SKIP TO MAIN CONTENT

एज्डकेयरमा काम गर्नेलाई सरकारले ८०० डलर प्रोत्साहन स्वरूप दिने

एज्ड केयरमा काम गर्ने कर्मचारीहरूका लागि अतिरिक्त रकम बाँड्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्।

Prime Minister Scott Morrison will address the National Press Club on Tuesday.
Prime Minister Scott Morrison will address the National Press Club on Tuesday. Source: AAP

5 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

२० करोड ९० लाख अस्ट्रेलियन डलर बराबरको उक्त कार्यक्रम अन्तर्गत बृद्धास्याहार कर्मचारीहरूले दुई किस्तामा गरी बढीमा चार–चार सयका दरले भुक्तानी पाउने भएका छन्।

कोरोनाभाइरसको कारण सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा परेको एज्ड केयरमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरूप उक्त रकम भुक्तानी गर्न लागिएको हो।

दुई किस्तामा वितरण हुने उक्त रकमको पहिलो किस्ता फेब्रुअरी महिनामा दाबी गर्न सकिनेछ भने दोस्रो किस्ता मे महिनामा वितरण गरिने बताइएको छ।

मंगलबार दिउँसो क्यानबेरा स्थित नेश्नल प्रेस क्लबमा प्रधानमन्त्री स्कट मोरिसनले उक्त घोषणा गरेका हुन्।

यसै गरी अनुसन्धानका क्षेत्रमा करिब डेढ अर्ब लगानी गर्ने घोषणा पनि प्रधानमन्त्रीले गरे।

कोभिड-१९ का कारण एज्ड केयरको क्षेत्रमा दबाब बढी रहेका बेला सरकारी घोषणा आएको हो।

हेरचाह, किचन र सरसफाइ कर्मचारी सहित बृद्धास्याहारसंग सम्बन्धित सबै कर्मचारीहरूले दुई किस्तामा रकम प्राप्त गर्नेछन्।

होम केयर भनिने आवासीय हेरचाह प्रदान गर्ने कर्मचारी पनि यस अन्तर्गत पर्ने बताइएको छ।

काम गर्ने घण्टाका आधारमा एक पटकमा बढीमा चार सय डलरको भुक्तानी गरिने भएको छ।

कोभिड-१९ को बढ्दो सङ्क्रमणका बिच जनवरी महिनामा मात्र एज्ड केयरमा ३८९ मृत्यु दर्ता भइसकेको छ।

अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा एज्डकेयरमा जम्मा २८२ मृत्यु दर्ता भएको थियो।

शुक्रवार जारी गरिएको तथ्याङ्कमा देशैभरका १,२६१ वटा एज्डकेयरहरुम सक्रिय सङ्क्रमित रहेको देखिएको छ।

न्यु साउथ वेल्समा मात्रै ५५५ वटा एज्डकेयरमा कोरोनाभाइरस फैलिएको छ।

भिक्टोरियाका २९६ वटा एज्डकेयरमा पनि कोरोनाभाइरसका सङ्क्रमित फेला परेका छन्।

३० प्रतिशत भन्दा बढी कर्मचारीहरू सङ्क्रमित या त आइसोलेसनमा रहेका कारण कर्मचारी अभावबाट गुज्रनु परेको गुनासो सेवा प्रदायकहरूले गरेका छन्।

कामदार अभावका कारण कतिपय बृद्धास्याहार केन्द्रमा बासिन्दाहरूले सरसफाइ र खानामा समेत सम्झौता गर्नु परेको, बिरामी बासिन्दाको घाउमा पट्टी पनि नफेरिएका घटना भएको भन्दै चासो बढेको छ।

राजनीतिक चाल भएको युनियनको आरोप

यता युनियनहरूले भने सङ्घीय सरकारले बृद्धास्याहार केन्द्रका कर्मचारीहरूलाई दुई किस्तामा ८०० डलर दिने घोषणाको आलोचना गरेका छन्।

यस क्षेत्रमा प्रणालीगत ज्यालाबृद्धीको आवश्यकता भएको भन्दै यो केवल राजनीतिक चाल मात्र भएको उनीहरूको आरोप छ।

स्वास्थ्य सेवा सम्बन्धी युनियन एचएसयुका जेरार्ड हेसले प्रधानमन्त्रीको घोषणालाई “गम्भीर योजना” नभएर “चुनाव पूर्वको राजनीति” भनेर व्याख्या गरेका छन्।

लामो समयदेखिको "कम तलबको समस्या"लाई यसले समाधान नगर्ने पनि उनले बताए।

“हामीसँग लामो समय देखिको समस्याहरू छन् जुन बढिरहेका छन्,” उनले भने।

“वास्तविकतालाई स्वीकार नगर्ने गरी हामीले छोटा राजनीतिक समाधानहरू पाउँछौ।”

एचएसयुले फेयर वर्क कमिसन सामु एज्डकेयर वर्करहरुको तलबमा  २५ प्रतिशत वृद्धि वा कम्तीमा पाँच डलरको वृद्धिको माग गदै केस दर्ता गरेको छ।

 

गत वर्ष शाही आयोगले पनि यस क्षेत्रका कामदारलाई तलब वृद्धि गरिनु पर्ने सिफारिस गरेको थियो।

