आगामी नोभेम्बर पाँचदेखि पासपोर्ट बनाउनका लागि घुम्ती सेवा सञ्चालन गर्न लागेको राजदूत कैलाशराज पोखरेलले एसबिएस नेपालीसँग बताएका छन्।
केही महिना अघि मोबाइल मेसिनबाट पासपोर्टका लागि घुम्ती सेवा दिने घोषणा गरेको क्यानबेरा स्थित नेपाली राजदूतावासले यही नोभेम्बर पाँच देखि टास्मेनियाबाट सेवाको सुरुवात गरिने बताएको छ।
एसबिएस नेपालीसँगको कुराकानीका क्रममा राजदूत कैलाशराज पोखरेलले टास्मेनियाबाट सेवाको सुरुवात गर्न कर्मचारीहरू त्यहाँ पुग्न लागेको बताए।
“नोभेम्बर पाँचमा टास्मेनिया जाँदै छौ, त्यहाँबाट घुम्ती सेवा दिइनेछ, हाम्रा कर्मचारी त्यहाँ पुग्दै छन्,”
“सबैलाई त सम्भव नहोला, तर यात्रा गर्न अप्ठेरो परेका वा आवश्यकता परेकाहरूलाई सेवा दिने कोसिस गर्दैछौ,” उनले भने।
टास्मेनीया पछि नोभेम्बरमा १३ मा ब्रिसबेन पुग्ने टोली, त्यसपछि पर्थ हुँदै अन्य राज्यमा पुग्ने राजदूत पोखरेलले बताए।
“यसले क्यानबेरामा आईरहनु पर्ने बाध्यतालाई केही सहज बनाउनेछ,” उनले भने।
करिब चार महिना पहिले राजदूतको कार्यभार सम्हालेका पोखरेलले त्यति बेलै घुम्ती सेवा दिने बताएका थिए।

अस्ट्रेलिया-नेपाल सिधा उडान कहाँ पुग्यो?
अस्ट्रेलिया नेपालबिचको सिधा उडानका लागि दुई सरकारबिच सम्झौता भइसकेको राजदूतले बताएका छन्।
कोभिड-१९ पछि बल्ल चहल पहल सुरु भएको र आफूले पनि निजी एवम् सरकारी विमान कम्पनीहरूसँग पहल गरिरहेको पनि उनले जानकारी दिए।
“यताको क्वान्टसहरु भए, नेपालको हिमालयन एयरलाईन्ससँग पनि मैले कुरा गरेको छु, नेपाल एयरलाइन्ससँग त कुरा भ' कै छ,” उनले भने।
“इन्डोनेसियाको रुटबाट सम्भव हुन्छ कि भनेर पर्यटन मन्त्रालयले हवाई सम्झौता गर्दैछ, केही समय पर्खनै पर्ने हुन्छ।”
अस्ट्रेलियासँगको सम्बन्ध
राजदूत पोखरेलले अस्ट्रेलियासँगको सम्बन्ध सधैँ प्रगाढ रहेको र पर्यटन, कृषि, आइटी लगायतका क्षेत्रमा सहकार्य गर्ने लगायतका प्रयास भइरहेको पनि बताएका छन्।
भर्खरै जलस्रोत सम्बन्धी सम्झौता भएको भन्दै, अस्ट्रेलियाले वैदेशिक सहायता र छात्रवृत्ति लगायतमा सहयोग पुर्याइरहेको उनले बताए।
“यो दुइपक्षिय सम्बन्ध निरन्तर चलिरहन्छ, भ्रमणको आदान प्रदानको प्रयास भइरहन्छ,” उनले भने।
“यहाँका नेपालीहरूले सिकेको सिप र ज्ञानलाई कसरी नेपालसँग, नेपालको विकाससँग जोड्ने भन्ने कुरामा सबै किसिमले हामी ओपन छौ,” राजदूत पोखररेले एसबिएस नेपालीलाई भने।
नेपालीहरूले अस्ट्रेलियामा निकै राम्रो गरिरहेको भन्दै राजदूत पोखरेलले सम्भव भएसम्म यहाँको सिपलाई नेपालमा लान अनुरोध पनि गरेका छन्।





![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)