अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ६ महिना अघि टिकट काट्न सुझाव

नयाँ विमान सेवाको आगमन र उडान सङ्ख्या बढेको भए तापनि, यात्रुहरूले महामारी अघिको तुलनामा टिकटको चर्को शुल्क र्तिन बाध्य छन्।

Nepal Airlines flight landing at Brisbane airport on April 2,2020 with Australian and New Zealand passengers onboard after being evacuated from Nepal amid coronavirus restrictions.

Source: AAP

सन् २०२२ को डिसेम्बर महिनाको तुलनामा हाल अस्ट्रेलियाको घरेलु विमान सेवाको भाडामा कमी आएको बताइएको छ।

तर उता, पछिल्लो एक रिपोर्टका अनुसार भने यात्रुहरूले अझै पनि उच्च सेवा शुल्क उच्च तिर्नु पर्ने बाध्यता छ।

विमान कम्पनीहरूको प्रतिस्पर्धा रिपोर्ट सार्वजनिक गर्ने एयरलाइन्स कम्पिटिसन् इन अस्ट्रेलियाले सन् २०२२ को डिसेम्बर र सन् २०२३ को ज्यानुअरी बिचमा, भाडा दर १३ प्रतिशतले कम भएको देखाएको हो।

तर यो भाडा दर सन् २०१९ को तुलनामा भने २९% बढी रहेको बताइएको छ।

“सन् २०२२ को अति उच्च रहेको भाडा दरमा कमी आउनु सुखद भए पनि महामारीको अघिको तुलनामा भने मानिसहरूले महँगो शुल्क तिर्नु पर्ने बाध्यता छ,” अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्ज्युमर कमिसन (एसीसीसी) कमिस्नर एना ब्राकीले भनिन्।

उक्त रिपोर्टले सन् २०२२को अन्त्यमा १५ वर्ष यता कै उच्च रहेको भाडा दर सन् २०२३ को पहिलो महिनामा केही कमी आएको देखाएको छ।

“क्रिसमस पछि यात्रुहरूको चाँपमा कमी आउँदा भाडा दरमा कमी आउने भए पनि, विमान कम्पनीहरूले उडान सङ्ख्या थपेका कारण पनि भाडा केही काम भएको छ,” उनले भनिन्।

विमान सेवा कम्पनीहरूले सन् २०२३ को ज्यानुअरीमा घरेलु यात्रुहरूका लागि करिब ५९ लाख सिट सङ्ख्या उपलब्ध गराएका थिए।

यो पछिल्लो ६ महिनाकै सबैभन्दा धेरै उपलब्ध गराइएको सिट सङ्ख्या हो।

उक्त महिनामा अस्ट्रेलियाका विमान कम्पनी मध्ये क्वान्ट्सले महामारी अघिकै अनुपातमा सेवा प्रदान गरेको बताइएको छ।

सस्तो उडान सेवा सञ्चालन गर्ने भर्जिन र जेटस्टारले पनि महामारीको अनुपातमा क्रमशः९६ र ८४% को उडान भर्न सफल भएका छन्।

ज्यानुअरी महिनामा ४४ लाख यात्रुहरूले घरेलु उडान भरेको रिर्पोटले देखाएको छ।

त्यो सङ्ख्या महामारी अघिको तुलनामा ८९% ले बढी हो।

यता यो अवधिमा हवाई इन्धन पनि केही सस्तो बनेको छ।

news
Source: AP

अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ६ महिना अघि टिकट काट्न ट्राभल एजेन्सीको सुझाव

महामारीका बेला बन्द जस्तै रहेको अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु भएता पनि कतिपय विमान कम्पनीहरूले पहिले जस्तो सेवा सुचारु गर्न नसक्दा यात्रुहरू महँगो भाडा तिर्नु पर्ने अवस्थामा रहेको अस्ट्रेलियामा रहेको यति ट्राभलका निर्देशक महेन्द्र कुमार लम्साल बताउँछन्।

इन्धनको मूल्य बढ्दा पनि भाडा दर महँगो पर्न गएको उनको भनाई छ।

विशेष गरी दक्षिण एसियाली मुलुकमा सेवा दिने विमान कम्पनीहरू थोरै भएकाले पनि नेपालका लागि भाडा महँगो पर्न गएको लम्सालले एसबीएस नेपालीलाई बताए।

“थोरै क्यारीअरहरु अपरेट हुँदा, डिमान्ड हाई र सप्लाई लो भएकाले यति बेला ट्राभलका लागि निकै कस्ट्ली छ,” उनले भने।

“हामीले अन्तिम समयमा टिकट काट्ने र फर्कने बेला डेट चेन्ज गर्ने बानिका कारण पनि टिकट पाउन मुस्किल र महँगो परेको छ, चार जना परिवार यात्रा गर्दा अहिले कम्तीमा पनि १० हजार डलर खर्च हुन्छ।”

एजेन्ट लम्साल अति आवश्यकता बाहेकको अवस्थामा, आर्थिक हिसाबले अहिले यात्रा गर्ने सही समय नभएको बताउँछन्।

यात्रा गर्नु ६/७ महिना अघि नै टिकट काट्न पनि उनले सुझाव दिए।

“अलि अलि पैसा बचत गर्ने हो भने, वेल प्लान्ड ट्राभल गर्ने, टिकट चेन्ज नगर्ने र एडभान्स टिकट काट्ने मेरो सुझाव हो।”

यो वर्षको अन्त्यसम्म टिकट दर सस्तो हुने सङ्केत नदेखिएको भन्दै, अर्को वर्षको सुरुवातबाट भने केही सहज हुन सक्ने सम्भावना रहेको उनले बताए।

Plane
Source: Pixabay

नयाँ विमान सेवा

यता ज्यानुअरीको अन्त्यमा बोन्जा नामक नयाँ सस्तो उडान भर्ने विमान कम्पनीले पनि सेवा सुचारु गरेको छ।

न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड र भिक्टोरियाका २७ स्थानमा उडान भर्ने कम्पनीले रिजनल क्षेत्रहरूलाई आफ्नो प्राथमिकतामा राखेको छ।

“बोन्जाको आगमनले घरेलु बजारमा नयाँ रुटको विकल्पहरू दिएको छ, जुन आम अस्ट्रेलियालीहरूका लागि खुसीको कुरा हो,” एसीसीसीकी ब्राकीले भनिन्।

सन् २०२३ को ज्यानुअरी महिनामा बजेट एयरलाइन्स जेट स्टारले कुल घरेलु यात्रुको २६.९ % लाई सेवा दिएको छ भने क्वान्टासले ३४.८ %, भिर्जीनले ३३.४ % र रेक्सले ४.९ % यात्रुलाई सेवा दिएको थियो।


4 min read

Published

Updated

By Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now