गत महिनामा अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका सिड्नी निवासी दुई महिलाले अध्यागमन सम्बन्धी सर सल्लाह दिने भन्दै ग्राहकबाट पैसा लिएको दोषी पाइए पछि नेपाली समुदायको पनि यसप्रति ध्यानाकर्षण भएको छ।
डार्विनमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका अध्यागमन एजेन्ट शम्भु कडेल गैर कानुनी सेवा प्रदान गर्दै ग्राहकबाट रकम असुलेको यो घटना नेपाली व्यवसायी बाट पनि हुने गरेको दाबी गर्छन्।
नेपाली समुदाय भित्र देखिएको प्रमुख समस्या भनेकै शैक्षिक परामर्शदाता र अध्यागमन एजेन्टबिच फरक छुट्ट्याउन नसक्नु भएको अध्यागमन एजेन्ट र अस्ट्रेलियामा रहेको शैक्षिक परामर्शदाताहरूको सञ्जाल (एका) का निवर्तमान अध्यक्ष निरज श्रेष्ठले बताए।
घटनाका बारेमा :
गत डिसेम्बरमा अस्ट्रेलियाको सीमा सुरक्षा बलले एक चिनिया नागरिक र अस्ट्रेलियाको पिआर भएकी ३२ वर्षीय महिला र अर्की भने ३० अस्ट्रेलिया कै नागरिक महिलालाई पक्राउ गरी सशर्त राम्रो व्यवहार देखाउनु पर्ने सजाय सुनाएको थियो।

उनीहरूले अस्ट्रेलियाको अध्यागमन कानुन १९५८ मा उल्लेखित २ वटा व्यवस्थाहरूको उल्लङ्घन गरेको भन्दै ३२ वर्षीय महिलालाई १८ महिनाको राम्रो व्यवहार देखाउनु पर्ने सर्त राखिएको छ भने ३० वर्षीय महिलाले ३ नियम उल्लङ्घनका कारण २ वर्षको राम्रो व्यवहारको सर्त पुरा गर्नु पर्ने भएको छ।
अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका उनीहरूले ग्राहकहरूलाई अध्यागमन सम्बन्धी सुझाव दिने र त्यस बापत १५ सय डलर देखि २ हजार डलर सम्म ग्राहकबाट लिने गरेको पाइएको थियो।

अस्ट्रेलियन सीमा सुरक्षा बलका अनुसन्धान कमान्डर ग्रेमी ग्रोसीले एबीएफले गैर कानुनी अध्यागमन सँग सम्बन्धित सेवा दिने तथा गलत सुझाव दिने यस्ता ठग अध्यागमन एजेन्टहरूलाई लक्षित गरिरहेको बताएका छन्।
"तपाईँ अध्यागमन एजेन्टका रूपमा अध्यागमन एजेन्ट दर्ता प्राधिकरणमा दर्ता हुनुहुन्न भने अध्यागमन सम्बन्धी कुनै पनि सेवा दिँदा रकम असुल गर्नु गैर कानुनी हुन्छ।"
विशेष गरी गलत जानकारीहरूका साथ अस्ट्रेलियाको प्रोटेक्सन भिसा दिलाउन खोजिए त्यसलाई सहन नसकिने एबीएफका ग्रेमीको भनाइ रहेको छ।
निरज श्रेष्ठ आफ्नो व्यक्तिगत विचारमा त्यो सजाय अत्यन्त खुकुलो किसिमको भएको बिचार राख्छन्।

उनी ठगीको प्रकृति हेरेर दोषीलाई १० वर्ष सम्मको जेल सजाय हुन सक्ने व्यवस्था भएकाले यसलाई हल्का रूपमा नलिन पनि सचेत गराउँछन्।
अध्यागमन एजेन्टका रूपमा अध्ययन नगरी अध्यागमन सम्बन्धी जानकारी प्रदान गर्ने गरेका व्यवसायीहरूलाई अस्ट्रेलियाको सीमा सुरक्षा बलले यस्ता क्रियाकलापलाई निगरानी गरिरहेको भन्दै यस्ता कार्य रोक्न सचेत गराउँछन् अध्यागमन एजेन्ट शम्भु कँडेल।
नेपाली समुदायमा ठगी सम्भावना:
शम्भु कडेलले विशेष गरी शैक्षिक परामर्शदाताहरूले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई अध्यागमन सम्बन्धी परामर्श पनि दिने गरेको पाइने बताएका छन्।
"धेरै अध्यागमन एजेन्ट नभएका साथीहरूले, (नेपाली) समुदायका सदस्यहरूले अध्यागमन सम्बन्धी सरसल्लाह दिने र त्यो दिए बापत पैसा पनि लिने र धेरै विचलित भएका उदाहरण छन्।"
कतिपय शैक्षिक परामर्शदाताहरूले अध्यागमन एजेन्टसँग प्रत्यक्ष अप्रत्यक्ष मिलेर यस्ता सल्लाह दिने गरेको पनि पाइएको उनको भनाइ छ।

