कोभिड-१९ का कारण विगत १७ महिना देखि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ र सीमा प्रतिबन्ध कहिले खुल्ने हो टुङ्गो छैन। यस्तो अवस्थामा आप्रवासी समुदायका लागी सेवा दिँदै आएका धेरै ट्राभल एजेन्टहरू यो व्यवसायमा आफ्नो भविष्य नभएको बारे सोच्न बाध्य भएका छन्।
२०२० मार्च २० देखि अस्ट्रेलियाका स्थायी बासिन्दा र नागरिक बाहेकका मानिसहरूलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको थियो।
प्रधान मन्त्री स्कट मोरिसनले अस्ट्रेलियाभरका ८० प्रतिशत योग्य मानिसहरूले कोभिड-१९ विरुद्धको खोप लगाई सकेपछि बिस्तारै अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध खुल्न सक्ने घोषणा गरेका छन्।
तर, प्रधानमन्त्री मोरिसनले त्यस्तो व्यवस्था सिंगापुर र अन्य प्यासिफिक राष्ट्रहरू लगायतका सीमित देशहरूमा मात्र लागू हुन सक्ने बताएका छन्।
राष्ट्रिय मन्त्रिमण्डलको स्वीकृत नीति "चार चरण" को योजनामा चौथो र अन्तिम चरणमा अन्तर्राष्ट्रिय सीमा खोल्ने विषय समावेश गरिएको छ।

पश्चिम सिड्नीका ट्राभल एजेन्ट महेन्द्र लम्साल भन्छन् कि छिटै सीमा खुल्ने बारे उनी आसावादी छन् तर यस वर्षको अन्त्यसम्ममा खोप लगाइसक्नु पर्ने सङ्ख्या पुरा भए पनि नेपालका लागी सीमा खोलिने हो कि हैन भन्नेमा उनलाई आशङ्का छ।
नेपाललाई "सुरक्षित" राष्ट्रहरूको सूचिमा राखिनेबारे आशङ्का व्यक्त गर्दै उनले आफ्नो व्यवसायले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, अस्ट्रेलियाली नागरिकका अभिभावकहरू, अस्थायी भिसामा रहेकाहरू लगायतका प्राथमिक रूपमा अस्ट्रेलिया र नेपाल आवत जावत गर्ने मानिसहरूलाई सेवा प्रदान गर्ने हुँदा सीमा बन्दका कारण व्यवसायमा निकै ठुलो असर परेको बताएका छन्।
नेपालमा जन्मिएका लम्सालको कोभिड-१९ महामारी पूर्व स्ट्राथफिल्डमा अवस्थित कार्यालयमा तिन जना कर्मचारीहरूले प्रत्येक महिना झन्डै दुई सय ग्राहकहरूलाई सेवा प्रदान गर्ने गरेका थिए।
अहिले भने उनको एजेन्सी यती ट्राभल्स अस्ट्रेलिया उनले घर बाट नै सञ्चालन गरिरहेका छन्। उनी अहिले महिनामा दश वटा भन्दा कम टिकट बेचिरहेका छन् त्यो पनि ओहोर-दोहोर गर्ने भन्दा पनि अधिकांश अस्ट्रेलियाबाट बाहिर जाने मात्र छन्।
धेरैको समस्या एउटै मेलबर्नका ट्राभल एजेन्ट भिम न्यौपानेले पनि उस्तै समस्या भोग्नु परेको छ।

