अस्ट्रेलियाली नागरिकता आवेदन शुल्कलाई २८५ डलर बाट बढाएर ४९० डलर पुर्याउने मोरिसन सरकारको कदमको बिपक्षी लेबर पार्टीका साथै अध्यागमन नीति विश्लेषकहरुले पनि आलोचना गरेका छन्।
जुलाई १ देखि नागरिकताको सामान्य आवेदनका लागि लागुहुने उक्त शुल्क वृद्धिबारे अध्यागमन मन्त्री एलेक्स हक ले गत बिहीबार घोषणा गरेका थिए।
वंशजको आधारमा वा अन्य परिस्थितिमा अस्ट्रेलियाली नागरिकता लिन चाहनेहरु माथि पनि उक्त नियम लागु हुने छ। साथै, लामो समय देखि विदेशमा बसेपछि आफ्नो नागरिकता दर्जा पुनः सुरु गराउन चाहनेहरु, आफ्नो नागरिकता परित्याग गर्न चाहनेहरु वा आफ्नो नागरिकता प्रमाणित गर्न चाहनेहरुका लागि पनि शुल्क वृद्धि गरिएको छ।
तर सरकारको उक्त कदमले नागरिकताको लागि "आवेदन हाल्न मानिसहरुलाई निरुत्साहित गर्ने" एक पूर्व अध्यागमन अधिकृतले बताएका छन्।
केहि कुरा महँगो भए मानिसहरुले त्यसको प्रयोग गर्ने सम्भावना घट्दै जाने भएकोले पनि सरकारको यो पछिल्लो नीति कसरी राम्रो रहेकोबारे आफुले नबुझेको बताउछन अध्यागमन बिभागका पूर्व सह-सचिव अबुल रिज्भी।

शुल्क बढाउने सरकारी कदमबारे संघीय बिपक्षी लेबर पार्टी द्वारा पनि प्रश्न गरिएको छ।
बहुसंस्कृतिक मामिला सम्बन्धि छायाँ मन्त्री एन्ड्रु जाइल्स भन्छन अध्यागमन मन्त्री द्वारा दिइएको स्पष्टिकरण उपयुक्त रहेको छैन।
"यो धेरै चिन्ताको विषय हो किनभने शुल्कमा भएको यो वृद्धि एकदमै धेरै हुनुका साथै उक्त कदम चाल्ने आफ्नो निर्णयबारे मन्त्रीको भनाइ पनि स्पष्ट छैन," उनले भने।
अध्यागमन मन्त्री एलेक्स हकले चाहिं शुल्क वृद्धि गर्ने आफ्नो कदमको बचाउ गरेका छन्।
सन् २०१६ पछि पहिलो पटक नागरिकता आवेदन शुल्कमा भएको उक्त परिवर्तनले "नागरिकता वितरण अन्तर्गत हाल हुने वास्तविक खर्चलाई दर्शाउने" मन्त्री हक बताउछन्।
"वेदन प्रक्रियाको सुरु देखि अन्त्य सम्म हुने सरकारी खर्च, मुद्रास्फीति खर्च, कर्मचारी खर्च र आवेदनहरुको बढ्दो जटिलताका साथ् आवेदन जांचमा लाग्ने थप समयलाई पनि नयाँ शुल्क वृद्धिमा समावेश गरिएको हो," एक विज्ञप्ति मार्फत उनले बताए।
"हालको खर्चका अधारमा, नागरिकता आवेदनबारे काम गर्दा अहिले सरकारले आफ्नो खर्चको पचास प्रतिशत मात्र शुल्क बाट उठाई रहेको छ।"
तर लेबर सांसद एन्ड्रु जाइल्स ले चाहिं मुद्रास्फीति बारे सरकारी भनाइबारे पनि प्रश्न गरेका छन्।
"मुद्रास्फीतिका कारण हुने वृद्धि एकदमै कम हुनुपर्ने थियो। साथै शुल्क वृद्धिका साथ् नागरिकता आवेदन माथि जांच गर्न थप कर्मचारीहरु भर्ना गरिनेबारे हाल कुनै प्रमाण रहेको छैन," उनले भने।

हाल अस्ट्रेलियामा रहेकाहरु मध्ये ठुलो संख्याको जन्म विदेशमा भएको ले पनि, नागरिकताको बाटो पनि धेरै महत्वपूर्ण रहेको जाइल्स बताउछन्।
"वर्तमान कठिन परिस्थितिमा पनि मानिसहरु माथि यतिको ठुलो आर्थिक भार लाध्नुबारे उपयुक्त स्पष्टिकरण जरुरी रहेको छ।"
अध्यागमन मन्त्री एलेक्स हक ले चाहिं नयाँ नागरिकता शुल्क अन्य राष्ट्रहरु समान रहेको र युके, क्यानाडा र संयुक्त राज्य भन्दा अझै कम रहने बताएका छन्।
गत महिना घोषणा गरिएको संघीय बजेटमा पनि मोरिसन सरकारले सन् २०२२ को १ ज्यानुवरी देखि नयाँ आप्रवासीहरूले सरकार द्वारा प्रदान गरिने प्रायः कल्याणकारी भुक्तानीहरु पाउन ४ वर्ष सम्म पर्खनुपर्ने नियम लागु गरेको थियो।
सरकारको उक्त कदमले बजेटमा ५ वर्षको अवधिमा ६७१ मिलियन डलर बचत हुने अनुमान गरिएको छ।

तर सन् २००० को दशकमा आफु अध्यागमन बिभागमा काम गर्दा जतिसक्दो धेरै मानिसहरुलाई नागरिकताको आवेदन हाल्न प्रोत्साहित गरिने बताउछन पूर्व सहसचिव अबुल रिज्भी।
"तर २००५ को सेप्टेम्बर महिना देखि उक्त नीतिमा परिवर्तन भयो"
"२००५ सम्म त नागरिकता लिन मानिसहरुलाई प्रोत्साहित गर्न टिभी विज्ञापनहरु पनि प्रयोग गरिन्थ्यो, तर केहि कारणवश त्यसपछिका सरकारहरुले चरणबद्ध रूपमा अस्ट्रेलियाली नागरिकता लिन झनै गाह्रो बनाइरहेका छन्।"
