नेपालबाट सन् १९७० र ८० को दशकमा सयौँको सङ्ख्यामा सांस्कृतिक सम्पदा र कलाकृति चोरिएका थिए भने भर्खरै मात्रै त्यस्ता सम्पदा फर्काउन अभियन्ता र सरकार सक्रिय बनेका छन्।
सन् १९८० को दशकमा पाटनको पट्कोबाट चोरी गरिएको लक्ष्मी नारायणको मूर्ति यसै हप्ता फिर्ता ल्याइएर पुनर्स्थापित गरिएसँगै अरू त्यस्ता कलाकृतिका बारेमा पनि चासो बढेको छ।
नेपालबाट सन् १९८० को दशकमा चोरी भएको एउटा मूर्ति यसै हप्ता पाटनमा पुनर्स्थापना गरिएसँगै अस्ट्रेलियामा भएको नेपाली कलाकृतिका बारेमा पनि रुचि बढेको हो।
पाटनको पट्को टोलमा रहेको लक्ष्मी नारायणको मूर्ति अभियन्ताहरू र नेपाल सरकारको प्रयासपछि अमेरिकाबाट गत मार्च महिनामा फिर्ता ल्याइएको थियो।

वासुदेव कमलाजा भनिने त्यो मूर्ति अमेरिकाको ड्यालस सङ्ग्रहालयमा भेटिएको थियो र नेपालले आफ्नो भनेर दाबी गरेपछि सो म्युजियमले मूर्ति फिर्ता दिएको हो।
नेपालका सयौँ कलाकृति सन् १९७० र ८० को दशकमा चोरिएका थिए जसमध्ये एउटा अस्ट्रेलियाको न्यु साउथ वेल्स आर्ट ग्यालरीमा बीस वर्षदेखि रहेको छ।
पाटनको सुलिमा स्थित रत्नेश्वर मन्दिरको एउटा काठको टुँडाल त्यो ग्यालरीमा रहेको छ।
अन्तर्राष्ट्रिय सम्झौताहरू अनुसार यसरी चोरिएका सम्पदा मूल देशले आफ्नो हो भन्ने प्रमाण दिन सकेमा त्यस्ता सामग्री फर्काउनु पर्ने हुन्छ।
नेपाल हेरिटेज रिकभरी क्याम्पेनका रोशन मिश्रसँग यसबारे गरिएको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको न्यु साउथ वेल्स आर्ट ग्यालरीमा रहेको टुँडालका सम्बन्धमा पनि यस्तो प्रयास भएको पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले बताएका छन्।
"हामीले उनीहरूलाई पत्राचार गरेका छौँ, र जवाफ पर्खिरहेका छौँ," गौतमले भने।
उता ग्यालरीले पनि त्यो कलाकृति नेपालको भएको स्वीकार गरेको र फर्काउन राजी भएको एक जना अभियन्ता रोशन मिश्रले बताएका छन्।
मिश्र नेपाल हेरिटेज रिकभरी क्याम्पेन नामक संस्थाका एक सदस्य हुन्।

उक्त संस्थाले नेपालबाट चोरिएका सम्पदा खोज्ने, पत्ता लगाउने, र नेपाल सरकारलाई तिनीहरूका बारेमा खबर गर्दै फर्काउनका लागि कूटनीतिक प्रयास अघि बढाउन सहयोग गरिरहेको छ।
विश्वभर रहेका यस्ता नेपालका चोरिएका सम्पदा फिर्ता ल्याउने क्रममा सुलिमाको टुँडालका बारेमा आफू आशावादी भएको मिश्र बताउँछन्।
"मैले सन् २०१९ मा अस्ट्रेलियाको त्यो ग्यालरीमा त्यो कलाकृति देखेको थिएँ, र त्यसपछि म्युजियमलाई इमेल गरेको थिएँ," मिश्रले एसबीएस नेपालीसँग भने।
"ग्यालरीले पाटनको सुलिमाको मन्दिरको टुँडाल भनेर लेखिदिएकोले त्यसलाई सजिलै चिनियो।ग्यालरीले त्यो कलाकृति नेपालको भएको स्विकार्दै त्यसलाई नेपाल फर्काउने बारेमा सकारात्मक जवाफ पठाएको थियो।"
उक्त ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक आस्थाको वस्तु नेपाल फर्केला त भन्ने बार उनी अगाडी भन्छन्, "नेपाल सरकारले पनि प्रक्रिया अघि बढाएको होला तर यस्ता वस्तु फिर्ता ल्याउने प्रक्रिया निकै लामो हुने हुनाले समय लागेको हुन सक्छ।"

सन् २०२१ को जनवरीमा स्थापना भएको नेपाल हेरिटेज रिकभरी क्याम्पेनले, पट्कोको लक्ष्मी नारायणको मूर्ति फिर्ता ल्याउने प्रयासबाट आफ्नो काम सुरु गरेपछि, अरू करिब १० वटा कलाकृति फिर्ता ल्याउने क्रममा रहेका र अरू ३० वटा त्यस्ता वस्तु पहिचान गरेको पनि उनको भनाई छ।
नेपालका ७० देखि ८० प्रतिशत सम्पदा देशबाहिर रहेको मानिन्छ, र तिनीहरूलाई फिर्ता ल्याउन निकै समय लाग्ने देखिन्छ।
यसै क्रममा, नेपालबाट सम्पदा बाहिरिने क्रम भने अझै रोकिएको छैन।
यसै हप्ता स्वयम्भूको हलचोकबाट एउटा आकाश भैरवको मूर्ति चोरी भएको थियो।
सम्बन्धित सामाग्री:

न्युड आर्टलाई बुझ्ने तरिका गलत छ: क्युरेटर रोशन मिश्र








