१५0 भन्दा बढीको ज्यान जाने गरी गएको भूकम्प पश्चात् अस्ट्रेलियाले सहायता रकम मार्फत प्रभावितहरूलाई सहायता उपलब्ध गराउने भएको
छ।
विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने उल्लेख गरिएको छ।
भूकम्पमा ज्यान गुमाएका र क्षति ब्यहोरेकाहरू प्रति समवेदना प्रकट गर्दै मन्त्री वङ्गले भनिन्, "पश्चिम नेपालका मानिसहरूलाई यस कोषले आपतकालीन आपूर्ति र सहायता प्रदान गर्न मदत गर्नेछ।"
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पका कारण क्षति पुगेका स्वास्थ्य सेवा केन्द्र लगायतका सार्वजनिक संरचनाको प्रारम्भिक पुनर्निर्माण प्रयासहरूमा पनि यसले योगदान गर्ने बताइएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० नोभेम्बरमा सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा २६, ५५७ घरहरू पूर्णतया क्षति ग्रस्त भएको साथै ३५,४५५ घरधुरीमा आंशिक क्षति पुगेको विवरण राखिएको छ।
उक्त सहायता विद्यमान बहुपक्षीय र स्थानीय साझेदारीहरू मार्फत प्रदान गरिने मन्त्री कनरोयको भनाइ छ।
अस्ट्रेलियाको सहयोग आवश्यक पर्नेहरूसम्म पुग्ने सुनिश्चित गर्न हामी हाम्रा बहुपक्षीय र स्थानीय साझेदारहरूसँग मिलेर काम गरिरहेका छौँ।प्याट कनरोय
स्थानीय समय अनुसार शुक्रवार, तीन नोभेम्बरमा गएको भूकम्पमा परेर कम्तीमा १५३ जनाले ज्यान गुमाएका छन् भने ३६४ घाइते भएका छन्।
समुदायको प्रतिक्रिया
क्वीन्सल्याण्ड नेप्लिज कल्चर सेन्टरका अध्यक्ष केशव शर्माले अस्ट्रेलियन सरकारद्वारा दिइने यस साहयताले केवल नेपालमा भूकम्पले प्रभावित भएकालाई मात्र नभएर अस्ट्रेलियामा बस्नेहरूलाई पनि मद्दत गर्ने बताएका छन्।

“हामी यहाँ बसिरहेको नेपालीहरूलाई, त्यहाँ केही हुँदा खेरि हामीलाई पनि पोल्छ। त्यो जुन पोलेको छ त्यसमा अस्ट्रेलियन सरकारले मलहम लगाउने काम गरेको छ। त्यसेले गर्दा हामीलाई दुख पर्दा हेर्ने अरूहरू पनि छन् भन्ने खालको अनुभूति हामीलाई पनि भएको छ र नेपालमा प्रभावित व्यक्तिहरू र परिवारहरूलाई पनि भएको छ।”
यसले अस्ट्रेलिया र नेपाल बिचको सम्बन्ध पनि थप प्रगाढ बनाउने उनले जनाएका छन्।
हामी अप्ठ्यारोमा पर्दा र सहयोग को खाँचो हुँदा हाम्रा विदेशी दाताहरूले सहयोग गर्दा निश्चय पनि दुई देश बिच को सम्बन्ध अझै बलियो हुँदै जान्छ, त्यसमा शङ्का छैन।अनिल पोख्रेल
“२०१५ को भूकम्प पछि धेरै कुराहरू सिकियो पनि होला, तर अहिले ८ वर्ष पछि भूकम्प आउँदा फेरी ती गल्तीहरू भइरहेको छन्। देशमा व्यवस्थापन वा उद्धारमा चाहिँ अलिकति जानकारी अथवा कुनै प्रणालीको कमी हो कि जस्तो लाग्छ। त्यसमा ध्यान दियो भने भविष्यमा अझै राम्रो हुन्छ।”
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले पनि यस घोषणाको स्वागत गरेका छन्।
"अस्ट्रेलिया मा नेपाली समुदाय छिटो बढेको समुदाय हो, हामी विभिन्न पार्टहरूसँग जोडिएका छौँ । विगतमा पनि यस्तै दुखद समयमा, पछिल्लो भूकम्पको बेलामा पनि नेपाललाई अस्ट्रेलियाबाट सहयोग गएको थियो।"
“केवल आपत-विपदको समयमा मात्र नभएर, अस्ट्रेलियाले नेपाल लाई सपोर्ट गर्नु पर्छ किनभने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भित्र्याउँदै गर्दा नेपालबाट अस्ट्रेलियामा कैयौँ मिलियन डलर भित्रिन्छ, त्यसै क्रममा ट्रेड र इन्भेस्टमेन्ट पनि नेपाल तर्फ पनि जानुपर्छ," पोख्रेलले भने।
"हुन त यो सहयोग बेग्लै कुरा हो, तर यसले एउटा राम्रो सन्देश दिएको छ, त्यस कारण गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको तर्फ बाट र व्यक्तिगत तर्फ बाट धन्यवाद भन्न चाहन्छु।"
स्थानीय समय अनुसार शुक्रवार, तीन नोभेम्बरमा गएको भूकम्पमा परेर कम्तीमा १५३ जनाले ज्यान गुमाएका छन् भने ३६४ घाइते भएका छन्।
यसअघि सन् २०१५ मा ९,००० जनाको ज्यान जाने गरी गएको भूकम्प पश्चात् अस्ट्रेलियाले नेपाललाई १ करोड १९ लाख डलर मानवीय राहत प्याकेज साथै १ करोड ६० लाख भन्दा बढी रिकभरी प्याकेज उपलब्ध गराएको थियो।
