुदान दिएको वा दिने वाचा गरेको बारे जाँच गर्नेछ। साथै उनले पूर्व सांसद मग्वाएरको 'भ्रष्ट आचरण' लाई स्वीकारेको वा प्रोत्साहित गरे नगरेको बारेमा पनि अनुसन्धान हुनेछ।
तर बेरिजिक्लियनले भने आफ्नो दायित्व इमान्दारिताका साथ निभाएको दाबी गरेकी छन्।

उनको लोकप्रियता देशमा सबैभन्दा खराब डढेलोको सिजनमा उच्च बिन्दुमा पुगेको थियो। साथै उनले कोभिड-१९ महामारीको सुरुवातमा परिस्थितिलाई समयमा नै नियन्त्रणमा लिएको भन्दै कतिपयले त उनको कदमलाई 'सुनौलो मापदण्ड' रूपमा समेत व्याख्या गरेका थिए।
तर उक्त प्रशंसा डेल्टा सङ्क्रमण सुरुवात पूर्व सम्म मात्र सीमित रह्यो।
पछिल्ला केही महिनाहरूमा प्रिमियरले सिड्नीमा लकडाउन निकै ढिलो गरि सुरु गरेको भन्दै आलोचना भइरहेका छन्। उनीमाथि पर्याप्त लकडाउन नगरिएको भन्दै समेत आलोचना हुने गरेका छन्।
बेरिजिक्लियनले राजीनामा दिइरहँदा क्यानबेरामा सञ्चार कर्मी माझ सम्बोधन गरिरहेका प्रधानमन्त्री स्कट मोरिसनले राजीनामा घोषणाका बारेमा आफूलाई जानकारी नभएको बताए पनि प्रिमियरले विषम परिस्थितिमा देखाएको नेतृत्व क्षमताको प्रशंसा गरेका थिए।
उक्त राजीनामा पश्चात् अब ग्लाडिस बेरिजिक्लियनलाई प्रतिस्थापन गर्ने प्रतिस्पर्धामा राज्यका ट्रेजरर डोमिनिक पेरोटे अग्र स्थानमा रहेका छन् , यद्यपि रोजगार मन्त्री स्टुअर्ट आयर्स र योजना मन्त्री रब स्टक्सको नाम पनि अगाडी ल्याइएको बताइएको छ।
न्यु साउथ वेल्सका सम्पूर्ण लिबरल सांसदहरूले ४६ औँ प्रिमियर छनौटका लागी मङ्गलवार हुने बैठकमा आफ्नो मत राख्ने छन्।
न्यु साउथ वेल्स राज्यको राजनीतिक पृष्ठमा अर्को एक अविस्मरणीय अध्यायको अन्त्य भएको छ तर जाँदा जाँदै पनि बेरिजिक्लियनले आफ्नो नेतृत्व र आचरणको पूर्ण आत्मविश्वासका साथ बचाउ गरेकी छन्।