बुद्ध ट्राभल एन्ड टुर्सका संस्थापक तथा निर्देशक न्यौपानेले कोरोना भाइरस महामारी पूर्व आफ्नो अस्ट्रेलिया, न्यु जिल्यान्ड र नेपालमा रहेका एजेन्सीहरूमा १८ जना कर्मचारीहरू कार्यरत रहेको बताए।
फस्टाउँदै गरेको आफ्नो एजेन्सीमा ग्राहकहरूलाई सेवा प्रदान गर्न सहज हुने गरी नयाँ प्रविधिहरूको लागी लगानी गरेको उनको भनाइ छ।
अहिले उनले आफ्ना सम्पूर्ण कार्यालयमा दश जना कर्मचारीहरूलाई भने रोजगारी दिइरहेका छन्।
एसबीएस नेपालीसँग एक वर्ष अगाडी कुरा गर्दै भिम न्यौपानेले भिक्टोरिया लकडाउनहरूबाट बाहिरिँदै गर्दा आफ्नो व्यवसाय पनि पहिले कै अवस्थामा आउनेमा आफू सकारात्मक रहेको बताएका थिए।
लम्साल र न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तर, अस्ट्रेलिया, नेपाल लगायत विश्वका केही भागमा नै प्रतिबन्ध र लकडाउन लगाउने क्रमको पुनः सुरुवात भए पछि भने यो अनिश्चितताले उनलाई अत्यन्त चिन्तित बनाएको छ।
उनी भन्छन् धेरै ग्राहकहरूले सीमा खुल्ने आशामा टिकट लिएका थिए तर अहिले आएर उनीहरूले आफ्नो बिचार परिवर्तन गर्न थालेका छन्।

थप आर्थिक सहयोगको याचना
अस्ट्रेलियाको खुद्रा यातायात व्यवसायहरूको प्रतिनिधित्व गर्ने प्रमुख संस्थाले अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा यसका सदस्यहरूले आफ्नो आयमा ९५ प्रतिशत भन्दा बढी गुमाउनु परेको बताएको छ।
“अस्ट्रेलियाको ट्राभल एजेन्टहरूको महासङ्घका अनुसार "अनुमानित १५ हजार रोजगारी गुमाइएको छ। …. र अस्ट्रेलियाका ट्राभल एजेन्ट मार्फत यात्राको लागी गरिएको बुकिङमा कोभिडका कारण अनुमानित १० अरब डलर बराबरको असर परेको छ।"
महासङ्घका प्रमुख टम मेन्वरिङ्गले संघिय सरकारलाई ट्राभल एजेन्टहरूलाई २०२१ को अन्त्यसम्मका लागी हालको आर्थिक सहयोगलाई जारी राख्न आग्रह गरेका छन्।
"यसले गर्दा हाम्रो उद्ध्योगमा करिब २२ महिना देखि भएको लकडाउनका लागी सहयोग अत्यन्त जरुरी छ," मेन्वरिङ्गले भने।
"हाम्रो क्षेत्रका करिब ७५ प्रतिशत जागिरहरू अहिले गुमेका छन् र बाँकी रहेका २५ हजार जागिरहरू, ३ हजार ट्राभल एजेन्सीहरू र व्यवसायहरूका लागी सहयोग जारी राख्नु जरुरी छ ताकि हामीले ग्राहकहरूलाई सेवा प्रदान गरिरहन सकौँ।"
यसका लागी मोरिसन सरकारले अहिलेसम्म २५ करोड ८० लाख डलर बराबरको सहयोग रकम दुई चरणको सहायता कोष मार्फत प्रदान गरिसकेको छ। यसले "योग्य ट्राभल एजेन्टहरू र टुरको व्यवस्थापन सेवा प्रदायक" हरूलाई व्यवसायलाई जीवित राख्ने उद्देश्य लिएको छ।
व्यवसायको आकार हेरेर १,५०० डलर देखि १ लाख डलर सम्मको सहयोग रकम प्रदान गरिएको छ।

