कोरोनाभाइरस महामारीको प्रभाव स्वरूप अस्ट्रेलियाको राष्ट्रिय ध्वजा वाहक विमान सेवा क्वान्टस तथा उसको भगिनी वायुसेवा कम्पनी जेटस्टार दुवैले यो महिनाको अन्त्य तिरबाट आ-आफ्ना अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरेका हुन्।
यस घोषणाबाट करिब ३०,००० को हाराहारीमा रहेका क्वान्टसका कर्मचारीहरूमा भारी कटौती हुने पनि बताइएको छ।
आफ्नो उक्त निर्णयबाट प्रभावित हुने सबै कर्मचारीहरूलाई कम्तीमा पनि चार हप्ता पारिश्रमिक सहित बिदाको प्रत्याभूति उसले दिएको छ।
यसका अतिरिक्त क्वान्टसका कर्मचारीहरूले अर्ध तलबमा छुट्टी र दिर्घसेवा बापत पाइने बिदाको सुविधा समेतमा समय अगावै पहुँच पाउनेछन्।
तर क्वान्टसले आफ्ना केही कामदारहरूले बेतलबी बिदामा अवश्य पनि बस्नुपर्ने अवस्था आउने बताएको छ।
बुधवार सङ्घीय सरकारले अस्ट्रेलियाबाट मानिसहरूलाई बाहिर जानबाट रोक लगाउने गरी आफ्नो यात्रा निर्देशनमा हेरफेर गरेपछि क्वान्टसले यसप्रक्रारको निर्णय लिएको हो।
अस्ट्रेलियन स्टक एक्स्चेञ्जलाई क्वान्टसले बताए अनुसार कम्तीमा पनि मे महिनाको आखिरीसम्म आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुनु पर्व यो चालु महिनाको अन्त्यसम्म विदेशमा अड्केका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्किन सहज होस् भन्ने हेतुले उसका विमानहरूले उडान भर्नेछन्।
यसका साथै, घरेलु उडानहरूमा पनि ६० प्रतिशतले कटौती हुने र १५० भन्दा बढी विमानहरू सेवाबाट झिकिने बताइएको छ।
“समुदायका थुप्रै मानिसहरूलाई जस्तै, यो हाम्रा कर्मचारीहरूका लागि पनि निकै चुनौतीपूर्ण समय हो,” क्वान्टसका प्रमुख कार्यकारी अधिकृत एलन जोइसले एक विज्ञप्ति मार्फत भनेका छन्।

“हामी अहिले बलियो आर्थिक स्थितिमा छौँ, तर हाम्रो कुल वार्षिक तलब चार अर्वभन्दा पनि धेरै छ।”
उनले आफ्ना कामदारका लागि व्यावसायिक साझेदार वूलवार्थ्ससँग अस्थायी रोजगारका लागि कुराकानी समेत भई राखेको बताए।
क्वान्टसले आफ्नो व्यवस्थापन र सञ्चालक समितिमा रहने सम्पूर्ण व्यक्तिहरूले चालु आर्थिक वर्षको अन्त्यसम्म तलब भत्ता बापत कुनै पारिश्रमिक नलिने पनि बताएको छ। प्रमुख कार्यकारी अधिकृत जोइस सहित उसका अध्यक्षले केही दिन अघि नै आफूहरूले सोही प्रकारका घोषणा गरिसकेका थिए।
क्वान्टसले आफू तथा आफ्ना भगिनी वायुसेवाहरूको विमान प्रयोग गरेर अस्ट्रेलियाभरका प्राय सम्पूर्ण घरेलु एवं क्षेत्रीय गन्तव्यहरूमा उडानहरू कम सङ्ख्यामा भए पनि चालु नै रहने समेत बताएको छ।
सिड्नी मेलबर्न रुटमा प्रति हप्ता क्वान्टसको २५० उडान हुने गरेकोमा अब केवल ८८ उडान मात्र हुने बताइएको छ भने जेटस्टारले उक्त निकै लोकप्रिय रुटमा ७० प्रतिशतले आफ्नो उडानहरू बन्द भएको जनाउँदै आफ्नो उडानहरू ९३ बाट २८ मा झारेको छ।

कटौतीमा परेका उडानहरूको टिकट काटिसकेका ग्राहकहरूलाई क्वान्टसले आगामी सोमवारदेखि सम्पर्क गर्ने बताएको छ भने आफ्ना शेयर धनीहरूलाई दिइने लाभांश अप्रिलदेखि सेप्टेम्बरसम्मका लागि स्थगित भएको पनि उसको भनाइ छ।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
