सामुदायिक सङ्क्रमण बिना ५३ दिन बिती सक्दा, भिक्टोरियामा कोभिड-१९ मुक्त क्रिसमसको आशा गरिएको छ। तर मानिसहरू अझै पनि केही समय अघिको भाइरसको दोस्रो लहरले गरेको क्षति भोग्न बाध्य छन्।
स्पिरोस भासालाकिसले यस पालिको क्रिसमस आफ्नी आमा बिना मनाउनु पर्ने हुन्छ। उनी भन्छन्, "म एउटा समारोहमा जानु पर्ने छ, र त्यो दिन आफूलाई कसरी सम्हाल्ने मलाई थाहा छैन।"

भिक्टोरियाको होटेल क्वारेन्टिन योजनाका कारण भएको भनिएको दोस्रो लहरमा ज्यान गुमाउने ८०० भिक्टोरियालीहरू मध्य स्पिरोसकी आमा मारिया भासालाकिस पनि एक हुन्।
उक्त योजना बारे पछिल्लो अनुसन्धानको रिपोर्टले निजी सुरक्षा कर्मचारीहरूको प्रयोगमा सुरु देखि नै उचित ध्यान नदिइएको बताउँछ।
सम्पूर्ण कामदारहरूलाई कोभिड-१९ बाट सङ्क्रमित हुने भारी सम्भावना रहेको त्यो समयमा सुरक्षा कर्मचारीहरूको विषयमा निकै लापरबाही भएको पूर्व न्यायाधीश जेनिफर कोटले उक्त ५०० पृष्ठको रिपोर्टमा बताएकी छिन्।

त्यस 'निर्णय' मा आफ्नो भूमिका नभएको र आफू जिम्मेवार नभएको प्रिमियर डानियल एन्ड्रुज देखि उनका सबै मन्त्रीहरूले दाबी गरेको कोटले बताइन्।
तर स्पिरोस भासालाकिसको लागि भने यो जवाफ पर्याप्त छैन।
"त्यो निर्णय कसले लिएको थियो - जवाफ चाहिन्छ! कसैले पनि त्यो फैसला नलिएको हुनै सक्दैन।", उनले भने।
रिपोर्ट अनुसार, २७ मार्चमा भिक्टोरियाली सरकारले सबै अन्तराष्ट्रिय आगमनहरू अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने घोषणा गरेको थियो।
यसै दिनको एउटा बैठकमा निजी सुरक्षा कर्मचारीहरू प्रयोग गर्ने निर्णय लिइएको थियो, र ३६ घण्टा पछि उक्त योजना जारी गरिएको थियो।
कोट भन्छिन्, "कठिन समयमा सबैले निकै मिहिनेत गरेको कुरामा कुनै शङ्का छैन।"
तर सम्भावित जोखिमहरूको बारेमा विस्तृत रूपमा भने ध्यान नदिइएको, जसका कारण योजना असफल भएको उनको भनाइ छ।
यता सरकारले आफ्ना गल्तीहरूबाट पाठ सिकेको प्रिमियर एन्ड्रुज बताउँछन्।
"होटेल क्वारेन्टिन योजनामा भएका त्रुटिहरूका लागि म भिक्टोरियाली समुदाय समक्ष माफी माग्दछु। विश्वव्यापी महामारीको समयमा उक्त योजना तुरुन्तै जारी गर्नु पर्ने बाध्यता थियो। योजनामा को-को संलग्न थिए भन्दा पनि प्रत्येक विस्तृत निरीक्षणको कमी मुख्य समस्या हो, र रिपोर्टले पनि त्यही बताउँछ।"

त्यस दिन बैठक बस्नु अघि, निजी सुरक्षा कर्मचारीहरूको प्रयोग गर्ने र भिक्टोरिया प्रहरीलाई ब्याक अपको रूपमा प्रयोग गर्ने प्रस्ताव पूर्व प्रहरी आयुक्त ग्राहम एशटन समक्ष राखिएको पूर्व न्यायाधीश कोट बताउँछिन्।
अनुसन्धानको क्रममा पेस गरिएका ७०,००० भन्दा बढी कागजातमा कतै पनि उक्त निर्णय पछाडिको ठोस कारण उल्लेख नगरिएको उनको भनाइ छ।
र त्यस्तै, निजी सुरक्षा गार्डको साटो अस्ट्रेलियाली सुरक्षा बलका कर्मचारीको प्रयोग गर्न उचित हुन्छ कि भन्ने विषयमा ध्यान दिइएको थिएन।
यस अनुसन्धानका खोजहरूले अस्ट्रेलियाली जनतालाई चकित पर्ने उनी बताउँछिन्।
घटना पछि पूर्व भिक्टोरियाली स्वास्थ्य मन्त्री जेनी मिकाकोस र अन्य दुई वरिष्ठ सरकारी कर्मचारीहरूले राजीनामा दिएका थिए।
भिक्टोरियाली प्रिमियरले पनि राजीनामा दिनु पर्ने, भिक्टोरियाली विपक्षी नेता माइकल ओ'ब्रायनको दाबी छ।
उनले भने, "कुनै राजनीतिक नेतालाई यस प्रकारको गल्तीको लागि माफी गरिन हुँदैन। यस पालिको क्रिसमसमा ८०१ जना भिक्टोरियालीहरूको उपस्थिति हुँदैन, ८०१ वटा कुर्सीहरू खालि हुन्छन्।"
तर, प्रिमियर डानियल एन्ड्रुजले भने आफूले राजीनामा नदिने प्रतिज्ञा खाँदै, आउँदो दुई वर्ष पछिको चुनावमा पनि सहभागी हुने बताएका छन्।
