

Published
Updated
ग्रीन क्लिन (अस्ट) पीटीवाई लिमिटेड र उसको एक जना पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा रहेका दुईजनालाई कम तलब दिएको र झुटा विवरण राखेको आरोप अम्बड्स्मनको थियो।
अब उक्त कम्पनीले १०५,८४० डलर र ती पूर्व म्यानेजरले दण्ड स्वरूप १८,३४६ डलर जरिमाना तिर्नुपर्ने आदेश अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।
ग्रीन क्लिन र पूर्व प्रबन्धकले आफूहरूले दुईजना क्याजुअल कर्मचारीहरूलाई उनीहरूले पाउनुपर्नेभन्दा कम तलब दिएर कार्यस्थल सम्बन्धी कानूनहरूको पालना नगरेको स्वीकार गरेपछि अदालतले जरिमाना सहितको आफ्नो फैसला सुनाएको हो।
कम्पनी र ती पूर्व प्रबन्धकले फेयर वर्क इन्स्पेक्टर समक्ष जानीजानी वा लापरबाही ढङ्गले झुटा कागजात पेस गरेको आरोप पनि स्वीकार गरेको बताइएको छ।
उनीहरूले क्याजुअल कर्मचारीका रूपमा भर्ना गरेका ती दुई नेपाली विद्यार्थीहरूलाई स्वतन्त्र ठेकेदारका रूपमा गलत वर्गीकरण गरेका थिए।
सन् २०१६ मा पनि ग्रीन क्लिनले जरिमाना तिर्नुपरेको थियो।
त्यो बेला उक्त कम्पनीले फिलिपिन्सबाट आएका दुईजना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई तिर्न बाँकी रकमको भुक्तानी दिन फेयरवर्कले गरेको पत्राचार पालना नगर्दा ९,४५० डलर जरिमाना तिर्न परेको थियो।

फेयरवर्क अम्बड्स्मन सान्ड्रा पार्कर भन्छिन् कि बारम्बार रूपमा कार्यस्थल सम्बन्धी कानूनहरूको पालना नगर्ने रोजगारदाताहरूले ठुलो दण्ड भोग्नुपर्छ।
“भिसा वाहकहरू जस्ता कमजोर कामदारहरूको सुरक्षा फेयरवर्क अम्बड्स्मनका लागि जहिले पनि प्राथमिकतामा पर्छ भनेर रोजगारदाताहरूले सचेत हुन आवश्यक छ,” उनले एक विज्ञप्ति मार्फत भनेकी छिन्।
यो निराशाजनक कुरा हो कि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कम तलब दिने यस कम्पनी विरुद्ध हामीले फेरि मुद्दा हालेर जरिवाना सुरक्षित गर्नुपर्यो।फेयरवर्क अम्बड्स्मन सान्ड्रा पार्कर
साथै उनले आफ्नो तलब सुविधाबारे कुनै पनि जिज्ञासा भए आफूहरूलाई निःशुल्क सल्लाह एवम् सुझावका लागि सम्पर्क गर्न पनि आग्रह गरेकी छिन्।
ठगीमा परेका कामदारहरूले सहायताका लागि निवेदन दिएपछि अनुसन्धान अगाडी बढाइएको फेयरवर्क अम्बड्स्मनको भनाई छ।
सन् २०१० को सरसफाइ सम्बन्धी राष्ट्रिय अवर्डले तोकेकोभन्दा कम तलबमा काम लगाएको, क्याजुअल कर्मचारीले पाउने विभिन्न लोडिङ एवम् सिफ्ट भत्ताहरू पनि नदिएको अनुसन्धानका क्रममा सम्बन्धित अधिकृतले फेला पारेका थिए।
यस बाहेक जागिर छाडेको सात दिन भित्र बाँकी बक्यौता तलब र सुपरएन्नुएसन बापतको भुक्तानी समेत नगरेको पाइएको थियो।
ठगीको आरोप लागेको ग्रीन क्लिनसँग कर्मचारी भर्ती गर्दाका सर्त, कम्पनीका रेकर्ड लगायतका अन्य आवश्यक कागजातहरू अनुसन्धान अधिकारीले माग्दा उक्त कम्पनीका एक जना पूर्व प्रबन्धकले प्रभावित कर्मचारीहरूलाई पठाएको भनी कथित रूपमा नक्कली इमेल उपलब्ध गराएका थिए।
सन् २०१९ को मार्च र अप्रिल महिनामा पठाइएको भनिएको उक्त इमेलमा 'स्वतन्त्र ठेकेदार' का रूपमा उनीहरूसँग सम्झौता भएको उल्लेख छ।

