मुख्य बुँदाहरू:
- अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स सन् १९८५ पछि नेपाल भ्रमण गर्ने पहिलो अस्ट्रेलियाली सङ्घीय मन्त्री हुने छन्।
- करिब ८०० वर्ष पुरानो उक्त टुँडाल हस्तान्तरणको साक्षी बन्न पाउँदा खुसी लागेको मन्त्री वाट्सले व्यक्त गरे।
- सन् २००० देखि अस्ट्रेलियाको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा रहेको टुँडाल फर्काउन लामो समयदेखि अभियान जारी थियो।
आउँदो मे १६ मा अस्ट्रेलियाका विदेश मामिला सहायक मन्त्री टिम वाट्स नेपाल पुग्दैछन्।
सहायक मन्त्री वाट्सले एसबीएस नेपालीसँग कुरा गर्दै बङ्गलादेशको इन्डियन ओसियन कमिसन सम्मेलन पछि आफू नेपाल पुग्ने बताएका हुन्।
र योसँगै सन् १९८५ पछि नेपाल पुग्ने पहिलो अस्ट्रेलियाली सङ्घीय मन्त्रीका रूपमा पनि उनले एक इतिहास रच्ने छन्।
आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले नेपालको ऐतिहासिक सम्पदा फर्काउन गरेको निर्णयको स्वागत गर्दै, भ्रमणका क्रममा पाटन स्थित रत्नेश्वर मन्दिरबाट निकालिएको टुँडाल हस्तान्तरणको साक्षी बन्न पाउँदा खुसी लागेको पनि वाट्सको भनाई छ।

पाटनको सुलिमा टोल स्थित उक्त महादेव मन्दिरको टुँडाल विगत २० वर्षभन्दा लामो समयदेखि अस्ट्रेलियाको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा रहेको बताउँदै उनले भने, “रत्नेश्वर मन्दिरबाट लिइएको टुँडाल फिर्तीको साक्षी बन्नु मेरो लागि सम्मानको कुरा हुनेछ।”।”
उक्त टुँडाललाई नेपाल फर्काउन लामो समयदेखि पहल जारी थियो।

सन् १९७० को दशकमा पाटनको पट्कोबाट चोरी गरिएको लक्ष्मी नारायणको मूर्ति सन् २०२१ को अन्त्यतिर अमेरिकाबाट नेपाल फिर्ता ल्याइ पुनर्स्थापित गरिए पछि, नेपालबाट चोरी भएका अन्य कलाकृतिहरूलाई फिर्ता गरिनु पर्ने माग सहितका अभियान झनै सक्रिय बनेका छन्।

सन् १९८० को दशक तिरका अन्य कलाकृतिहरूसँगै हराएको मानिएको रत्नेश्वर मन्दिरको टुँडाल पनि अन्य पुरातात्विक महत्त्वका वस्तुहरू झैँ नेपालबाट अवैध रूपमा विदेश पुर्याइएको विश्वास छ।
सन् २००० मा उक्त टुँडाललाई न्यु साउथ वेल्सको सङ्ग्रहालयलाई पुरातात्विक महत्त्वका कलाकृतिमा रूचि भएका एक निजी सङ्ग्रहकर्ताको सम्पत्तिबाट दानमा प्राप्त भएको एसबीएस नेपालीको बुझाइ छ।

त्यस काठको टुँडाललाई फिर्ता गर्ने सङ्ग्रहालयको "उत्तम र महत्त्वपूर्ण कदम"को सहयाक मन्त्री टिम वाट्सले प्रशंसा गरेका छन्।
"अस्ट्रेलिया एक आधुनिक र बहुसांस्कृतिक देश हो र विश्वका सबैभन्दा पुराना धर्महरू मध्य एकको घर हो," उनले एसबीएस नेपालीलाई बताए।
यो टुँडाल फिर्ता गर्ने कुराको समर्थन मार्फत, हामी अस्ट्रेलियामा हिन्दु धर्मले ल्याउने सांस्कृतिक र धार्मिक विविधताको प्रशंसा गर्न चाहन्छौँ।अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स
टुँडाल हस्तान्तरणको विषयमा टिप्पणीका लागि एसबीएस नेपालीले आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सलाई सम्पर्क गरेको छ।