 

युनाईटेड वर्कस युनियनका एज्ड केयर निर्देशक क्यारोलिन स्मिथले रकम भुक्तानीको सरकारी घोषणाले केही राहत दिने भए पनि पर्याप्त नभएको प्रतिक्रिया दिएकी छन्।

विपक्षीद्वारा आलोचना

यता विपक्षी दलका नेता एन्थोनि अल्बानेजिले पनि प्रधानमन्त्रीले रकम बाँड्ने वाहानामा एज्ड केयर कर्मचारीलाई किन्न खोजेको आरोप लगाएका छन्।

 

“नगद भुक्तानीले सङ्घीय चुनाव भन्दा बाहिर एज्ड केयर कर्मचारीको तलब बढाउन केही मद्दत गदैन यो वाहियात प्रतिक्रिया मात्र हो,” उनले भने।

 

आफू निर्वाचित भए एज्ड केयर कामदारको तलब वृद्धिको मागको समर्थन गर्ने पनि उनले बताए।

 

लेबरका स्वास्थ्य प्रवक्ता मार्क बटलरले सङ्घीय सरकारले वाचा पुरा नगरेको बताए।

कतिपय सेवा प्रदायक संस्थाहरूमा ऱ्यापिड एन्टीजेन किट र पिपिई समेत नभएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका छन्।

“कमनवेल्थका बृद्धास्याहार केन्द्रलाई भाइरसबाट सुरक्षित राख्ने महत्त्वपूर्ण कामबाट प्रधानमन्त्री मोरिसन पुनः एक पटक असफल भएका छन्,” उनले भने।

जनवरीको अन्त्य सम्ममा सबै एज्डकेयरमा बुस्टर डोज पुर्‍याउने भन्ने सङ्घीय सरकारको लक्ष्य पछि सारिएको कुरालाई सङ्घीय सरकारले स्वीकार गरिसकेको  छ।

सङ्क्रमण देखिएका बृद्धास्याहार केन्द्रमा मात्र बुस्टर डोज ढिलाइ

सोमबार स्वास्थ्य मन्त्री ग्रेग हन्टले सङ्क्रमण देखिएका बृद्धास्याहार केन्द्रमा मात्र बुस्टर डोज ढिलाइ भएको बताए।

सङ्घीय सरकारले “प्राथमिकताका आधारमा सबैभन्दा माथि राखी” दैनिक रूपमा प्रतिक्रियाहरूको समीक्षा गरिरहेको र एज्ड केयर प्रदायकहरूसँग पनि सहकार्य गरिरहेको स्वास्थ्य मन्त्री हन्टले बताएका छन्।

“हामीले बृद्धास्याहार केन्द्रमा १० करोड थान पिपिई, ७६ लाख ऱ्यापिड एन्टीजेज परीक्षण किट पठाई सकेका छौ, हप्तै पिच्छे यो सङ्ख्या बढी रहेको छ,” उनले भने।

बृद्धास्याहार केन्द्रमा मृत्यु भएका ६० प्रतिशत मानिस प्यालिएटिभ केयर अर्थात् जीवनको अन्तिम अवस्थाको हेरचाहमा रहेको पनि मन्त्री हन्टले बताए।

“उनीहरूको कोभिड-१९ का कारण मृत्यु भएको र यसलाई राष्ट्रिय क्षतिका रूपमा सही रूपमा गणना गरिएको छ,” उनले भने।

मृत्यु भएका मध्ये २५ प्रतिशत खोप नलगाएका वा खोपको सबै मात्रा नलगाएकाहरू परेको पनि स्वास्थ्य मन्त्रीले थपे।

अनुसन्धानका क्षेत्रमा डेढ अर्ब बढीको लगानी

अस्ट्रेलियाको आर्थिक गतिवर्धक पनि भनिने डेढ अर्ब भन्दा बढीको (१.६ अर्ब) योजनाले प्रारम्भिक चरणको अनुसन्धानलाई व्यावसायिक सफलतामा परिणत गर्ने बताइएको छ।

अस्ट्रेलियाली अनुसन्धानलाई अगाडी बढाउन २.२ अर्बको यस अघिको कार्यक्रम अन्तर्गत कै हिस्साका रूपमा यसलाई अगाडी बढाइने बताइएको छ।

DAPRA challenge
Source: CSIRO-Navinda Kottege

सिएसआईआरव भिनीने अस्ट्रेलियाली अनुसन्धान संस्थाको स्टार्ट अप कम्पनीहरूलाई समर्थन गर्ने पहल र उद्योग केन्द्रित पिएचडीका १८०० कोटाहरूमा यसले लगानी गर्ने छ।

अस्ट्रेलियाली अनुसन्धान विश्वमै उत्कृष्टमा वर्गीकृत गरिएको भए पनि यसले व्यावसायिक रूपमा भने कम प्रदर्शन गरेको प्रधानमन्त्रीले बताए।

“यो योजनाले आविष्कारकहरूलाई व्यवसायीक क्षमता प्रमाणित गर्न जारी राखे परियोजनाको प्रत्येक चरणमा कोषमा पहुँचको अवसर दिनेछ,” प्रधानमन्त्रीले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now