कोरोनाभाइरसका कारण अस्पतालहरूमा मानिसको बढ्न सक्ने चापलाई ध्यानमा राख्दै चिकित्सकहरूसँग निःशुल्क फोन मार्फत परामर्श गर्न मिल्ने र सीमित अवधिका लागि खुल्ने पप-अप-क्लिनिकहरूको व्यवस्थाका सहितको २.४ अर्ब डलरको एक राहत प्याकेज सङ्घीय सरकारले घोषणा गरेको छ।
केन्द्रीय सरकारमा स्वास्थ्य मन्त्री रहेका ग्रेग हन्टले अस्ट्रेलियाभर कोरोनाभाइरसद्वारा सङ्क्रमित भएका भनिएका १०० जना मध्ये आधा भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेको बताउँदै गर्दा उक्त घोषणा भएको हो।
कोरोनाभाइरस सङ्कटको प्रतिक्रिया स्वरूप प्रधानमन्त्री स्कट मरिसन तथा स्वास्थ्य मन्त्री ग्रेग हन्टद्वारा सार्वजनिक गरिएको उक्त राहत प्याकेज बाहेक थप व्यवस्था भोलि घोषणा गरिने पनि बाचा गरिएको छ।
“यो एक स्वास्थ्य सङ्कट हो। यो एक संक्रामक स्वास्थ्य अवस्था हो,” उनले भने।
उक्त घोषणा अनुसार देशभर खुल्ने १०० भन्दा बढी पप-अप-क्लिनिकहरूमा सङ्क्रमित मानिसहरूलाई अस्पतालमा दिइने उपचार प्रदान गरिनेछ।
यसै गरी, शुक्रवारदेखि मेडीकेयर कार्ड बाहक बिरामीहरूले फोनैबाट निःशुल्क कोरोनाभाइरस सङ्क्रमित भए-नभएको बारे पत्ता लगाउन आ-आफ्ना जीपीहरूसँग प्रश्नोत्तर गर्न पाउनेछन्।
कोरोनाभाइरस सङ्कटका कारण राष्ट्रिय ध्वजावाहक क्वान्टसले आफ्ना हवाई सेवा एक चौथाइले घटाएको छ भने अस्थायी रूपमा शैक्षिक संस्थाहरू पनि बन्द गर्न सकिने सम्भावना छ।
तर, स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएको युरोपेली मुलुक - इटालीमा जस्तो देशभर नै लागू हुने गरी यात्रा प्रतिबन्ध लगाइहाल्नुपर्ने अवस्था हाल नरहेको बताएका छन्।
कोभिड-१९ आधिकारिक नाम दिइएको कोरोनाभाइरसका कारण इटालीमा हालसम्म ९,००० मानिस सङ्क्रमित हुनुका साथै ४६० जनाको मृत्यु भइसकेको छ।

भिक्टोरियामा गए राति थप एक जना कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि हुँदै गर्दा प्रिमियर ड्यानियल एण्ड्रुजले राज्यको आपत्कालीन व्यवस्था हेर्ने राज्य नियन्त्रण केन्द्रलाईपप-अप-क्लिनिक तथा फोनैबाट डाक्टरहरूसँग सम्पर्क गर्न सकिने लगायतका सुविधाहरू सहितको एक राहत प्याकेज मरिसन सरकारले गरेको छ। सम्भावित कोरोना सङ्कटलाई ध्यानमा राख्दै सुचारु गरिएको बताएका छन्।
“कोरोनाभारइसले स्कुल देखि व्यवसायहरू सम्पूर्ण भिक्टोरियाली समुदायलाई प्रभावित तुल्याउने छ - त्यसैले गर्दा सरकारका सम्पूर्ण संरचना यस महामारी विरुद्ध परिचालन गर्नुपर्नेछ।”
रोयल मेलबर्न हस्पिटल, अल्फ्रेड हस्पिटल, अस्टिन हस्पिटल, बक्स हिल हस्पिटल, मोन्याश क्लेटन, नर्दन हस्पिटल र सन्शाइन हस्पिटल गरी मेलबर्नमा हाल सात वटा कोरोनाभाइरस परीक्षण क्लिनिकहरूको स्थापना गरिसकिएको छ।

उता, नर्दन टेरोटेरी सरकारले राज्यभर रहेका ७२ वटा सुदूर आदिवासी समुदायकहाँ जान रोक लगाउने बारे छलफल भइरहेको बताएको छ।
ती समुदायहरूमा करिब ६ लाखको हाराहारीमा आदिवासीहरू रहेको बताईएको छ र हालसम्म उनीहरूमा कोरोनाभाइरस नदेखिएका कारण नर्दन टेरोटेरी सरकारले उक्त यात्रा निर्देशिका जारी गर्न सोच बनाएको हो।
सन् २००९ को स्वाइन फ्लु महामारीका बखत अस्ट्रेलियाको कुल जनसङ्ख्याको तीन प्रतिशत अबोरिजिनी मानिसहरूको बाहुल्यता रहेता पनि अस्ट्रेलियाभर उक्त फ्लुद्वारा सङ्क्रमित भएका मध्ये करिब ११ प्रतिशत आदिवासीहरू थिए।