तर यसो गर्दा अध्यागमन एजेन्टसँग लिखित सम्झौता गरेर सामान्य सुझावहरू मात्र प्रदान गर्ने र जटिल विषयमा अध्यागमन एजेन्टको मै पठाउँदा भने कानुनी समस्या नरहने शम्भु कडेल बताउँछन्।
कडेलको भनाइमा निरज श्रेष्ठले पनि सहमति जनाउँछन्।
उनी भन्छन् दर्ता नभएका बाट अध्यागमन सुझावहरू दिइने गरेको पाइने र यस्ता क्रियाकलापहरू यो क्षेत्रका लागी निकै ठुलो समस्याका रूपमा देखिएको छ।
"यसमा (एका) हामीले पहिलो दिन देखि नै यदि हाम्रा कोही सदस्य शैक्षिक परामर्शदाता मात्र छन् भने उनीहरूले यस्ता सुझाव दिन पाउँदैनन् भनेर भनी राखेका हुन्छौँ।र जहाँ सम्म लाग्छ यो संस्था अन्तर्गतका सदस्यहरूले नियम पालना गरिराख्नु भएको छ।"

आफू अस्ट्रेलियामा रहेको शैक्षिक परामर्शदाताहरूको सञ्जाल (एका) का अध्यक्ष रहँदा यस बारेमा धेरै छलफल हुने गरेको भए पनि कतिपय शैक्षिक एजेन्टहरू एकामा आबद्ध नभएकोले यसलाई नियन्त्रण गर्न गाह्रो परिरहेको उनको भनाइ रहेको छ।
अध्यागमन एजेन्ट र शैक्षिक परामर्शदाता :
अध्यागमन र शैक्षिक एजेन्टबिचको फरक छुट्ट्याउनु पर्दा निरज श्रेष्ठ सजिलो गरी भन्छन्, "शैक्षिक परामर्शदाता जसलाई एजुकेसन एजेन्ट भन्छ त्यो भनेको ऊ दर्ता भएको अध्यागमन एजेन्ट होइन। त्यसको अर्थ उसले शैक्षिक सल्लाह मात्र दिन पाउँछ।"
अस्ट्रेलियामा अध्यागमन एजेन्ट हुन दर्ता भएको हुनै पर्दछ र शैक्षिक परामर्शदाता हुन दर्ता हुनै पर्ने बाध्यकारी हुँदैन।
अध्यागमन एजेन्ट शम्भु कडेल भन्छन् तर शैक्षिक परामर्शदाताहरू पाठ्यक्रम र शिक्षा सम्बन्धी कुराहरूमा मात्र सीमित हुनु पर्दछ।

र उनले त्यस्ता शैक्षिक परामर्शदाताका रूपमा मात्र सुझाव दिन पाउनेहरूले अध्यागमन सम्बन्धी सरसल्लाह पनि दिने गरेको प्रशस्त पाइने बताएका छन्।
"जो एजुकेसन एजेन्ट हुनुहुन्छ उहाँहरूले एकदम खुलेआम चाहिँ माइग्रेसनका सुझावहरू दिनुहुन्छ। सिड्नी, मेलबर्न, ब्रिसबेन यी ठुलो सहरहरूमा प्रशस्त हुनुहुन्छ। उहाँहरूले चाहिँ कानुन संवत् जे गर्न पाउनु हुन्न त्यो गरिराख्नु भएको छ।"
अध्यागमन एजेन्टका रूपमा दर्ता हुन अध्यागमन कानुनमा ग्राजुएट डिप्लोमा पढ्नु पर्ने हुन्छ।
कडेलले कुनै एक विषयमा ब्याचलर गरिसकेपछि मात्र सो विषय पढ्न सकिने जानकारी दिए।
एक वर्षमा सकिने यो विषय पढे पछि केही समय व्यवहारिक रूपमा तालिम लिनु पर्ने नयाँ नियम ल्याएको छ।
साथै आर्थिक रूपमा टाँट पल्टिएको हुन नहुने र प्रहरीबाट पनि कुनै आपराधिक कार्यमा दोषी नपाइएको प्रमाणित भए पछि अध्यागमन एजेन्ट बन्ने बाटो खुल्छ।
तर त्यस पछि पनि अङ्ग्रेजी भाषा परीक्षा (आइ-इ-एल-टि-एस) मा प्रत्येक विधामा ६.५ र समग्रमा ७ ल्याउनु पर्ने शम्भु कडेल बताउँछन्।