टम मेन्वरिङ्गले आर्थिक सहयोगलाई स्वागत गर्दै पहिलो चरणको सहयोगबाट प्राप्त १२ करोड ८० लाख डलर ट्राभल एजेन्टहरूको बिचमा बाँडिएको बताएका छन्। यसको हिसाबले एक स्टोरले लगभग ३० हजार डलर प्राप्त गरेको छ।
गएको मार्च महिनामा दोस्रो चरणको सहायताको घोषणा गर्दै व्यापार, पर्यटन र लगानी मन्त्री ड्यान टिहानले उक्त भुक्तानीले ट्राभल एजेन्टहरू र टुर सञ्चालकहरूलाई "कोभिड-१९ का कारण यात्रा गर्न नसकेका उपभोक्ताहरूलाई क्रेडिट दिने तथा रकम फिर्ता गर्ने कानुनी दायित्व पुरा गर्न" सहयोग गर्ने बताएका छन्।
"उक्त रकम रकम वितरण गरिएको छ जसमा अहिले हामीले भनिरहँदा ४० प्रतिशत भुक्तानी गरिसकिएको छ भने बाँकी मध्येको अधिकांश अगस्ट महिनाको अन्त्य सम्ममा हुने छ," महासङ्घका प्रमुख टम मेन्वरिङ्गले भने।
सङ्घीय सरकारले पनि राज्य र टेरिटरी सरकारको लकडाउन घोषणाका कारण "काम वा आय गुमाउने" मानिसहरूको लागी कोभिड-१९ विपद् भुक्तानीको घोषणा गरेको छ।

वैकल्पिक आयस्रोतको खोजी
महेन्द्र लम्साल र भिम न्यौपाने दुवैले केही हद सम्म सरकारको आर्थिक सहयोगले आफूहरूको व्यवसायलाई सहयोग पुर्याएको भए पनि त्यो पर्याप्त नभएको बताएका छन्।
किनभने विशेष गरि उनीहरूका केही कर्मचारीहरू जब किपर जस्ता योजना अन्तर्गतको रकम पाउन योग्यहरूको सूचिमा पर्दैन।
आफ्नो व्यवसायलाई जोगाउन र सञ्चालन गर्दा हुने खर्च घटाउन लम्सालले आफ्नो भाडामा लिएको कार्यालय स्थललाई खालि गर्नु पर्यो र अहिले उनी घरबाट नै व्यवसाय सञ्चालन गरिरहेका छन्।
साथै उनले पश्चिम सिड्नीमा घर जग्गा व्यवसाय वा रियल इस्टेट एजेन्टको रूपमा रहेको आफ्नो वैकल्पिक कामलाई बढाउन ध्यान केन्द्रित गरेका छन्।
उनी भन्छन् आफू जस्तै ट्राभल एजेन्टहरूले वैकल्पिक योजना बनाएका छन् जसले गर्दा यदि ट्राभल उद्योगबाट आय नभए पनि अन्य काम गर्न सकिन्छ।
पहिले यस्तो रोजगारीको विकल्पबारे नसोचेकाहरूले पनि अहिले आएर यसबारे सोच्न थालेको उनको भनाइ छ।
अहिले मेलबर्न सिबिडीमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका भिम न्यौपानेले जारी लकडाउन र उच्च भाडाका कारण आफ्नो व्यवसायमा थप दबाब परेको बताएका छन्।
तर उनी भविष्यलाई लिएर आसावादी छन् र आशा गर्छन् कि खोप लगाइसकेका यात्रीहरू अस्ट्रेलिया सजिलै आवत जावत गर्न पाउने छन् र अन्ततः यसले ग्राहकहरू फिर्ता ल्याउने छ।
महेन्द्र लम्साल भने अलि सतर्क भएर कदम चाल्ने बताउँछन्।
भविष्यमा के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको तर यदि सरकारले खोपको पुरा डोज लगाएकाहरूलाई यात्रा गर्न दिइने व्यवस्था ल्याए आफूले पनि व्यवसाय पुनः सञ्चालन गर्न सक्ने उनको भनाइ छ।
तर उनले आफ्ना ग्राहकहरूलाई फिर्ता ल्याउनु र उनीहरूलाई सेवा प्रदान गर्न सक्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन्।