यद्यपि उक्त कम्पनीका पूर्व प्रबन्धक र कम्पनी स्वयंले उक्त समयमा कर्मचारीहरूलाई कुनै इमेल नपठाइएको अनुसन्धानका क्रममा स्वीकार गरेका थिए।
यसैको आधारमा अदालतले तलब सम्बन्धी नियम उल्लङ्घन भएको फैसला सुनाएको हो।
‘कम्पनीले कामदारहरूलाई कथित रूपमा स्वतन्त्र ठेकेदारका रूपमा प्रस्तुत गरे पनि, उनीहरू वास्तवमा क्याजुअल कर्मचारी भएको र उनीहरू क्लिनिङ सर्भिसेज अवर्ड अन्तर्गत उपलब्ध सुविधाहरू पाउने’ अदालतले आफ्नो सुनुवाइमा उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरू "न्यूनतम अस्ट्रेलियाली श्रम मापदण्डहरू बारे सचेत हुने सम्भावना नरहेको" कारण उनीहरू ठुलो जोखिममा हुने भन्दै ती उल्लङ्घनहरू गम्भीर भएको न्यायाधीश ब्राना ओब्राडोभिचले दण्ड सुनाउने क्रममा बताइन्।
आफ्ना कामदारहरूलाई विद्यार्थी भिसामा कम पारिश्रमिक दिएको यो पहिलो पटक नभएको फेला पारेपछि भविष्यमा यस्ता काम गर्न अभिप्रेरित नहुने गरी दण्ड सजाय सुनाउनुपर्ने आवश्यक्ता रहेको पनि उनको भनाई थियो।
फेयर वर्क ऐनको उद्देश्यका लागि यो महत्त्वपूर्ण छ कि आम मानिसले कामदारहरू आफ्नो न्यूनतम हकहरू र फेयरवर्क अम्बड्स्मनद्वारा जारी गरिएका वैधानिक सूचनाहरू लागू गर्ने दायित्वहरू छन् भन्ने कुरामा कुनै शङ्का हुनुहुँदैन।न्यायाधीश ब्राना ओब्राडोभिच
सन् २०२० फेब्रुअरीमा फेयर वर्क अम्बड्स्मनबाट उल्लङ्घन सम्बन्धी सूचना जारी भएपछि ग्रीन क्लिनले दिन बाँकी भुक्तानीहरू ती कामदारहरूलाई दिएको बताइएको छ।
गएका पाँच वर्षमा भिसा वाहक कामदारहरू ठगिएका बारेमा अम्बड्स्मनले १२६ वटा मुद्दाहरू दर्ता गरिसकेको बताएको छ जसमा अदालतले १ करोड ३४ लाख डलरभन्दा बढी रकम विभिन्न कम्पनीहरूले कूल जरिमाना तिर्नुपर्ने फैसला गरिसकेको छ।
रोजगारदाता र कर्मचारीहरूले आफ्नो अधिकारहरूका बारेमा जान्न, फेयरवर्क अम्बड्स्मनको वेबसाइट वा १३ १३ ९४ मा फोन गरेर निःशुल्क जानकारी लिन सक्छन्।
दोभासेको आवश्यकता परेमा १३ १४ ५० मा फोन गर्न सकिन्छ।