शैक्षिक परामर्शदाता हुनलाई अस्ट्रेलियामा दर्ता हुने पर्ने बाध्यता नभए पनि शैक्षिक एजेन्ट तालिम सम्बन्धी पाठ्यक्रम हुन्छ जसलाई पीआइएआर (पिएर) भनिन्छ त्यो ४० घण्टा जतिको अनलाइन कोर्स हुन्छ।
४०० डलर जति तिरेर त्यो कोर्स पुरा गरे पछि एक परीक्षा हुन्छ र परीक्षा उत्तीर्ण भए पछि शैक्षिक परामर्श दाताका रूपमा दर्ता भइन्छ।
तर दर्ता नै भए पनि शैक्षिक एजेन्टले शिक्षा बाहेक कुनै पनि भिसा सम्बन्धी कुराहरूलाई समेट्न नपाइने भन्दै कडेलले यस्तो गरेमा जेल सजाय पनि हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

ठगबाट सावधान :
अध्यागमन एजेन्ट शम्भु कडेलले सर्वसाधारणहरूमा पनि केही कमजोरीहरू भएका कारण यस्ता ठग एजेन्टहरूको फेला पर्ने गरेको बताउँछन्।
उनी भन्छन् अध्यागमन एजेन्टहरूले पढेका हुन्छन् र उनीहरूले प्राय गरी आफूले दिने सल्लाहका लागी शुल्क लिने हुँदा मानिसहरू निःशुल्क सेवा तर्फ आकर्षित हुन्छन्।
अध्यागमन एजेन्टको उत्पादन भनेको ज्ञान हो र आफ्नो त्यही ज्ञानमा आधारित सुझाव बापत रकम लिन खोज्नु स्वाभाविक हो।
तर धेरै नेपालीहरूले केही रकम जोगाउन खोज्दा ठग अध्यागमन एजेन्टहरूको मा पुग्ने गरेको कडेलको भनाइ छ।
"तर यसमा विद्यार्थीहरू आफैँ पनि सचेत हुनु पर्ने हुन्छ। कुनै पनि एजेन्टकोमा जानु भन्दा पहिला उनीहरूको आधिकारिकता, उनीहरूको कर्मचारीहरूको अध्यागमन एजेन्ट दर्ता भएको वा मारा नम्बर छ कि छैन त्यो संस्थामा भन्ने कुरा जाँच गरेर सुझाव लिनु पर्छ।"

निरज श्रेष्ठ पनि ग्राहक आफैँ पनि आफ्नो भविष्यका बारेमा को सँग कुरा गरी राखेको छु भन्ने बारेमा सचेत हुनु पर्ने बताउँछन्।
"ग्राहकहरूले सर्वप्रथम थाहा पाउनु पर्यो कि मैले के किसिमको सेवा लिन लागेको छु। मैले लिन खोजेको सेवा नितान्त शिक्षा सम्बन्धी मात्र हो कि वा भिसा सम्बन्धी पनि हो।"
यदि अध्यागमन परामर्श लिने हो भने उक्त एजेन्ट दर्ता भएको वा नभएको बारे माराको वेबसाइटमा गएर थाहा पाउन सकिने उनको भनाइ छ।
साथै दर्ता भएका अध्यागमन एजेन्टहरूले सो भूमिकामा रहँदा अपनाउनु पर्ने आचार संहिता देख्ने गरेर राखेको हुनु पर्दछ।
यसरी पनि ठग अध्यागमन एजेन्टबाट जोगिन सक्ने श्रेष्ठको सुझाव छ।
आफूलाई दर्ता नभएको एजेन्टले परामर्श दिइरहेको छ भन्ने लागेमा ग्राहक वा सेवाग्राहीले अध्यागमनको हटलाइनमा फोन गरेर जानकारी दिन सक्छन्।
तर आफू ठगीमा परेको बारे स्वयम् ठगीमा पर्नेहरूले नै आवाज नउठाए यस्ता गैर कानुनी कार्यहरू बन्द नहुने शम्भु कडेल बताउँछन्।
